बालक आज बनेन भने भोलि बन्दैन

युवराज शर्मा
बालक काँचो माटोको बस्तुजस्तो हो । उसलाई आमाले हुर्काउँछिन् । आमा नै बालकको पथप्रदर्शक पनि हुन् । भनिन्छ, आमाको माया र बाबुको हेरविचार नभएको बालकमा उच्छृंखलता बढ्छ । बोलीमा सरलता हुन्न । दिदीहरुसँग झगडा गर्छन् । भाइबहिनीहरु बीचमा ममताको भावना हुँदैन । आमाले जसरी बाल्यकाल बिताएकी थिइन्, त्यही स्वभाव आफ्ना छोराछोरीलाई देखाउँछिन् ।

छोरीका लागि जन्मघर व्यावहारिक ज्ञानको आधार हो भने कर्मघर, जसलाई लोग्नेको घर भन्छन्, त्यहाँ व्यावहारिक ज्ञानको प्रयोग गर्ने थलो हो । जसमा आदर्शता, नम्रता, धैर्यता र सहनशीलताजस्ता गुणहरु देखाउनुपर्छ र व्यवहारमा प्रयोग गर्नु पर्छ । अझ ममता, धैर्यता, सहनशीलताले आदर्श नारीको ज्ञान गराउँछ भने असल स्वभावको परिचय पनि हो । छोरीलाई घरेलु ज्ञान र छोरालाई व्यावहारिक ज्ञान गराउन नसक्ने आमाहरुमा कर्कशा स्वभाव देखिन्छ ।

सानो विषयका घरेलु प्रसंग उठाइयो भने आडम्बरी स्वभाव र अहंकारी प्रवृत्ति देखाउँछन् । माइतीको प्रवृत्ति र प्रकृतिलाई उजागर गर्छन् । जसको प्रभाव बालबालिकामा पर्छ । त्यस्ता महिलाहरुका छोराछोरी उग्रस्वभावका हुन्छन् । ब।ाबुका साथमा भन्दा आमाको साथमा धेरै समय बालबालिकाहरुले बिताउने हुँदा आमाको स्वभावलाई अनुकरण गर्छन् । तर आमाले आफूलाई सुधार गर्नुभन्दा माइतीको फुई देखाउँछन् । यस्तो वातावरणले बालक शिष्ट र लगनशील हुँदैन । यो समस्याबाट बाबु पीडित बन्छन् ।

उनमा ईष्र्या बढ्छ । आवेशमा हुन्छन् । त्यस समयमा बाबुले संयमता, धैर्यता र ममताको भावना जगाउनुपर्छ । बालक आज बनेन भने भोलि बन्दैन । बालकलाई असल चरित्रवान् बनाउनका लागि बाबुको भन्दा आमाको भूमिका महत्वपूर्ण हुन्छ तर आमाले आफ्नो कर्तव्य र दायित्व निभाउन नसकेको समय आएको छ । यसमा पढे–लेखेका आमाहरुभन्दा निरक्षर महिलाहरु आमा छन् भने उनीहरुमा ममता, धैर्यता र सहनशीलताका गुणहरु धेरै पाइन्छ । राम्रो व्यावहारिक ज्ञान देखाउँछन् ।

बालकलाई काँचो माटोको रुपमा हेरिन्छ । उसमा लुकेको प्रतिभालाई उजागर गर्ने वातावरण बनाइदिनुपर्छ । हरेक बालकमा ज्ञानको भण्डार हुन्छ । उसले आफ्नो ज्ञान देखाउने माध्यम स्कुल र आमाबाबु नै हुन् । स्कुलबाट आत्म अनुशासन, विषयगत ज्ञान र सीपको विकास गर्छन् । जसमा भाषागत सीपहरु सुनाई–बोलाई, पढाइ र लेखाई सिक्छन् । त्यसको सीपको प्रयोग गर्न सक्ने बन्छन् । गणितका शुत्रहरुको ज्ञान गरेर गणितीय ज्ञान र सीपको विकास गर्छन् ।

सामाजिक शिक्षाबाट सामाजिक व्यवहार, भौगोलिक अवस्था र प्राकृतिक स्रोतहरुको ज्ञान गर्छन् । विज्ञान र स्वास्थ्य शिक्षाबाट वैज्ञानिक ज्ञान र मानवीय स्वास्थ्योपचारका विषयमा ज्ञान गर्छन् । यसबाट स्पष्ट हुन्छ कि बालकले ज्ञान प्राप्त गर्ने स्थल नै स्कुल हो, जसलाई ज्ञानको पाठशाला पनि भन्छन् । वास्तवमा ज्ञान भनेको नै शिक्षा हो । यो अनुभवीय ज्ञानबाट पाइन्छ भने बालकले स्कुलबाट किताबी ज्ञान पाउँछन् । तर अनुभवीय ज्ञान घरमा आमाबाट मात्र पाउँछन् । बालकले आमाको गर्भबाट ज्ञान पाएको हुन्छ । त्यस्ता ज्ञानलाई जन्मसिद्ध ज्ञान भन्छन् ।

