खेमराज रिजाल
तुलसीपुर, ५ मंसिर । अर्को स्थानीय निर्वाचन हुन ६ महिना मात्रै बाँकी छ । जनप्रतिनिधिहरूको कार्यकालको उल्टो गन्ती सुरु भइरहँदा तुलसीपुर उपमहानगरपालिकामा गठन भएको तुलसीपुर पूर्वाधार विकास प्राधिकरणको कार्य प्रगति पनि लक्ष्य अनुरूप हुन सकेन । एक वर्षमै कम्तिमा ५७ किमि सडक कालोपत्रे गर्ने लक्ष्य लिएर तुलसीपुर उपमहानगरपालिकामा स्थापना भएको तुलसीपुर पूर्वाधार विकास प्राधिकरणले विगत दुई वर्षमा ३० किमि सडक मात्र कालोपत्रे गर्न सफल भएको छ ।
प्राधिकरणले एक आर्थिक वर्षमा एउटा वडामा कम्तिमा ३ किमि सडक कालोपत्रे गर्ने लक्ष्य लिएको थियो । वडा कार्यालयको सिफारिसमा वडाका विभिन्न स्थान छनोट भएपछि तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा गरी जम्मा ५७ किमि सडक कालोपत्रे गर्ने भनिए पनि दुई वर्षमा पनि त्यो लक्ष्य पूरा हुन नसकेपछि नगरबासी प्राधिकरणको विकास लक्ष्यप्रति सन्तुष्ट हुन सकेनन् । अर्कोतर्फ कालोपत्रे भएका सडकमा पनि नाला निर्माण नहुँदा स्थानीयबासीको सर्वत्र गुनासो समेत रहेको छ ।
तुलसीपुर उपमहानगरपालिका अन्तर्गत्का विशेष गरी सडक निर्माणलाई एकतृत एवं व्यवस्थित गरी सस्तो मूल्यमा गुणस्तरमा समेत एकरूपता हुने गरी विसं २०७६ सालमा प्राधिकरण गठन भएको हो । प्राधिकरण गठन भएसँगै तुलसीपुर उपमहानगरपालिकाले करिब ५ करोड रूपैयाँ बराबर रकम खर्च गरी स्रोत साधन समेत व्यवस्थापन गरेको छ । प्राधिकरणकै स्वामित्वमा हाल एउटा ग्रेडर, २ वटा रोलर, एउटा स्काभेटर, दुईवटा टिप्पर, दुईवटा हट मिक्सचर प्लान्ट, एउटा विटुमिन डिस्ट्रिव्युटर, दुईवटा जेसिबी समेत खरिद गरीसकेको छ । यसैगरी प्राधिकरणमा एक जना इन्जिनियर, ओभरसियर ३ जना, दुई जना सुपरभाइजर र यान्त्रिक साधन हेर्ने एक जना तथा सबै मेसिनमा दुई÷दुईजना चालक समेत कार्यरत छन् ।
यतिधेरै स्रोत साधनको व्यवस्थापन भए पनि प्राधिककरणले लक्ष्य अनुरूप सडक स्तरोन्नतिको उपलब्धि हासिल गर्न नसकेकोमा नगरबासीले गुनासो गरेका छन् । कतिपय नागरिकले प्राधिकरणमार्फत् यो वर्ष नयाँ स्टानमा स्तरोन्नति हुने भनिएका सडक स्तरोन्नतिको काम सम्पन्न हुनेमा आशंका समेत व्यक्त गरेका छन् । किनकि प्राधिकरणका अधिकांश योजना अधुरा रहेका छन् भने निर्माण सम्पन्न भएका सडकहरूमा पनि नालाको व्यवस्थापन हुनसकेको छैन ।
‘हामीले यो अवधिमा कम्तिमा ६० किमि सडक कालोपत्रे गर्ने लक्ष्य लिएका थियौँ तर विविध समस्याका कारण ३० किमि सडक मात्र कालोपत्रे गर्न सक्यौँ’—तुलसीपुर पूर्वाधार प्राधिकरणका प्रमुख सिइओ पवनकुमार योगीले भने । सुरु–सुरुमा योजना छनोटमै अलमल, त्यसपछि हालसम्म जारी रहेको विश्वव्याधि कोरोना भाइरसको संक्रमण र मौसमी प्रतिकूलताका कारण काममा केही ढिलाइ भएको पनि इन्जिनियर योगीले बताए ।
