छोरीलाई शिक्षा र सीप

युवराज शर्मा

नेपाल गाउँ–गाउँले भरिएको देश हो । यहाँ गाउँमा बस्नेहरु गरिब मात्र छन् भन्नेहरु धेरै व्यक्तिहरु भए पनि सामाजिक चेतना र जागरणलाई हेर्ने हो भने अशिक्षित, गवाँर र बुद्धिहीनहरु पाइन्छन् भन्नेहरु पनि छन् तर त्यस्तो गाउँ अब छैन । उनीहरु समाचार, मोबाइल प्रयोग जस्ता उपकरणहरु प्रयोग गर्छन् ।

डिजिटल सुविधाका लागि नेपाल टेलिकम र एनसेलले दिने डाटाको प्रयोग गर्न सिपालु छन् । हात–हातमा स्क्रिन–टच मोबाइलहरु प्रयोग हुन्छन् । तर माइलो सार्कीको महिली छोरी पार्वतीलाई शिक्षा पनि भएन, सीप आर्जन गर्ने वातावरण पनि पाइनन् । उनलाई जीवन कष्टकर भएको ठान्छिन् । एकदिन उनी पहाडबाट बेसी आइन् र आफू ग्वाल्नी बसेको बाल्यकाल समय सम्झँदै पण्डितवज्यैलाई भेट्न उनका घरमा पुगिन ।

पण्डित बज्यैले एकाबिहानै मूलढोका खोलिन् । उनको घरको मूलढोका अगाडि उभिएकी अधवैँसे महिलालाई देखिन् र सोधिन– तिमी को हौ ? मैले चिन्न सकेन तर बज्यैलाई पुराना कुराहरु स्मरण गराउँदै सम्झाइन् । उनले भनिन्– पण्डि बज्यै ! म ठाँटीकोटको माहिलो सार्कीको माहिली छोरी हुँ । बाल्यकालदेखि किरशोरावस्थासम्म हजुरका घरमा गोठाल्नी थिएँ । बज्यैको मनमा पार्वतीलाई राम्ररी सम्झिन् । उनले गम्भीर भएर पार्वतीलाई सोधिन– कहाँ बसेकी छौ ? तिम्रा लोग्नेले के काम गर्छन् ? छोराछोरी कति छन् ? तिम्रो समस्या के हो ? बज्यैका प्रश्नलाई मनन् गरिन् ।

पार्वती एउटा निसहाय महिला थिइन् । बज्यैले सोधेका प्रश्नहरुको उत्तर दिँँदै भनिन्– म सवारीकोट बस्छु । लोग्ने विदेश गएको फर्केनन् । जिउँदो मर्दो थाहा छैन । दुई छोरी र एउटा छोरा थिए । दुवै छोरीहरुले विवाह गरेर प्यूठान जिल्ला गए । छोरो बिरामी भयो । थला परेपछि उपचार गराउन अस्पताल घोराही गएा । उसलाई व्यथाले धेरै च्यापेको कुरा डाक्टरले भने । यहाँ उपचार हुँदैन, तिमी छोरालाई लिएर उपचार गराउन नेपालगञ्ज वा कोहलपुर जाउ भने ।

मेरो शक्ति भएन । मैले साथ पनि पाइनँ । गाउँमा धामीझाँक्री गराएँ, छोरा बाँच्न सकेन । मेरै अगाडि प्राण त्याग भयो । म अहिले एक्लै छु । पार्वतीका कुरा सुनेर बज्यै अवाक भइन् । पार्वतीले बज्यैलाई हेर्दै भनिन्– बज्यै ! मेरो दसा दर्शाउन र मनको दुःख बिसाउन हजुरका ढोकामा आएकी हुँ, भनिन् ।
पार्वतीले फाटेको चोली, च्यातिएको गुन्यौ, धजा परेको घलेक लगाएको बज्यैले देखिन् । उनका आँखा रसाए । पार्वतीको बाल्यकाल र युवतीको समयलाई हेरिन् । उनले सम्झँदै मनमनमा कल्पना गरिन् कि छोरीको जीवन जन्मघरमा भन्दा कर्मघरमा धेरै समस्या भेल्नु पर्दोरहेछ ।

त्यसमा पनि लोग्नेदेखि विमुख हुनुपर्दाको पीडा, कष्टकर बन्दोरहेछ । पार्वतीले पढेलेखेको भए यो कष्टकर जीवन भोग्नुपर्ने थिएन । एकल महिलालाई हेर्ने दृष्टिकोण सरकारको फरक–फरक चाल पाए । मेरो छोरा वडाध्यक्ष भएकोले म जस्तो सम्पन्न महिलालाई एकल महिला भत्ता पाउने र पार्वतीजस्तो निसहाय महिलाले ठूलो यातना सहनुपर्ने, कस्तो गणतन्त्र हो ? गरिब र विपन्नवर्गलाई गणतन्त्र आएन ।

उनीहरुले कुनै किसिमको सुविधाहरु उपभोग गर्ने वातावरण बनेन । छोराको उपचार गर्न नसकेर मृत्यु वरण गर्नु परेको व्यथा सुनाइन्– पार्वतीले । गणतन्त्रात्मक शासन प्रणालीमा दलितवर्गको लागि विशेष सुविधा स्वास्थ्य क्षेत्रमा हुन्छ भन्थे– नेताहरुले भाषण गर्दा तर पार्वतीले छोराको उपचार गर्न कसैले पनि सहयोगी हात बटाइनन् ।

