महाधिवेशन प्रतिनिधि छान्न एमाले दाङले बनायो समिति

दाङ, २५ कार्तिक । नेकपा एमाले दाङले १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटको लागि समिति गठन गरेको छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि छनोट गर्न एमाले दाङको बुधवार बसेको बैठकले महाधिवेशन प्रतिनिधि छनोटको लागि ‘अधिकार सम्पन्न’ कमिटी निर्माण गरेको हो । महाधिवेशनको लागि जिल्लाबाट २५ जना प्रतिनिधि छनोट हुनेछन् ।

महाधिवेशनको लागि एमालेले कार्तिक २७ मा देशभर प्रतिनिधि छनोट गर्दैछ । राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि छनोटको लागि पार्टी इन्चार्ज नरुलाल चौधरीको नेतृत्वमा कमिटी गठन गरिएको हो । कमिटीमा पार्टी सह इन्चार्ज शान्ता चौधरी, पार्टी अध्यक्ष टीकाराम खड्का, उपाध्यक्ष हुकुम बस्नेत, सचिव मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल, पार्टीको केन्द्रीय सल्लाहकार परिष्द सदस्य छविलाल वली र शम्भु गौतम छन् ।

त्यसैगरेर बैठकले महाधिवेशनमा सहभागिता जनाउन जनपरिचालन गर्न तीनवटै निर्वाचन क्षेत्रका इन्चार्ज, संयोजक रहेको समिति समेत गठन गरेको छ । दाङ एमालेले महाधिवेशनमा झण्डै १० हजार नेता तथा कार्यकर्ता सहभागिता गराउने तयारी गरेको छ । त्यसैगरेर प्रतिनिधि छनोटको लागि विहीवार जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा छलफल गर्ने बैठकले निर्णय गरेको छ ।

छलफलको सहजीकरणको लागि निर्वाचन क्षेत्र नं. १ मा पार्टी सह–इन्चार्ज शान्ता चौधरी, पार्टी उपाध्यक्ष हुकुम बस्नेत र प्रदेश कमिटी सदस्य रेवतीरमण शर्मालाई जिम्मा दिएको छ । त्यसैगरेर क्षेत्र नं. २ को लागि पार्टी इन्चार्ज नरुलाल चौधरी, अध्यक्ष टीकाराम खड्का, प्रदेश कमिटी सदस्य लक्ष्मण आचार्यलाई जिम्मेवारी तोकिएको छ ।

क्षेत्र नं. ३ मा पार्टी केन्द्रीय सल्लाहकार परिषद् सदस्य छविलाल वली, पार्टी सचिव मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र प्रदेश सचिवालय सदस्य घनश्याम पाण्डेलाई जिम्मेवारी दिइएको छ । बैठक पार्टी अध्यक्ष खड्काको अध्यक्षता एवं पार्टी इन्चार्ज चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । बैठकको सहजीकरण पार्टी सचिव बुढाथोकीले गरेका थिए ।