म इलेक्टेड सर्वसम्मत सभापति : डाँगी

नेपाली कांग्रेसको चौधौँ महाधिवेशनअन्तर्गत् आइतवार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस दाङको सभापति युवा नेता शंकर डाँगी निर्वाचित भएका छन् । विद्यार्थी राजनीतिदेखि नै नेपाली कांग्रेसको राजनीतिमा जोडिएका युवा नेता डाँगी दुई कार्यकाल जिल्ला सचिवको भूमिकामा काम गरिसकेपछि सभापतिमा रेशमा सफल भए ।

जिल्ला अधिवेशनमा चार जना प्रत्यासीमध्ये उनले पहिलो चरणको निर्वाचनमा अत्यधिक मत ल्याएर दोस्रो चरणमा पुगे । यद्यपि दोस्रो चरणको मतदान भने गर्नु परेन । उनका निकटतम प्रतिस्पर्धी भूपबहादुर डाँगीले पहिलो मत ल्याउने उनलाइ समर्थन गर्दै सहमति जनाएपछि उनी दोस्रो चरणमा सर्वसम्मत निर्वाचित भए । नेपाली कांग्रेस दाङको जिम्मेवारी सम्हालेका सभापति शंकर डा“गीसँग महाधिवेशनको सेरोफेरो, कांग्रेसमा देखिएको गुटबन्दीको अवस्था तथा भावि रणनीतिका विषयमा गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार संक्षेप ।

 

 सर्वप्रथम बधाई छ, नेपाली कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित हुनुभएकोमा ।

 धन्यवाद, यो बधाई मलाई मात्र नभएर आम नेपाली कांग्रेसका अग्रज नेता कार्यकर्ता, भ्रातृ संस्थाका साथीहरू, जिल्ला तहका सबै शुभेच्छुक संस्थाका प्रतिनिधिहरूलगायत आम शुभचिन्तक तथा सञ्चार जगतलाई पनि । मलाई जिल्ला सभापतिको नेतृत्व सुम्पन ज–जसले जुन–जुन स्थानबाट साथ र सहयोग गर्नुभयो, उहाँहरू सबै बधाईका पात्र हुनुहुन्छ ।

 तपाईं इलेक्टेड सभापति कि सर्वसम्मत ?

 म इलेक्टेड सर्वसम्मत सभापति हुँ । किनकि पहिलो इनिङमै चार जना प्रतिस्पर्धीहरूमध्ये सबैभन्दा बढी मत अर्थात् ७ सय ७६ मत ल्याएको थिएँ । निकटतम प्रतिस्पर्धी भूपबहादुर दाइको ४ सय ५६ मत आएको थियो । हामी दोस्रो चरणको निर्वाचनको तयारीमै थियौँ, मलाई लागेको थिएन कि दोस्रो चरणको निर्वाचन गर्नुपर्ने छैन ।

त्यसैले हामीले मतदातालाई मतदान स्थलसम्म ल्याउनका लागि कालाकाटेदेखि बबई गाउँपालिकासम्म टिम परिचालित गरिसकेका थियौँ । संयोग निकटतम प्रतिस्पर्धी आदरणीय भूपबहादुर दाइले मप्रति विश्वास गर्नुभयो । आफ्नो समर्थन समेत मलाई दिएर सर्वसम्मत बनाउन उहाँले देखाएको सदासयलाई मैले हृदयदेखि नै सम्मान गर्दछु । उहाँप्रति आभारी पनि छु । किनकि मलाई दोस्रो इनिङको फेस गर्नुपरेन । त्यसैले मैले भन्न चाहेको म निर्वाचित सर्वसम्मत सभापति हुँ । किनकि दुवै चरणका चुनाव पार गर्नुपरेन मलाई, सभापति बन्न ।

 तपाईंलाई सहमति दिइरहँदा कुनै खालका बुँदागत बार्गेनिङहरू थिए वा केही सहमति भएको भन्ने चर्चा छ नि ?

 मलाई सहमति हुँदैछ भन्ने कुरा अन्तिम क्षणसम्म पनि जानकारी थिएन । केही अग्रज नेताहरूसँग एक चरणको सहमतिका लागि छलफल भने भएको सुनेको छु । मलाई लाग्छ, यसबीचमा कुनै खाले आर्थिक लेनदेन, संघीय, प्रदेश र पालिका निर्वाचनमा भागबण्डालगायतका कुनै पनि विषयमा सहमति भएका छैनन् ।

मलाई लाग्छ, पहिलो चरणमै प्राप्त सर्वाधिक मतलाई सम्मान गर्दै पार्टीलाई गुटबन्दीको घेराबाट मुक्त गर्न र नेपाली कांग्रेसलाई बलियो पार्टीका रूपमा स्थापित गर्नकै लागि भूपबहादुर दाइले मेरो नाममा सहमति जनाउनुभएको हो भन्नेमा म पूर्ण विश्वस्त छु ।

 भूपबहादुरले देखाएको त्यागलाई उनकै निकटका नेता कार्यकर्ताहरूले आत्मसमर्पण भनिरहेका बेला यो सहमतिले आम कांग्रेस नेता कार्यकर्ताहरूलाई के म्यासेज दिएको छ जस्तो लाग्छ, तपाईंलाई ?

