विगत १५ वर्षदेखि शिक्षाको उज्यालो ज्योति दिँदै आएका छन् । गोरखा मावि तुलसीपुरका संयोजक तथा गोरखा मोडेल कलेज तुलसीपुरका शेयर सदस्य पूर्णबहादुर डाँगीका जीवनमा धेरै खुसीहरू छन् । मिजासिला, हसिलो स्भाव र सहयोगी युवा डाँगीले जीवनमा आफू सधैँ खुुसी र सकारात्म सोचका साथ अगाडि बढेको बताए ।
शैक्षिकसँगै राजनीति, समाज सेवा तथा मानवअधिकारको क्षेत्रमा क्रियाशील डाँगीले आप्mनो पहिलो खुसी इन्टरनेशनल स्कूल अवार्ड हात पार्दाको सम्झिए । गोरखा माविमा आफू संयोजकको भूमिकामा रहँदा स्कूलले ब्रिटिस काउन्सिलद्वारा आयोजित इन्टरनेशनल स्कूल अवार्ड कार्यक्रममा सम्मिलित हुने अवसर प्राप्त भएको उनले बताए । सन् २०१८ मा यस कार्यक्रममा देशभरका करिब १५७ विद्यालयहरू सम्मिलित भएका थिए । ब्रिटिस काउन्सिलको गाइडलाइन्सअनुसार विभिन्न परियोजना कार्यहरू गर्नुपर्ने थियो ।
उनलाई गोरखा मावि तुलसीपुरमा आइएसई कोअर्डिनेटरको रूपमा इन्टरनेशनल स्कूल अवार्ड कार्यक्रमलाई अगाडि बढाउने जिम्मेवारी प्राप्त भयो । त्यसपछि विभिन्न परियोजना कार्यहरू तयारी गरी काम अगाडि बढाइए र काम गर्दै जाँदा करिब १ वर्षमा विभिन्न परियोजना कार्यहरूमा विद्यार्थीहरूको सहभागितामा काम गरिएको डाँगी बताउँछन् ।
विभिन्न परियोजना कार्यका संयोजकहरूको सहयोगमा आफूहरूले ब्रिटिस काउन्सिलमा आफूुले गरेका ती कार्यहरूको दस्तावेज तयार पारेर बुझाएको एक महिनापछि ४२ स्कूलले इन्टरनेशनल स्कूल अवार्ड प्राप्त गर्न सफल भएको भन्दै खुसी व्यक्त गरे । यस कार्यमा गोरखा माविका प्राचार्य विजयमान जिएम र आफूले अवार्ड ग्रहण गर्दा गर्वको महसुस भएको उनले सुनाए ।
‘हामी सबैको लगनशीलताकै कारणले यो अवार्ड हामीले पाएका हौँ, त्यस दिन म निकै खुसी भएको थिएँ । मेरो पहिलो खुसी त्यही अवार्ड पाउँदाको हो’ उनले भने । विसं २०४५ सालमा तुलसीपुर–६ मा बुबा लोकबहादुर डाँगी र भुमा डाँगीको माइलो छोरोको रूपमा जन्म लिएका डाँगीले अर्को खुसी आफू शिक्षण पेशामा लागेर हजारौँ विद्यार्थीहरूलाई शिक्षाको ज्योति बाँड्दाको भएको बताए । उनले आफूले पढाएका विद्यार्थीहरू अहिले विभिन्न पेशा व्यवसायमा रहेको भन्दै खुसी व्यक्त गरे ।
‘मेरो अर्को खुसी मैले पढाएका विद्यार्थीहरूको प्रगति हो, मैले पढाएका विद्यार्थीहरू विभिन्न सरकारी कार्यालयदेखि डाक्टर, इन्जिनियर भएका छन्’, उनले भने । डाँगीले आफूले पढाएका एक जना विद्यार्थी बुटवलमा डाक्टर भएर आएका र आफूले छोरालाई जाँच गर्न लैजाँदा त्यही विद्यार्थीले जाँच्दा औधी खुसी मिलेको सुनाए । ‘एक दिन म बुटवलमा छोरालाई औषधी, उपचार गर्न गएको थिएँ, त्यहाँ मैले पढाएको एक जना विद्यार्थी डाक्टर हुनुभएको रहेछ, त्यही डाक्टरबाट छोराको उपचार गराउँदा गर्व लागेको थियो’, उनले भने ।
डाँगीले विभिन्न क्षेत्रमा रहेको आफूले पढाएकाहरूलाई भेट्दा र सम्झँदा निकै खुसी लाग्ने गरेको सुनाए । सानो छँदा चित्रकलामा बढी रूचि राख्ने भएकाले चित्रहरू भित्तामा टाँस्ने र पढाइमा बढी रूचि राख्ने डाँगीले शिक्षा नै जीवनको ठूलो धन भएको बताए । उनले जीवन के हो र जीवनमा कस्ता काम गर्दा समाजमा आफूलाई चिनाउन सकिन्छ ? भन्ने सधैँ हजुरबुबा रेबहादुर डाँगीले प्रेरणा र हौसला दिने गरेको भन्दै खुसी व्यक्त गरे । उनले स्व हजुरबुबाले धेरैजसो रामायणमा भएका श्लोकहरू गाएर टेप रेकर्ड गर्दा खुसी हुने गरेको कुरा सुनाए ।
