अमरराज आचार्य
दाङ, १० मंसिर । प्रदेशभरीका उद्योग वाणिज्य संघहरुले संस्थागत विकासका लागि रणनीति तयार गरेका छन् । दाङमा आयोजना गरिएको संस्थागत रणनीति विकास कार्यशाला गोष्ठीमा उनीहरुले यस्तो रणनीति तयार बनाएका हुन् । कार्यक्रममा सहभागीहरुले उद्योग वाणिज्य संघको विकासका लागि तत्कालै के गर्न सकिन्छ, मध्यकालीनरुपमा के गर्ने सकिन्छ र दीर्घकालीन के गर्ने सकिन्छ भनेर योजनासमेत निर्माण गरेका छन् ।
योजनामा कसरी, स्थानीय निकायहरुसँग सहकार्य गरेर अगाडि बढ्न सकिन्छ, सदस्यहरुलाई कसरी मजबुत गराउन सकिन्छ, आर्थिक विकासमा कसरी अगाडि बढ्न सकिन्छ, संस्थालाइ कसरी आर्थिकरुपमा बलियो बनाउन सकिन्छलगायतका योजना निर्माण बनाएका छन् । समूहमार्फत संकलन गरिएका सुझावहरुलाई एकतित्र गरेर योजना बनाएर कार्यान्वयन गर्न अगाडि बढिने भएको छ । कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा जिआइजेडको सहयोग एवं दाङ जिल्ला उद्योग वाणिज्य संघको आतिथ्यमा भएको हो ।
दाङको घोराहीमा सञ्चालन भएको २ दिने गोष्ठीमा प्रदेशभरका उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो । गोष्ठी समापन कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले रोजगारीमूलक उद्योगलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने बताए । ‘हामीले रोजगारी प्रदान गर्ने उद्योगलाई प्राथमिकता दिएर अगाडि बढ्न सक्नुपर्दछ’, उनले भने ।
जसले धेरै बेरोजगार रहेका युवाहरुलाई रोजगार प्रदान गर्न सक्ने छ । रोजगारीका लागि विदेशिने युवाहरुलाई रोक्नका लागि यस प्रकारको योजना अगाडि सार्नुपर्ने उनी बताउँछन् । उद्योग वाणिज्य संघहरुले पनि आफ्नो क्षमता अभिबृद्धि गर्दै अगाडि बढ्नुपर्ने बताए । समयसँगै संस्थागत विकासको लागि क्षमता अभिबृद्धि गर्नुपर्ने उनको भनाइ रहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले लगानी गर्नेका लागि प्राजेक्ट बैंक स्थापना गरेर अगाडि बढ्न आवश्यक रहेको बताए । यसले लगानीका लागि सहजता हुने उनको भनाइ रहेको छ । आर्थिक विकासका लागि नीतिगत सुधार हुन आवश्यक रहेको बताए । उद्योग वाणिज्य महासंघले व्यवसायीहरुलाई सचेत तथा क्षमता अभिबृद्धिका लागि छुट्टै पाठ्यक्रम निर्माण गरेर तालिम प्रदान गर्ने योजनामा रहेको बताए । यसका लागि तयारीसमेत थालिएको उनले बताए । यसले व्यवसायीहरुलाई व्यवसाय गर्दा सहजता हुने उनी बताउँछन् ।
बजारमा अनुगमन गर्न जाने निकायलाई समेत तालिमको आवश्यक रहेको उनले बताए । ‘अनुगमन गर्न जानेलाई ऐन–नियम कानुनका बारेमा तालिम दिन आवश्यक छ’, उनले भने । तालिम प्रदान नगरिँदा धेरै व्यवसायीहरुले समस्या भोग्नुपरेको उनको भनाइ रहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले प्रदेशभर रहेका उद्योग वाणिज्य संघहरुको संस्थागत विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले यस प्रकारको गोष्ठीको आयोजना गरिएको बताए । यसले संस्थालाई अगाडि बढाउन सहयोग पुग्ने उनको भनाइ रहेको छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा महासंघको स्वास्थ्य सीप विकास समितिका हेमराज ढकाल, सहजकर्ता रामचन्द्र लामिछाने, मधुवन उद्योग बाणिज्य संघ बर्दियाका अध्यक्ष देवेन्द्रप्रसाद तिमिल्सिना, रुकुमकोट जिल्ला उद्योग बाणिज्य संघ पूर्व रुकुमका अध्यक्ष यज्ञप्रकाश मल्ललगायतले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण नेपाल उद्योग वाणिज्य संघका लुम्बिनी प्रदेश उपाध्यक्ष बालकृष्ण सुवेदीले गरेका थिए ।