आफ्नै अनुहारमा अविर दल्दा …

गते मलाई याद भएन, सन् २००१ को सेप्टेम्बर महिना । मलाइ म आबद्ध पार्टीको तर्फबाट अन्तर्राष्ट्रिय युवा सम्मेलनमा भाग लिन छानिएको थियो । हामी एयरपोर्टमा पुग्यौँ । मलाई त्यहाँ पुग्नु अघि तात्कालीन राजा ज्ञानेन्द्रले देशको इज्जत राख्नु भन्दै सुझाउनुभएको थियो, उहाँसँगको दर्शन भेटमा ।

यसपछि हामी दक्षिण अफ्रिकामा आयोजना हुने भनिएको विश्व युवा तथा विद्यार्थी सम्मेलनमा जानका लागि एयरपोर्ट पुग्यौँ । मेरा आदरणीय नेता राजेश्वर देवकोटाले नेपाली टोपी लगाइदिएर मलाई बिदाई गरी प्लेनमा चढ्न संकेत गर्नुभयो । हामी त्यो भीमकाय जहाज चढ्यौँ । पहिलो पटक थियो मेरो हवाई यात्रा । जहाज चढ्नेबित्तिकै आश्चर्य र रोमाञ्चक लागेको थियो । एयर होस्टेजले सिट सिकाइदिए । अर्को सिटमा बसेका ओमनका नागरिकले मलाई जहाजमा सिटबेल्ट बाँध्न र चम्चा काँटाले खाना खान सिकाएका थिए ।

हामी प्लेनमा बसिरहँदा आकाशमा स्वतन्त्र पंक्षीझै उडिरहेको अनुभूति हुन्थ्यो । जहाजभन्दा अघि–अघि मेरो मन उडेको थियो, अफ्रिकाका लागि । जहाजमै म्यूजिक सुन्नका लागि मैले पहिलो पटक एयरफोन प्रयोग गर्न त्यही जहाजमा सिकेको । जहाज सभ्यता पनि त्यहीँ सिकेको थिएँ । लेखिदिनुहोला मेरो सबैभन्दा अविस्मरणीय खुसी खाडी एयरलाइन्सको जेट विमान, जुन मैले पहिलो पटक चढेको थिएँ ।

हो, मेरा आदरणीय नेता राजेश्वर देवकोटाले त्यसबेला भनेका थिए ‘बाबु धनीको नोकर बन्नुभन्दा गरिबको मालिक हुन वेश हुन्छ ।’ सायद विदेश यात्रामा पठाएको उतै लुकेर छिपेर नबसोस्, देशको गरिमा बढाएर नेपाल फर्कोस् भनेर उनले त्यसो भनेका रहेछन् । पछि मात्र यसको अर्थ मैले बुझेँ, किनकि यस अघि यस्तै सभा सम्मेलनमा विदेश जानेहरू उतै हराउने परम्परा पनि थियो, सायद । भर्खरै क्याम्पस पढिरहेकाले मलाई त्यो बेला अंग्रेजी फरररर बोल्न आउँथ्यो । त्यसैले पनि यात्रा केही रोमाञ्चक नै बन्यो ।

त्यसपछि हामी बहराइन झरी युके पुग्यौँ, त्यहाँ विश्वकै सबैभन्दा ठूलो विमानस्थल हेत्रो विमानस्थलमा अर्को खुसी थपियो । हेर्दै आँखाले नभ्याउने समथर विमानस्थल कति विशाल थियो, कति ठूला जहाजहरू । हाम्रा आँखा हराउँथे, विमान हेर्दाहेर्दै । हामी जहाजबाट ओर्लंदा कसरी जमिनसम्म आइपुग्यौँ पत्तै भएन । किनकि हामीलाई जहाजमै छु भन्ने अनुभूति भइरहेको थियो । त्यसपछि स्पेनमा दुई रातको बसाइँले पनि हामीलाई विश्व सभ्यता सिकायो ।

