पत्रे खोलालाई पत्र : काल होइन, शरीर बनेर आऊ

पत्रे, तिमीले अझै पक्की पुल पाएनौं । पिल्लर ठड्याएर ४ बर्ष अलपत्र परिरहँदा तिम्रा पिल्लरलाई हजारौं नागरिकहरुले नियालिरहेथे । बेवारिसे बनेका पिल्लरलाई पूर्णता दिन प्रयास गर्न कम्तीमा ४ बर्ष पर्खनुपर्यो । कसको ढिलासुस्तीको शिकार बन्यौ ? स्पष्ट छैन । सरकारले ठेकेदारको त ठेकेदारले सरकारको भन्दै तिमीलाई बेवास्ता गरिरहे ।

पत्रे, गएको बर्षात तिमी गतिलरी बग्न समेत पाएनौ । घरी यता, घरी उता पारिरहँदा तिमीमाथि ठड्याइएका पिल्लरमाथिको ढलान झण्डै तिमीमाथि खसेको थियो । सिडिओको निगरानी, एसपीको निगरानी र डिभिजन सडकको निगरानीमा तिमी बर्षाभरी निदाउन पाएनौ । चार बर्ष पिल्लर ठडाएर निदाएका ठेकेदार र काम लगाउने सडक कार्यालयलाई प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले ब्यूझाएका थिए ।

अर्थात पत्रे पुल निर्माण कम्पनीका स्थानीय प्रतिनिधि पदमप्रसाद शर्मालाई बर्षातभरी खोलामै ड्युटी गर्न बाध्य बनाए । जसोतसो ढलान भएर तार तान्ने काम त भयो, तर सिडिओ सरुवा भएसँगै निर्माण कम्पनीका स्थानीय प्रतिनिधि पनि सायद कतै सरुवा भएका छन्, अचेल पत्रेखोलामा देखिँदैनन्, अर्थात ढलान भएको पत्रेको पुल अझै अलपत्र छ ।

चैत महिनामा निर्माण सम्पन्न गर्ने भनी सम्झौता भएको हो रे । तर अचेलको तीन महिनामा पत्रेमा कुनै पनि यात्रुले एक दिन पनि लेवरले काम गरेको देखेका छैनन् । फेरि आउँदो बर्षातमा पनि तिमी भ्वाङ प¥यौ भने सयौं टिकटक बन्ने छन्, तिमीमाथि बसेर…। काम गर्न अहिले कोरोनाले रोकेको छैन । कुनै बन्द हड्तालले रोकेको छैन । तर खोई किन हो किन तिमीमाथि पुल निर्माणको काम फेरि रोकियो । सायद अर्का कुरुम्बाङको प्रतिक्षामा छौ कि ? बर्षातको कुनै समस्या छैन, ढुंगा–बालुवाको कुनै समस्या छैन ।

मौसम क्लियर भइरहँदा पनि काम बन्द भइरहँदा बर्षात लाग्न धेरै कुर्नुपर्ने छैन । चार महिना काम नभएरै बित्यो भने बाँकी चार महिना यसैगरी बितेमा फेरि आउने बर्षातमा पनि पत्रे तिमीले पुल पाउने छैनौं । तिमीलाई पूरा गर्ने पैसा सरकारसँग नभएको हो वा निर्माण कम्पनीले नपाएको हो, त्यो हामीलाई जानकारी छैन । हामीलाई खालि यति मात्रै जानकारी छ, तिमी फेरि किन चार महिनासम्म यसरी रोकियौं ? जिंग्रिएका दुई पिल्लर, त्यसमाथि ढलान मात्रैले तिमी मांशपेसी विनाको कंकालजस्तै भएकोमा हामीलाई पनि त्यत्तिकै चिन्ता छ । कंकाल होइन, शरीर बनेर आऊ ।

ढलाइ भइसकेको पुलको वल्लो–पल्लो पट्टि पर्खाल लगाउने र माटो भर्ने काम भर्खरै सुरु भएको थियो, तर फेरि किन काम रोकियो ? यो सडकमा हिँड्ने सबैले तिमीलाइ सोधिरहेका छन् । तिम्रा तस्विरहरु फेरि क्यामेरामा कैद हुन थालेका छन् । सायद फेरि भाइरल बन्ने छौ पत्रे तिमी…। धिक्कार छ, तीनै तहका सरकारलाई, पुल नबन्दा कुनै खबरदारी छैन । तीन करोडको पुल बन्न ९ बर्ष लाग्न थाल्दासमेत मौन छ, डिभिजन सडक कार्यालय । डिभिजन सडक कार्यालयका प्रमुख इन्जिनियर रितेन्द्र शाक्य काठमाडौँमा रहेछन् । उनले पत्रकारलाई भनेका छन्, अहिले कटुवामा छ, निर्माण व्यवसायी, त्यहाँको काम सकेपछि पत्रे आउँछ रे ।

ए ! कटुवा पुल पनि अझै पूरा भएको छैन ? म झसंग भएँ । सायद पुलको डिजाइन निर्माण सम्पन्न भैसकेपछि पनि फेरिइरहन्छ । त्यसैले निर्माण व्यवसायी फेरि कटुवामा । यी दुई पुलले निर्माण व्यवसायी पदम शर्मालाई पनि निकै तनाव अवश्य बनाएको छ । किनकि निर्माण व्यवसायीको बास विगत ६ बर्षदेखि कहिले कटुवा त कहिले पत्रेमा छ । सायद कामको चाँजोपाँजो नमिलेपछि यस्तै हुन्छ । कहाँबाट बिग्रियो, त्यहाँ टाल्नुपर्ने हो तर बिग्रिएको स्थान नै भेटिएन भने…!

हामी फेरि पनि तिमी बन्ने छौ भन्ने व्यग्र प्रतीक्षामा छौं । बेलैमा सम्झाएका पनि छौं, पत्रे तिमी ननिदाऊ । बर्षात आउनुअघि तिमी बन्नुपर्ने छ । यो बर्षातमा पनि बनेनौ भने तिमीलाई करोडले धिक्कार्ने छन् । किनकि तिमी नबन्दा हजारौं मोटरसाइकलका इन्जिन बिग्रिएका छन्, सयौं कारहरु ठोक्किएर कुच्चिएका छन् । यात्रुवाहक बसहरु सयौंपटक तिम्रो भेलमा रोकिएका छन् । बिरामी बोकेका एम्बुलेन्सहरु अस्पताल पुग्न पाएका थिएनन् ।

गर्भवतीले पत्रेमै बच्चा जन्माउने व्यथा व्यहोर्नुपरेको थियो । तर यी सबै पुल निर्माणमा ढिलासुस्तीकै कारण हो । पत्रे तिमी फेरि आऊ पुल बनेर, भुल बनेर होइन, हामी तिम्रो व्यग्र प्रतीक्षामा छौं । अन्यथा फेरि कुरुम्बाङहरु आएर तिमीलाई मध्यरातमा ब्यूझाउने छन् । ठिंग उभिएको कंकाल होइन, शरीर बनेर आऊ ।
तिम्रो उपभोक्ता खेमराज रिजाल