साथीसंगिनीहरुबाट पाइने ज्ञान अनुकरणीय ज्ञान हो । अनुभवी व्यक्तिका कुरा सुनेर पाइने ज्ञानलाई व्यावहारिक ज्ञान भन्छन् । निसहाय, टुहुरा बालबालिकामा सहनशील स्वभाव हुन्छ । उनीहरुमा सिक्ने प्रवृत्ति धेरै मात्रामा देखिएको पाइन्छ । उनीहरु अवसरको खोजीमा हुन्छन् । भड्किँदै, भड्किँदै अवसर खोज्दै हिँडेका हुन्छन् । जीवनमा सफलता पनि पाउँछन् । जस्तै, रामकृष्ण ढकाल एउटा खाते बालक हो । उसले अवसर पायो र गायककार बन्यो । त्यो फोहरको डुंगुरमा काठमाडौंको जाडोमा समय बिताएको थियो ।

उसको स्वर र व्यवहारले गर्दा गायक रामकृष्ण ढकाल बने । टुहुरोबालकले बाबुआमा गुमिसकेपछि अब मैले जीवन बनाउन सक्दैन भनी निराश बन्नु हुन्न । पढाइलाई सर्वोपरि ठान्नुपर्छ । पढाइले मानिसलाई मानिस बनाउन सक्छ । अमेरिकाका बुकरटी वासिङ्टन एउटा टुहुरा बालक थिए । उनी सडक बत्तीमा बसेर पढ्थे । उनलाई पढाइले अमेरिकाको राष्ट्रपति बन्न सफल भएका थिए ।

सडकमा जाडो हुँदा पहाडको उकालो–ओरालो हिँडेर आफ्नो जीउ तताउँथे । जाडो मौसक बिताउँथे । यस्ता कैयौँ टुहुरा बालकहरु छन्, जसले पढाइबाट आफ्नो भविष्य अगाडि बढाएका छन् । कतिपय सम्पन्न धनाढ्य बावुआमाका छोराछारीहरुले पढ्न सकेका पनि छैनन् र छोराछोरीप्रति माया दर्साएर पढाउन पनि सकेका छैनन् ।

अहिले नेपालमा दुईथरिको शिक्षा शिक्षण हुन्छ । पहिलो सामुदायिक शिक्षण संस्थाहरु छन् भने दोस्रो संस्थागत बोर्डिङ स्कुलहरु छन् । यिनी स्कुलहरुमा पढ्ने विद्यार्थीहरु गरिब परिवार र धनी परिवारका छन् । सामुदायिक शिक्षण संस्थाहरुलाई सरकारी स्कुल भन्छन् । जहाँ गरिब र विपन्न परिवारका छोराछोरीहरुले पढ्छन् । पढाउने शिक्षकहरु धनी परिवारका छोराबुहारी, काकाकाकी, सालासाली, जेठान–जेठानी, नातागोताका हुन्छन् ।

उनीहरुको पहुँच राज्यसञ्चालक नेतृत्व वर्गसँग हुन्छ । यस्ता संस्थाहरुका शिक्षकहरु राजनीतिक दलका अनुयायी हुन्छन् ।पढाए पनि नपढाए पनि तलब रुक्दैन । संस्थागत स्कुलहरुलाई बोर्डिङ स्कुल भन्छन् । यस्ता संस्थाहरुमा पढाउने शिक्षकहरु निसहाय हुन्छन् । जति तलब दिए पनि बोल्न सक्दैनन् । योग्य, दक्ष र चरित्रवान् भए पनि संस्थापकहरुसँग झुक्नुपर्छ । बेरोजगार अवस्थामा बस्नुभन्दा रोजगारी गर्नु राम्रो ठान्छन् ।

संस्थापकहरुले यस्ता संस्थाहरुलाई अर्थोपार्जनका रुपमा हेर्छन् । स्तरीय पठन–पाठन गराउने ठूला–ठूला नारा दिएर महंगो शुल्क उठाएर शेयर बाँड्ने प्रथा छ । भौतिक झलकहरु देखाएर चर्को विज्ञापन गर्छन् । आजका बालक भोलिका कर्णधार नभएर उनीहरुमा अल्लारेपन छ । आत्मअनुशासन र सामाजिक व्यवहार प्रायः पाइँदैन । संरक्षकहरु अधिकांशले अहंकारी स्वभाव देखाउँछन् ।