स्पेनको विमान स्थलमा तीर्खा लाग्यो तर हामीसँग डलर थिएन । त्यहाँ त डलर हालिदिएपछि पानी झर्ने सिस्टम रहेछ । संयोगले मैले खल्ती छामे । एउटा ढ्याक भेटियो, लर्डबुद्ध र माउन्ट एभरेष्टको चित्र भएको । मैले त्यो सिक्का विमानस्थलका सेक्युरिटी गार्डलाई दिएँ । त्यसवापत उनले मलाई थुप्रै सिक्का दिएका थिए । केही सिक्का प्रयोग गरी मनभरि पानी पियौँ । दुई÷चारवटा सिक्का बचेका थिए, ती अझै पनि मसँग सुरक्षित छन् ।

त्यसै प्रसंगमा अल्जेरियाको अर्को अविस्मरणीय क्षण पनि सुनाउँछु । जहाँ हामीले सामुद्री यात्रा गरेका थियौँ । समुद्रमा बोटिङ गरिरहँदा छालहरूले कहीले हामीलाई ओल्लो किनारा त कहिले समुद्र बीचमा पु¥याउँथ्यो । त्यहाँ हामीले एउटा अटोमेटिक मोवाइल घर पनि देखेका थियौँ । जुन घर कहिले कता लगेर राखिन्थ्यो त कहिले कता लगिन्थ्यो, टायरको सहायताले त्यति ठूलो घर सरिरहेको दृश्यले पनि हामीलाई निकै कौतुहल बनाएको थियो । त्यही क्रममा हामीलाई विश्वकै सबैभन्दा ठूलो सहारा मरभूमिमा अल्मलिने पनि अवसर मिलेको थियो । त्यो मरूभूमिको वर्णन म अहिले शब्दमा गर्न भ्याउँदैनँ ।

हाम्रो समूहमा म, एमाले नेता गोकर्ण विष्ट, मालेका उदयराज पाण्डे, राप्रपाका युवा नेता भूवन पाठक, जनमोर्चाका नारायणकाजी श्रेष्ठ र सद्भावनाबाट विकास विष्टले सँगै तय गरेका थियौँ, त्यो यात्रा । यात्राका थुप्रै वर्णन अहिले नगरौँ । किनकि संसार धेरै ठूलो र विचित्रको रहेछ । अर्थात्, म्रमणले कहीँकतै थकान महशुस नहुने । माथि उल्लिखित खुसीका क्षणहरू हुन् तुलसीपुर निवासी राप्रपा केन्द्रीय सदस्य तथा सूचना साप्ताहिकका प्रकाशक÷सम्पादक वंशिकुमार शर्माका ।

त्यसो त शर्माका अन्य धेरै अविस्मरणीय खुसीका क्षणहरू पनि छन् । उनको खुसी राजनीतिक जीवन र राजनीतिक नियुक्तिसँग पनि जोडिएको छ । वि.सं. २०६२ सालमा जनकपुरमा अञ्चल प्रशासन कार्यालयमा जागिरे नियुक्त हुँदा उनको सबैभन्दा पहिलो राजनीतिक जागिरको सुरुआत भएको थियो । यसलाई पनि उनले अविस्मरणीय खुसीको क्षणका रूपमा सम्झन्छन् । त्यसपछि उनी दाङ जिल्लामै दाङ जिल्ला सुकुम्बासी समस्या समाधान आयोगको सदस्य नियुक्त हुँदा पनि धेरै साथीभाइलाई मिठाइ बाँडेको स्मरण गरे । त्यो बेला उनी आयोगका प्रवक्ता समेत नियुक्त भएका थिए ।

अविस्मरणीय क्षणहरूको प्रसङ्ग कोट्याउँदा उनले ७ कक्षाको जिल्ला स्तरीय परीक्षामा पाएको राम्रो नतिजालाई पनि लिन्छन् । त्यो बेला उनी तुलसीपुरको महेन्द्र हाई स्कूलमा पढ्थे । कक्षा७ को परीक्षा जिल्ला स्तरीय हुन्थ्यो । स्कूलबाट त्यो परीक्षामा ३ सय ४५ जना सहभागी भएकोमा २७ जना मात्र उत्तीर्ण भएका थिए । ‘जिल्ला स्तरीय परीक्षामा म २७ जना मात्र उत्तीर्ण हुनेमा परेको थिएँ’, शर्मा भन्छन्, ‘त्यो पनि मेरो अविस्मरणीय खुसी नै हो ।

