‘खर्चिलो र भड्किलो चुनाव’

बालाराम खड्का
तुलसीपुर, १४ मंसिर । भित्तैभरि व्यानर, चौरभरि छरिएका ती भोट माग्नका लागि बनाएका कार्डहरू । सदस्यको चुनाव लड्न पनि कम्तिमा २÷३ लाख खर्च । पछिल्लो समयमा पार्टीको आन्तरिक होस् वा अन्य चुनावहरू खर्चिलो र भड्किलो बन्दै गएका छन् ।

भर्खरै सम्पन्न नेपाली कांग्रेसको क्षेत्र, प्रदेश निर्वाचन होस् वा जिल्लाको निर्वाचनमा पनि यस्तै देखिएको छ । अन्य दलको निर्वाचनमा पनि यस्तो अवस्था देखिँदा खर्चका कारण निर्वाचन लड्न नसक्ने भइयो, भड्किलो चुनावले लोकतन्त्रलाई बोक्न सक्दैन, निष्ठाको राजनीति गर्ने चुनावमा प्रतिस्पर्धा गर्न सक्ने भएनन्, भन्ने आम जनमानसमा चिन्ता छाएको छ ।

‘हामीजस्ता सामान्य व्यक्तिले कसरी चुनावको परिकल्पना गर्ने पैसा नभएकाले चुनाव लड्न नसक्ने अवस्था छ’, स्थानीय मुना पुनले भनिन् । उनी जस्तै धेरैले आफ्नै पार्टी भित्र पनि प्रतिस्पर्धा गर्दा धेरै तामझाम हुने गरेको गुनासो गरे । राजनीति भनेको विचार र सिद्धान्त हो भन्ने भावना जगाउन आवश्यक रहेको जानकारहरू बताउँछन् ।

मानवको जीवनस्तर विकसित हुँदै जाँदा विलाशिता पनि बढदै जान्छ, यो स्वभाविकै हो तर हरेक कार्यकर्ताले यो मेरो पनि चुनाव हो, मैले मेरो पार्टीलाई जिताउने हो’ भनेर स्वतःस्फुर्त रूपमा लागे कस्तो हुने थियो होला ? धेरेको प्रश्न यही थियो । ‘हरेक कार्यकर्ताले चुनावी उम्मेद्वारलाई धेरै आर्थिक भार नबोकाऔँ भनेर सोचिदिए सबै यो तामझाम कम हुने थियो, यो चुनाव खर्चिलो हुनु राम्रो होइन’, स्थानीय कमला वलीले भनिन् ।

भोलिका दिनमा राजनीति धनी र गरिब दुवैवर्गको लागि सम्भव हुनु पर्दछ भन्ने सबैको सोच हुनुपर्ने सर्वसधारण बताउँछन् । ‘एजेण्डा हेरेर भोट हाल्ने परिस्थितिको सिर्जना गर्नुपर्छ, प्रलोभवनमा पैसा खाएर मात्र होइन यो गलत नजिर राजनीतिमा आएको छ’, एक नेताले भने ।

गएको कांग्रेसको निर्वाचनमा एउटा पर्चा समेत नछापेर चुनाव जितेका भने नभएका होइनन् । तर विरलै मात्रामा त्यस्ता व्यक्तिहरू रहेका छन् । ‘सामान्य दालभात तरकारी खानु स्वाभाविक हो, यहाँ त सबैलाई भोटका लागि पैसा चाहिन्छे, यो गलत संस्कारको चिरफार गर्नु आवश्यकछ’, स्थानीय एक नेताले भने ।

गाडीका ती लाम लस्कर त्यसमा पनि भड्किलो अस्वस्थ प्रतिस्पर्धाले गर्दा निष्ठाको राजनीति गर्नेहरू समेत चिन्तित भएका छन् । ‘जुनसुकै दलमा पनि निष्ठाको राजनीति सकिएको छ, हामी जस्ताले कसरी राजनीति गर्ने ? निष्ठा र त्याग हराएको छ’, कांग्रेसका पुराना नेता महासमिति सदस्य समेत भएका रेशमबहादुर खड्काले भने । उनले युवाहरूले नेतृत्व गर्नुपर्छ भनेर आफू चुनावी मैदानमा नआएको बताए ।

संविधानसभाका सदस्य समेत रहेका बुद्धिराम भण्डारीले विज्ञप्ति नै निकालेर आफूले चुनाव नलड्र्ने घोषणा गर्ने परिस्थिति सिर्जना भएको उदाहरण पनि यही रहेको छ । त्यस्तै जिल्लाका प्रतिष्ठित व्यक्तिहरूले समेत चुनाव हारेको अवस्थमा अबको राजनीति कता जानेहो ? भन्नेमा अग्रजहरू चिन्तित छन् । हामी कुन अवस्थामा छौँ, अबको बाटो र निर्वाचन प्राणाली कहाँ जाने हो भन्ने अन्योल रहेको छ । यसलाई रोक्न तथा गलत नजिरलाई विस्थापित गर्नतर्फ कोही कसैले ध्यान नदिएको सर्वसाधारण बताउँछन् ।

आम निर्वाचनको प्रतिस्पर्धाजस्तो देखिएका दलका आन्तरिक निर्वाचनले पनि सबैलाई चकित पारेको छ । यो आन्तरिक निर्वाचनमा हुने फजुल खर्च दुःखी गरिव र असहायलाई दिएको भए त्यो काम लाग्ने स्थानीय बताउँछन् । ‘पहिले पहिलो हुने निर्वाचनमा हामीले चिउरा र भटमास खाएर प्रचार गर्ने गरेका थियौँ, अहिले यस्तो देख्दा अचम्म लाग्छ’, बयोवृद्ध एकनारायण वलीले भने ।

भित्तामा गेरुले लेखेर प्रचारप्रसार गरेको उनले सम्झिए । ‘यो सेतो कमेरो र रातो माटोले चुनाव प्रचार गरेको अवस्था थियो’ उनले भने । अहिले आधुनिक युगमा र प्रविधिमैत्री युग भए पनि यो भड्किलो र खर्चिलो चुनावले कसैलाई पनि फाइदा नगर्ने जानकारहरू बताउँछन् ।