यसबाट के देखिन्छ भने शिक्षण संस्थाहरुले असल चरित्रका नागरिकहरु तयार गर्ने कार्यशैली भएन । बाबुआमा भएका बालकलाई बाबुको राम्रो हेरविचार हुन सकेको छैन र आमाले पनि आफ्ना छोराछोरीलाई माया–ममताको वातावरण बनाएर पठन–पाठनमा प्रेरित गर्न नसक्ने भएपछि बालबालिकाको चरित्र बिग्रन्छ । बालक आज बनेन भने भोलि बन्दैन भन्ने ज्ञान आमाले गर्नुपर्छ । समयमा सचेत बन्नुपर्छ ।

बालक आमाका लागि विरुवा समान हो । जब विरुवालाई सानो उमेरमा मलजल, स्याहार–सुसार गरिँदैन भने त्यस्तो विरुवा हुर्कन सक्दैन । त्यस्तै प्रकारले मानव जातिका बालकका लागि स्याहार–सुसार, खानपिन, रहनसहन, पढाइ–लेखाईमा आमाको ध्यान गएन भने उनीहरुमा धैर्यता हुन्न । पठन–पाठनमा लगनशील बन्दैनन् ।

झगडालु स्वभावका हुन्छन् । पैसा माग्ने र नपाएमा खाना नखाने, स्कुल पढ्न जान मन नगर्ने, मोबाइलमा समय बिताउने, एकोहोरो प्रवृत्ति देखाउने, निदाउने, झस्कने, खराब केटाहरुको संगतले चरित्रमा असर पर्ने काम गर्ने जस्ता प्रवृत्ति बढ्छ । पढाइ–लेखाई पनि छोड्छन् । घुमफिर गर्ने र खेलकुदमा रुचि गर्छन् । घरमा खाना खान रुचाउँदैनन् । कतिपय बालकहरु आमाले गाली गर्दा रुन्छन् । आफूलाई आत्मग्लानि गर्छन् र घर छोडेर हिँड्छन् । खाते बालक बन्छन् ।

कतिपय गाडीका पछि लाग्छन् र चालकका सहयोगी बन्छन् । अधिकांश बालकहरु विदेशिन्छन् । कतिपय बालकहरु बिक्री हुन्छन् । उनीहरु दासत्वमा बाँधिन्छन् । धेरै बालकले आफ्नो जीवन खेर फाल्छन् । यस्ता बालकहरुको प्रतिभा दबेर जान्छ । उनीहरुको जीवन खेर जान्छ । बालकहरुलाई राज्यले हेर्नुपर्छ । उनीहरुको जीवनरक्षा गर्नुपर्छ । आजका बालक भोलिका सफल नागरिकहरु हुन् भन्ने सोचाई सरकारले गर्नुपर्छ । बालक आज बनेन भने भोलि बन्न सक्दैन ।

बालकहरु तीन थरिका छन् । बाबुआमा भएका बालकहरु छन् । जहाँ छोराको अपेक्षामा छोरीलाई थोरै समय दिन्छन् । पढाइमा पनि छोरालाई बोर्डिङ स्कुल र छोरीलाई सार्वजनिक स्कुल पठाउँछन् । घरको काममा छोरीलाई धेरै समय काममा लगाउँछन् । बाबु वा आमामध्ये एकजना गुमाएका टुहुरा बालक, त्यसमा पनि आमा गुमाएका बालबालिका धेरै पीडित हुन्छन् । बाबुले अर्को विहे गरेमा कान्छीआमाबाट प्रताडित धेरै निराश हुन्छन् ।

त्यसमा पनि बाबुआमा दुबै गुमाएका बालकहरु पितृमातृविहीन बनेर निसहाय भएको पाइन्छ । राम्रो सहारा पाएपछि त्यस्ता बालबालिकाले आफ्नो भविष्य आफै उज्यालो बनाउँछन् । त्यसैले भन्छन् कि एउटा घर आज बनेन भने भोलि बन्न सक्छ तर एउटा बालक आज बनेन भने भोलि बन्न सक्दैन । तयसकारण बालबालिकाको क्षेत्रमा काम गर्नेहरुले र बाबुआमाले बालबालिकाको भविष्य सपार्नुपर्छ । बालबालिकाको भविष्य बनाउनु बाबुआमा र अभिभावकको कर्तव्य हो ।