कांग्रेस अधिवेशन र जनपेक्षाको सम्बोधन

केपी सुवेदी
नेपाली कांग्रेसको १४औँ महाधिवेशनले नेपाली राजनीति तरङ्गित बनिरहेको छ । भदौ तेस्रोसातादेखि वडा तह हुँदै सुरु भएको अधिवेशनको विभिन्न चरणमा विभिन्न तह सम्पन्न गर्दै यतिखेर प्रदेश अधिवेशनको अन्तिम चरणमा पुगेको छ । प्रदेशमा पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा विभिन्न नेताहरुको आफ्नो दाबी हुनु स्वाभाविक हो ।

लामो समयदेखि पार्टी निर्माणमा लागेर आफूलाई त्यसैमा विवेक र वर्कत बलिदान दिने नेताहरु त्यहाँ छन् । त्यस्तै आधुनिक युग चेतनालेयुक्त समयानुकूल प्रविधि प्रणालीबाट पार्टी र मुलुकलाई हाँक्ने नेतृत्व दिन तम्सिने युवा नेतृत्व पनि पार्टीमा जमजमाएर अगाडि सर्दै गरेको झल्को अधिवेशनको सिलसिलामा देखिएको छ ।

युवाहरुमा नेतृत्वको अभिलाषा उजागर भइरहेको बेला पार्टी नयाँ नीति बनाउने र आगामी निर्वाचनमा जनतामुखी कार्यक्रम लिएर जान महाधिवेशनले दिशानिर्देश गर्न खोजिरहेको छ कि नेतृत्वमा मात्र हानथाप भएको छ ? यो प्रश्न उठाउन थालिएको छ । सन् १९४७ मा पहिलो अधिवेशन गर्दा नै जनताको अधिकार शासन प्रणालीमा सुनिश्चित गरेर शासकहरुलाई जनउत्तरदायी बनाउने नीति कार्यान्वयन गर्न जनक्रान्तिको उद्घोषण गरेको कांग्रेसले हरेक महाधिवेशन नयाँ–नयाँ नीति र कार्यक्रम पारित गरेर जनमतमा अनुमोदनका लागि लैजाने अभिप्रायले गरिन्छ, भन्ने हामीले बुझ्ने गर्छौँ ।

पार्टीहरुको संविधान र विधानको प्रावधानअनुसार पुराना नीति, सिद्धान्त र मूल मान्यताहरुलाई समयानुकूल अद्यावधिक गर्दै समयको मागअनुसार जनआकांक्षाको सम्बोधन हुने गरी खास उद्देश्य परिपूर्तिका लागि कार्ययोजना पस्किने हो । अहिले कांग्रेस महाधिवेशनलाई लिएर एउटा बहस आरम्भ भएको छ, त्यो के भने कांग्रेसको अधिवेशन अरु पार्टीहरुको भन्दा फरक हुनुपर्छ । फरक यस मानेमा कि जुन नीति, सिद्धान्त र विचारले कांग्रेसको जन्म भएको त्यो कहिल्यै पुरानो र असान्दर्भिक हुँदैन ।

यो मानव जीवनचर्या र जीवन पद्धतिसँगै विकसित एवं परिस्कृत हुँदै जानेखालको हो । जब कि अरु पार्टीहरुको विचार असान्दर्भिक र असफल भइसकेको छ । उदाहरणको लागि नेपालका कम्युनिस्ट पार्टीहरुको सिद्धान्तलाई लिन सकिन्छ । उनीहरु जसलाई मोडलका रुपमा लिएका थिए । तिनीहरु सबै असफल मात्र होइन बहिस्कृत भइसकेको प्रणालीमा गणना गरिएको छ ।

अधिवेशन त तिनीहरुको पनि हुन्छ, भइरहेको छ तर त्यहाँ जनवादी केन्द्रीयताको नीतिअनुसार सर्वोच्च नेताको खटनपटनमा बाँकी नेतृत्व चयनको प्रक्रिया अपनाइन्छ । भर्खरै चितवनमा सम्पन्न भएको भनिएको नेकपा एमाले अधिवेशनमा जे देखियो त्यही हो कम्युनिस्ट पार्टीभित्रको आन्तरिक लोकतान्त्रको अभ्यास ।

