समन्वय बिना ढुगा उत्खननको अनुमति दिएको भन्दै स्थानीय आन्दोलित

शिवराज खनाल
दाङ,९ मंसिर । देउखुरीको गढवा गाउँपालिका–६ कक्रहवा सोता नजिकै एउटा बस्ती छ । बस्तीमा खोला केही भागमा तटबन्ध पनि गरिएको छ । तर तेहि कक्रहवा सोतामा मनोमानी ढँगले ढुँगा ढुवानी गरेको भन्दै स्थानीयले आक्रोश पोखेका छन ।

गाँउपालिकाले स्थानीयसँगको समन्वय बिना रोयल्टी काट्दै अनुमती दिने र मनोमानी तवरबाट ढुँगा उत्खनन् गरेकोप्रती आपत्ती जनाएका हुन । स्थानीयले कक्रहवा सोताबाट कुनैपनि नदिजन्य पदार्थ उत्खनन्का लागि बन्द गरेका थिए । तर गाउँपालिकाले सहमती बेगर धमाधम रसिद काट्दै अनुमती दिँदै गरेको पाईएको छ । गाउँपालिकाको रसिदका कारण प्रहरी प्रहरी प्रशासन पनि मौन छ ।

जथाभाबी उत्खनन् गर्दा बर्खायाममा गाउँमा बाढी पस्ने चिन्ता स्थानीयको छ । गाउँ र सोता एकै सतहमा छन । सोताको किनारमा तट्बन्द त छ तर पुरै गाउँलाई जोगाउने पूरा तट्बन्द छैन । तट्बन्दको पूर्वी भागबाट गाउँमा बाढी पस्ने गरेको स्थानीयको साबित्रा पुन मगरको भनार्इ छ । कक्रहवा सोता सामुदायिक बन क्षेत्रभित्र पर्ने भएकाले पनि स्थानीय वनले यसतर्फ चासो देखाएको छ ।

बनका पदाधिकारी, स्थानीय उपभोक्ता लगायतको टोलीले बिहिबार सोताको अनुगमन गरेको छ । यस्तो कार्य तत्काल रोक्नुपर्ने र अटेरी गरे चरणबद्ध आन्दोलनमा जाने श्री मनिकापुर बगाले बिसौना सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष बिरबहादुर आले मगरले बताए । खोला नजिकैको बस्ती बचाउन यसतर्फ सम्बन्धित निकायले चासो दिन जरुरी देखिन्छ ।