त्यसपछि वि.सं. २०४६ साल पुसमा भएको एसएलसी परीक्षाको नजिता सुन्दा । असारसम्म धैर्य गरेपछि नतिजा प्रकाशित भएको थियो । रेडियोले समाचार फुकेको भोलिपल्ट मात्र गोरखापत्र तुलसीपुरमा आइपुगेको थियो । मैले १५ रूपैयाँ तिरेर रिजल्ट हेरेको थिएँ, उत्तीर्ण भएछु । ‘त्यो बेलाको एसएलसीलाई त आइरन गेटका रूपमा लिइन्थ्यो नि, त्यसैले यो पनि मेरो अविस्मरणीय खुसी हो’—वंशिले भने । किनकि गोरखापत्र हेरेपछि म आफैले आफ्नो अनुहारमा अविर किनेर दलेको थिएँ ।

जीवन खुसी मात्र होइन, दुःखको पनि मिश्रण हो । मेरो सबैभन्दा दुःखको क्षण पनि स्मरण गराउन चाहन्छु । राप्रपामा विद्यार्थीकालदेखि नै राजनितिमा जोडिएको थिएँ । मलाई राप्रपामा लाग्ने प्रभाव पारिवारकै हो । मेरो बुबा प्रेमनारायण शर्मा राप्रपाका नेता हुनुहुन्थ्यो । जो सल्यानबाट राजनीति गर्नुहुन्थ्यो । उहाँ नेपालको राणा शासनको विरुद्धमा वि.सं. २००४ सालमा जयतु संस्कृत आन्दोलनमा गिरफ्तारीमा परी देश निकाला गरिएको थियो । उहाँ बनारस पुगिसकेपछि विपीले नेतृत्व गरेको नेपाली कांग्रेसको संस्थापक सदस्य पनि हुनुभएको थियो । उहाँले वि.सं २०५४ सालमा नेपालमा पहिलो पटक विद्यार्थी आन्दोलनमा सहभागी भएको र देशनिकाला भएको उपलक्ष्यमा काठमाडौंको तीनधारा पाठशालामा एउटा कार्यक्रमको आयोजना गरी राजनीतिक सम्मान समेत गरिएको थियो ।

तर बेखुसी यो मानेमा छु कि एउटा अविस्मरणीय घटना तपाईंलाई स्मरण गराउन चाहन्छु । मैले बुबालाई मृत्यु अघि देवघाट पु¥याउन सकिन । उहाँको निधन वि.सं २०६६ फागुन २३ गते भएको थियो । उहाले ६ महिना अघि नै मृत्यु घोषणा गर्नुभएको थियो । र, वित्नुभन्दा अघिल्लो दिन पनि म भोलि वित्दैछु, मलाई प्राण छँदै देवघाट पु¥याउनु भनेर भन्नुभएको थियो । तर हामीले सुरुमा त संवेदनशील भएर सोचेनौँ तर पछि त्यहाँ लैजाँदालैजाँदै उहाँको बाटोमै देहान्त भयो । उहाँलाई त्यो सेवा दिन नसकेकोमा म निकै बेखुसी छु । हो जीवन सुख र दुःखको संयोग रहेछ ।

वि.सं २०२९ माघमा साविक टरिगाउँको वनगाउँमा जन्मिएका शर्माले प्राथमिक शिक्षा गाउँकै स्कूल पातु वनगाउँबाट सकाए । महेन्द्र मावि तुलसीपुरबाट एसएलसी पास गरेपछि आइकम र विकम घोराहीको महेन्द्र बहुमुखी क्याम्पसबाट सकाए । त्यसपछि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट एमबिए उत्तीर्ण गरे । हाल उनी सञ्चार उद्यमीसँगै राप्रपा नेपालका केन्द्रीय सदस्यको भूमिकामा छन् । आउँदै गरेको राप्रपाको एकता महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्यकै उम्मेद्वार बन्ने सोचमा छन् ।

प्रस्तुती : खेमराज रिजाल