कांग्रेस महाधिवेशनको केन्द्रीय तह मात्र बाँकी रहेको बेला यसलाई हरेक तरहले नवीनतम सन्देश दिनसक्ने बनाउनु कांग्रेसको हितमा हुन जान्छ । कांग्रेस बाहेकबाट यो मुलुकको विकास र समृद्धि असम्भव रहेको अब कसैबाट लुकेको छैन । विगतका गल्ती कमजोरीलाई सच्याएर मुलुकको नेतृत्व हाँक्ने हो भने यो महाधिवेशनबाट नयाँ सोचका साथ विशिष्ट कार्यक्रम कार्ययोजना सहित आशालाग्दा चेहराहरु अगाडि सारेर आउनुपर्छ ।

असफल नेतृत्वले पार्टीलाई अनिर्णयको बन्दी बनाएर सीमित स्वार्थीहरुको भीडमा रमाउने पुरानै व्यवहारलाई जनताले खोजेका छैनन् । त्यसकारण जनताले यतिखेर बडो उत्सुकताका साथ हेरिरहेको कुरा के छ भने कांग्रेस महाधिवेशन केन्द्रमा नीति प्रधान बहसमा जान्छ कि जाँदैन ? प्रतीक्षा गरिरहेका छन् । यदि नीतिका बारेमा बहस नगरी नेताको बहसमा सीमित भयो भने नयाँ चेहराले पनि केही अपेक्षा पूरा गर्न असम्भव हुन्छ ।

सकेसम्म त तल्लो तहबाटै पार्टीको आगामी कार्यक्रम मुलुकका विद्यमान समस्या र त्यसको समाधानको बाटो सुस्पष्ट नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सक्षम नेतृत्व चयनमा बहस चलाउनुपथ्र्यो । नेतृत्व लिन चाहने जुनसुकै तहले एउटा प्रतिबद्धता कबुल गर्नु पथ्र्यो । कुरा केवल गुट र लविका भए । नेतृत्व क्षमतमा कार्यकर्ताले कसी लगाउने ठाउँ उपलब्ध हुन सकेन ।

१४औँ अधिवेशनको अर्को सुधार नगरी नहुने पाटो पनि रहेको छ, अधिवेशन समावेशी, समानुपातिक गराउन खोजिएको राम्रो पक्ष हुँदाहुँदै पनि प्रचार शैली जुन प्रकारले अगाडि आयो यसले निम्नवर्गीय प्रतिनिधित्व संकोचमा परेको छ । गरिब, किसान र साँझबिहान मजदुरी गरेर जीविका गर्नेले त्यहाँ उसको पनि प्रतिनिधित्व हुन्छ भनेर कांग्रेसको भीडमा आफ्नो अनुहार भेटाउन मुस्किल हुनसक्छ ।

यसलाई सुधार गर्नेतर्फ ध्यान दिइएन भने कम्युनिस्ट पार्टीहरुले कांग्रेसमाथि लगाउने अभियोग धनीको पार्टी चिरेर झुप्रोदेखि महलसम्मको साझा पार्टी बनाउन सम्भव छैन । हुन त गरिबहरुलाई दयाको पात्र बनाएर त्यही छोडी सधैँ तिनकै आडमा राजनीतिक गर्ने कम्युनिस्टहरुको शासन भोगिसके । उनीहरुसँग जनतालाई ढाँट्ने बहाना पनि सिद्धिसकेको छ ।

तैपनि अभावमा छटपटिएका, रोजगारी नपाएका, विदेशी भूमिमा प्रताडना सहेर बसेका, कोरोना महामारीजस्ता असाध्यै स्वास्थ्य समस्यामा उपचार नपाएर आफन्त गुमाएकालगायत सबैको आशा र भरोसाको केन्द्र कांग्रेस बन्नुपर्छ, नत्र जनताले कांग्रेस किन रोज्ने ।