 त्यो सदासयता र त्यागलाई आत्म समर्पणका रूपमा नबुझिदिन मैले आम कांग्रेसजनहरूप्रति हार्दिकतापूर्वक आग्रह गर्दछु । नेपाली कांग्रेस एउटा डेमोक्रेटिक पार्टी भएकाले तल्लो तहबाटै नेतृत्व चुनिनु स्वाभाविक थियो । यस क्रममा विभिन्न समूहमा भएर आन्तरिक संघर्षमा होमिनु स्वाभाविक पनि थियो । हामीले वडा अधिवेशन, पालिका अधिवेशन, क्षेत्रीय अधिवेशन पार गर्दै जिल्ला अधिवेशनको समेत सफलतापूर्वक सम्पन्न गरिसकेका थियौँ ।

हामी चारैजना प्रत्यासी जिल्ला सभापति चलाउन सक्ने थियौँ तर पार्टीभित्रको जनमत कसको पक्षमा बलियो छ भनेर देखाउनैका लागि प्रजातान्त्रिक प्रक्रियालाई स्वीकार्दै निर्वाचनमा प्रवेश ग¥यौँ । चारजना प्रतिस्पर्धीमा मेरो सबैभन्दा बढी मत मैले नै पाएको थिएँ । मैले दोस्रो इनिङमै प्रवेश नगरेको भए आत्समर्पण हुन सक्थ्यो । तर उहाँको त्यागलाई आत्मसमर्पण भन्न मिल्दैन । यसले त आम नेपाली कांग्रेसमा एकताको सन्देश दिएको छ ।

अब नेपाली कांग्रेस दाङभित्र कुनै पनि सत्तापक्ष अर्थात प्रतिपक्षको आभास हुने छैन । सबैको साझा नेतृत्व आएको रूपमा आम कांग्रेस नेता कार्यकर्ताहरूले बुझ्नुभएको छ । यसले नेपाली कांग्रेसलाई थप बलियो बनाएर लैजाने पनि मैले अपेक्षा गरेको छु ।

 तीनै तहका सरकारको निर्वाचन नजिकिँदै गर्दा पार्टीभित्र भएको यो महाधिवेशनको रिप्mलेक्शन निर्वाचनमा पर्नेमा सर्वत्र चिन्ता व्यक्त गरिएको छ नि ?

 यो मलाई लाग्दैन । नेपाली कांग्रेस लोकतन्त्र र प्रजातन्त्रमाथि विश्वास गर्ने पार्टी भएकाले पार्टीभित्रै पनि लोकतान्त्रिक संस्कारको अपेक्षा नेपाली कांग्रेसकै विधानले गरेको छ । पार्टीभित्रको अन्तरसंघर्ष बलियो हुनुपर्छ भन्नेमा कांग्रेस विश्वास गर्दछ । तल्लो तहबाटै निर्वाचित भएर आएकाहरूले जिल्ला प्रदेशदेखि केन्द्रैसम्म नेतृत्व लिन पाउने वैधानिक व्यवस्था पनि नितान्त लोकतान्त्रिक अभ्यास हो ।

हामीबीच नेतृत्व चयनका सन्दर्भमा जे–जस्ता विमतिहरू देखिए, नेतृत्वको चयन भइसकेपछि सबै सकिएका छन् । यदि कहीँकतै अझै पनि त्यस्ता विमतिहरू छन् भने त्यसलाई पुनः मन्थन गर्न सकिन्छ । आन्तरिक प्रतिस्पर्धाले पार्टीलाई कमजोर बनाउने होइन, झन बलियो बनाउने हो । त्यसैले मलाई लाग्छ, अब आसन्न सबै तहका निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा बलियो पार्टीका रूपमा स्थापित हुनेछ ।