‘मैले हजुरबुबाले भनेका श्लोकनहरू घरमा आएका पाहुनालाई सुनाउने गर्थेँ, मलाई त्यो कुरा ताजै जस्तो लाग्छ’ उनले भने । महेन्द्र बहुमुखी क्याम्पसबाट बिएस्सी र काठमाडौंबाट व्यवसायी प्रशासन विषयमा एमविएस गरेका डाँगीले गरिबी निवारण कोषअन्तर्गत प्यूठान जिल्ला स्थित टिकुरी सक्रिय युवा समूहमा कार्यक्रम संयोजकको रूपमा करिब दुई वर्ष काम गरेको अनुभव सुनाए । उनले त्यहाँ विपन्न गरिबहरूलाई आय आर्जनका लागि लगानी गरेको भन्दै उनीहरूको जीवन परिवर्तन भएको देख्दा खुसी लागेको सुनाए ।
‘त्यहाँका गरिब विपन्नलाई हामीले संस्थाबाट धेरै सहयोग गर्ने अवसर मिल्यो, सानो सहयोगले जीवन धेरैको परिवर्तन भएको छ, म त्यसमा पनि खुसी छु’ –डाँगीले भने । त्यस्तै तुलसीपुर नगर जेसीजका प्रवक्ता समेत रहेका डाँगीले जेसीजमा लागेर नेतृत्व, व्यक्तत्व विकासका साथै विभिन्न सामाजिक अभियानमा लागेर सेवा गर्न पाउँदा पनि खुसी भएको सुनाए । ‘जेसीज जस्तो संस्थामा लागेर विभिन्न कार्यक्रमको संयोजको भूमिका मैले पूरा गर्न पाए यसमा पनि म खुसी छु’, डाँगीले भने ।
उनले विभिन्न व्यक्तिहरूलाई सहयोग र रक्तदान जीवन दान भनेजस्तै रक्तदान कार्यक्रमहरू गर्दा खुसी लाग्ने गरेको सुनाए । त्यस्तै अन्तर्राष्ट्रिय संस्था एमनेष्टी इन्टरनेशनल ग्रुप ६६ दाङको संयोजक डाँगीले मानव अधिकारको क्षेत्रमा काम गर्न पाउँदा अर्को खुसी मिलेको सुनाए । उनले जुनकुनै संस्थामा होस्, पाएको जिम्मेवारी अनवरत रूपमा खटिएर सफल बनाउनतर्फ अग्रसर हुन पाउँदा आफूलाई खुसी लाग्ने गरेको सुनाए । ‘जीवन सिकाइ हो भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै काम पाउँदा आफू खुसी हुनेगरेको छु’ –डाँगीले भने ।
त्यस्तै लायन्स क्लव अफ दाङको सदस्य भएर मानवीय सेवा गर्न पाउँदा पनि आफू खुसी भएको सुनाए । त्यस्तै नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाको नगर सदस्यमा आफूले चुनाव जित्दा अर्को खुसी प्राप्त गरेको सुनाए । त्यसका साथसाथै नगर प्रवक्ताको जिम्मेवारी पाउँदा आफू खुसी भएको सुनाए । शिक्षण अन्य सामाजिक काम सँगसँगै बुबा लोकबहादुर डाँगीको प्रभावले राजनीतिमा प्रवेश गरेको बताए ।
‘मलाई गएको चुनावमा अत्यधिक मतले सबैले जिताउनुभयो, यसमा पनि म खुसी छु’, उनले भने । डाँगीले विसं २०६९ सालमा मञ्जु वलीसँग वैवाहिक जीवनमा बाँधिएको र दुइवटा छोराहरू जन्म भएको भन्दै खुसी व्यक्त गरे । डाँगीले आप्mनो प्रगतिमा घरपरिवार, श्रीमती, आमाबुबा र दाइको सहयोग मिलेको भन्दै खुसी व्यक्त गरे । ‘हाम्रो संयुक्त परिवार छ, बुबाले राजनीति, दाइले शिक्षण संस्था चलाउनुभएको छ, एउटै छानामुनि ठुलो परिवारसँग बस्दा पनि खुसी मिल्ने रहेछ’ उनले भने ।
डाँगीले सामाजिक सेवा र शैक्षिक क्षेत्रमा बाढन पाउँदा आफू खुसी भएको सुनाए । तुलसीपुर–६ निवासी डाँगी गोरखा मावि तुलसीपुरका संयोजक, गोरखा मोडेल कलेज तुलसीपुरका शेयर सदस्य, एमनेष्टी इन्टरनेशनल ग्रुप ६६ दाङका संयोजक, युवा सञ्जाल अभियान दाङका संयोजक तथा नेपाली कांग्रेस नगरका प्रवक्ता हुन् ।
प्रस्तुती : बालाराम खड्का