‘लक्ष्य अनुरूपको बाँकी ३० किमि सडक कालोपत्रेको पनि ठेक्का भइसकेको छ, सम्भवतः चैत मसान्तभित्रै यो काम सम्पन्न हुनेछ’—इन्जिनियर योगीले भने । बाँकी स्थानमा ठेकेदारमार्फत् काम सुरु भइसकेको पनि उनले बताएका छन् । सडक कालोपत्रे मात्र नभएर विभिन्न एक सयभन्दा बढी स्थानमा सडकका नयाँ ट्रयाक खोल्ने काम पनि प्राधिकरणमार्फत् नै भएको उनको भनाइ थियो । नगरपालिकाले खरिद गरेका साधनको अधिक्तम उपयोग गरी विकास निर्माणलाई सस्तो बनाउने अपेक्षा गरिरहेकाबेला उपमहानगरपालिकाले भने ३ किमि प्रतिवडा कालोपत्रेका लागि पनि फेरि ठेक्का आह्वान गरेको छ ।
तुलसीपुर उपमहानगरपालिकाले प्राधिकरण गठन भएसँगै पहिलो वर्ष २२ करोड बजेट प्राधिकरणलाई विनियोजन गरेको थियो । तर विविध ढिलासुस्तीका कारण १४ करोडभन्दा बढी खर्च हुन सकेन । दोस्रो वर्ष विनियोजन गरिएको दश करोड रूपैयाँमा ३ करोड रूपैयाँ मात्र मुस्किलले खर्च भएको छ । बाँकी रकमले यो वर्ष काम हुँदैछ । तर यो वर्ष नयाँ योजना र नयाँ बजेट अझैसम्म पनि सार्वजनिक भएको छैन । प्रदेश सरकारले बजेट नपठाइसकेको भन्दै तुलसीपुर उपमहानगरपालिकाले यो वर्षका लागि बजेट तथा योजनाहरू आफ्नो वेवसाइट र रातो किताबमार्फत् सार्वजनिक गरिसकेको छैन ।
यो वर्ष नयाँ काम हुने सम्भावना न्यून
यसैबीच यो वर्ष प्राधिकरणमार्फत् नयाँ स्थानमा सडक कालोपत्रेको काम हुने सम्भावना न्यून रहेको छ । किनकि अघिल्लै वर्षको बजेट अनुसारका योजनाको काम सम्पन्न नभएका कारण यो वर्ष ती योजनामा काम हुँदैछन् । यद्यपि प्राधिकरणले भने थप काम पनि हुनसक्ने विश्वास व्यक्त गरेको छ । प्रदेश सरकारको बजेट आएपछि तथा आन्तरिक स्रोतबाट थप काम हुनसक्ने प्राधिकरणका अधिकारीले बताएका छन् ।
‘हामी प्रतिवडा तीन किमिबाट ५ किमिसम्म पुग्नेमा विश्वस्त छौँ, सम्भवतः अर्को आर्थिक वर्षसम्म हरेक वडामा कम्तिमा ५ किमि सडक कालोपत्रे गर्ने काम हुनेछन्’, इन्जिनियर योगीले भने, ‘तर थप योजनाका शीर्षकमा नयाँ बजेट भने अझै आइसकेको छैन । उपमहानगरपालिका त्यसै पनि ऋणमा चलिरहेकाले थप योजनाहरू सञ्चालन हुनेमा वडाका जनप्रतिनिधिहरू पनि विश्वस्त छैनन् ।
प्राधिकरणले हालसम्म तुलसीपुर उपमहानगरपालिकाको १ नम्बर वडामा आधा काम मात्रै सम्पन्न गरेको छ । तुलसीपुर उपमहानगरपालिका—२, ३ र ४ मा सबै काम सम्पन्न भइसकेको बताइएको छ । यसैगरी ५, ६, ७, ८ र ९ वडामा पनि चार÷चार स्थानमा सडक स्तरोन्नतिको काम सम्पन्न भइसकेको छ । वडा नम्बर १७ मा एउटा योजनाको काम सम्पन्न हुन बाँकी रहेको तथा १८ वडामा २ वटा योजना सम्पन्न भएका छन् ।
अन्य बाँकी वडाहरूमा कालोपत्रेको ठेक्का भइसकेको र काम सम्पन्न हुने प्रक्रियामा छन् । सडक कालोपत्रे भए पनि नालाको काम भने हुनसकेको छैन । नाला सहित सडक कालोपत्रे गर्न समय बढी लाग्ने र खर्च पनि अत्यधिक बढी हुने देखिएकाले उपमहानगरपालिकाले नाला निर्माणको कामलाई थाँती राखेको उपमहानगरपालिका स्रोतले बताएको छ । तर, प्राधिकरणले भने आवश्यक स्थानमा नाला समेत निर्माण हुने बताएको छ ।