पण्डित बज्यैले पार्वतीलाई सान्त्वना दिँदै भनिन्– मैले पाउने एकल महिला भत्ता तिमीलाई दिन्छु र छोरा यसै वडाको वडाध्यक्ष भएको छ । उसलाई तिमीले पाउने भत्ता दिलाउन लगाउँछु पनि भन्न चुकिनन् । उनले भनिन्– म तिमीलाई नयाँ लुगा दिन्छु । लुगा फेर तर पार्वतीले बज्यैलाई भनिन्– बज्यै ! तपाईंले एकपटक दिएको लगाले जीवनमा परिवर्तन आउँदैन तर हजुरले प्रतिबद्धता गरेको आफ्नो एकल महिला भत्ताले म बाँच्न सक्छु ।

मेरा दुःखका दिन हरण हुने छन् । मलाई मिलाइदिने एक महिला भत्ताले मेरो जीवनमा परिवर्तन आउनसक्ने आशा गर्छु । यति कुरा भनेपछि पार्वतीको महाुरमा उज्यालोपन देखियो । तर यी सबै आशा थियो । उनले नपाउँदसम्म निराश नै रहिरहने छ । मानिसलाई आशा र भरोसाले सान्त्वना दिँदै बज्यैले उनलाई भनिन्– हरेक महिनाको २५ गतेका दिन मसँग एकलभत्ताको रकम लिन आउनु ।
एकल महिला भएपछि पार्वतीले भोग्नुपरेको दशा सुनाइन् । उनको दूरावस्था सुनेर बज्यैमा दया जाग्यो ।

उनले आफ्नो दयाभाव पार्वतीलाई देखाए पनि पार्वतीले एकल महिला भत्ता पाउने वातावरण बनेन । उनीसँग नेपाली नागरिकता थिए । बनाउन पनि पाएकी थिइनन् । पतिको सिफारिस नभएसम्म नागरिकता बन्दैनथ्यो । उनका पति विदेशमा जिउँदो या मर्दो थाहा थिएन । यस्ता नारीहरु नेपालमा धेरै थिए । उनको पहिले आफ्नो नागरिकता साथमा लिएर विदेशिएका थिए । उनको पहुँच सरकारी निकायहरुमा थिएन । सुनाउन कार्यालयहरुमा गए पनि ढोकाबाट भित्र पस्न पाइनन्, पाइए पनि हामिकले उनको कुरा सुनेर समस्याको समाधान गरिने आशा र भरोसा छैन ।

पार्वती एउटा दलित महिला भए पनि उनको समस्यामा दलित नेताहरुले पनि ध्यान दिँदैनन् । पण्डित बज्यै जस्ता सम्पनन व्यक्तिले सामाजिक सुरक्षा भत्ता नमग्ने भए पार्वतीजस्ता दलित निसहायवर्गले भत्ता पाउने थिए । तर नेपालमा जो हुने र खाने व्यक्ति छ त्यो रुनेवर्गमा परेको छ । त्यसैले नेपालमा कमजोरवर्ग अघि बढ्न कठिन भएको छ ।

महिलाको जीवन विवाहपछि लोग्नेको कार्यशेलीमा निर्भर हुन्छ । यदि लोग्ने असल चरित्रको भए उनको जीवन सरल ढङ्गले बित्छ । अन्यथा लोग्नेको बानी व्यवहार खराब भए कष्टकर जीवन बन्छ । त्यस्तो अवस्थामा महिलाको शिक्षा र सीपको विकास भएको भए आत्मबलमा बस्छन् तर पार्वतीमा शिक्षाको विकास थिएन । उनमा कुनै सीप थिएन । देशमा रोजगारका लागि महिला श्रमिकको व्यवस्था सरकारले गरेको थिएन । उनलाई जीवन धान्न र कमइ गर्ने वातावरण भएन र उनी भोको पेट, नाङ्गो छाती, फाटेको लुगा लगाएको भेषमा बज्यैका घरदैलामा पुगेकी थिइन् ।

पण्डित बज्यैसँग सहयोगको आशामा थिइन् । उनले बज्यैका घरमा काम गर्दा लगाएको गुण बिर्सेकी थिइनन्, आफूमा ज्ञान र सीपको अभाव भए पनि बज्यैलाई आशा र भरोसामा रहेकी थिइन् । उनको हेराइले सफल भइन् । पार्वतीले प्रशन्न मुद्रामा बज्यैलाई ढोगिन् र आफ्नो झोपडीमा फर्किइन् ।
पार्वतीलाई सम्झना भयो कि छोरीलाई आमाले ज्ञान र सीपको विकास गराइदिइनन् भने विवाहपछिको जीवन कष्टकर हुन्छ ।

जन्मघरमा बाबुआमाले छोरीलाई व्यावहारिक ज्ञान गराउनुपर्छ । जस्तै खाना पकाउने, खनानाका प्रकारहरु बनाउने प्रविधिहरु, आफ्ना इष्टमित्र, मान्यजनहरुसँग गर्नुपर्ने सामाजिक सद्भाव व्यवहार, स्थान र परिवेशमा लगाउने पोसाकको ज्ञान, बोली, वचन र व्यवहार गर्दा ख्याल गर्नुपर्ने विषयवस्तुमा ज्ञान र सीपको विकास गराउनु पर्छ । पार्वतीलाई सीप सिकाइ गर्न उनको इच्छा अनुसारको सीप विकास गराइदिएको भए उनले आफ्नो सीपबाट अर्थ लाभ गर्न सक्ने थिइन् । उनले काम गरेर खान पाउने वातावरण बन्ने थियो ।

आफूले जानेको सीपले आर्थिक सामाजिक उन्नति गर्ने थिइन् । आफ्ना छोरीहरुलाई पनि सीपको विकास गर्ने थिइन् । उनको जीवनमा देखिएको कमजोर अवस्था आउने थिएन । त्यसैले पार्वतीले भन्छिन् – छोरीलाई शिक्षा र सीपको विकास गराउनु पर्छ ।