त्यसको पूर्वसंकेत यो अधिवेशनमा देखिइसकेको छ । अब पार्टीमा कुनै पनि खो गुटउ पगुठहरू रहने छैनन् । सबै समूहबाट हामी नेतृत्वमा आएका छौँ, यो फलानाको र त्यो फलानाको भनेर कुनै पनि खाले भेदभाव अब रहने छैन । मलाई लाग्छ, यो अधिवेशनको पोजेटिभ रिफ्लेक्शन आम निर्वाचनमा देखिनेछ । नेपाली कांग्रेस दाङले अब दाङका तीनैवटा संघीय निर्वाचन क्षेत्र, ६ वटै प्रदेश र दशवटै पालिकामा सबैभन्दा बलियो पकड स्थापित गर्नेछ भन्नेमा ढुक्क हुन आम कांग्रेसजनहरूलाई विश्वस्त बनाउन चाहन्छु ।

 महाधिवेशन भइरहँदा समयसीमा, नेतृत्व चयनको प्रक्रियालगायतका विषयले निर्वाचन बढी खर्चिलो भयो भन्ने विषयलाई कसरी लिनुभएको छ ?

 हो, यो सर्वत्र गुनासो मात्र होइन, हामी स्वयम्ले पनि भोग्यौँ । साउनदेखि सुरु भएको महाधिवेशन कहिले सम्पन्न हुने हो, अझै निश्चित छैन । निर्वाचन कार्यतालिका फेरबदल भइरहेको छ । हो, जिल्ला सभापति भइसकेकाले महाधिवेशनमा म पनि प्रतिनिधित्व गर्न जाँदै छुँ । महाधिवेशमा देखिएको यो समस्या हाम्रो जिल्लाको मात्र होइन, ७७ वटै जिल्लामा यो समस्या भएको छ ।

हामीजस्ता महाधिवेशन प्रतिनिधिहरूले एकताबद्ध भएर निर्वाचन प्रक्रियाका सन्दर्भमा महाधिवेशनको बन्दसत्रमा कुरा उठाउने छौँ । तल्लो तहमै यति धेरै प्रतिस्पर्धा गर्नु अलि उपयुक्त होइन कि भन्ने हामीलाई लागेको छ । मलाई लाग्छ, निर्वाचन प्रक्रियाको विधान अर्को महाधिवेशनमा फेरबदल भएर आउनेछ । जसले समयसीमा एवं खर्चमा पनि धेरै सहज हुने हैले विश्वास लिएको छु ।

 प्रसङ्ग बदलौँ, नेपाली कांग्रेसको लिडिङ पार्टी तपार्ईंंको जिल्ला कार्यालय आफ्नै भवनमा रहेर पनि कार्यालय व्यवस्थापन समयानुकूल प्रविधिमैत्री र व्यवस्थित छैन नि ?

 हो, यो सबैलाई अनुभूति भएको कुरा हो । हामी समयानुकूल सूचना प्रविधिको भरपुर उपयोग गर्न सकिरहेका छैनौँ ।

कार्यालयमा फर्निचर व्यवस्थापन, व्यवस्थित सभाहल, सफासुग्घर शौचालय, पिउन योग्य खानेपानीको व्यवस्थापन, नियमित कार्यालय खोल्नेलगायतका धेरै कुराहरूमा व्यापक सुधार गर्ने छौँ । म सचिवको जिम्मेवारीमा रहँदै पनि केही कुरा व्यवस्थित त भएका छन् तर त्यसले मात्र पुगेको छैन । अब मेरो सबैभन्दा पहिलो प्राथमिकता कार्यालयको भौतिक व्यवस्थापनमा पनि हनेछ भन्ने आम कांग्रेसजनहरूलाई विश्वस्त बनाउन चाहन्छु ।

 अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?

 मलाई नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा सभापतिमा निर्वाचित बनाउन साथ सहयोग गर्नुहुने सबै अग्रज नेताहरू, सबै क्रियाशील तथा क्षेत्रीय प्रतिनिधिहरू, विभिन्न भ्रातृ संस्थाहरूका पदाधिकारी तथा प्रतिनिधिहरू, शुभेच्छुक संघसंस्थाका प्रतिनिधिलगायत आम कांग्रेसजनहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

हामी जहाँ–जहां जोडिएका छौँ र जोडिएका छौँ, सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु । पार्टीमा नेतृत्व आउन धेरै तहमा आन्तरिक प्रतिस्पर्धाहरू भएका छन् र नेतृत्वमा आउनुभएको छ, सबैलाई समेटेर उहाँहरूको साथ र सहयोगबाट नेपाली कांग्रेसलाई चलायमान बनाउने प्रतिबद्धता पनि यसै पत्रिकामार्फत व्यक्त गर्न चाहन्छु । सबैको सल्लाह र सुझाव लिएर नेपाली कांग्रेस दाङको गरिमालाई अझै उचो बनाउन मेरो हरपल मिहिनेत रहने छ भन्ने विश्वास दिलाउन चाहन्छु ।