तिजमा साडी, दसैंमा मासु, तिहारमा रोटी हेरेर, सबै पर्व गए ऋणले घेरेर

मधुसूदन सुवेदी

हामी समस्त नेपालीका महान् चाड तीज, दसैँ, तिहार, छठ आदि हुन् । यी पर्वहरुले आफ्नै संस्कार बोकेका छन् । यी पर्वहरुले आफ्नै संस्कृति बोकेका छन् । यी पर्वहरुले आफ्नै मूल्य र मान्यता बोकेका छन् । यी पर्वहरुले आफ्नै गरिमा र गौरव बोकेका छन् । यी पर्वहरुले आफ्नै परम्परा बोकेका छन् । यी पर्वहरुले आफ्नै धर्म र कर्म बोकेका छन् ।

यी पर्वहरुले आफ्नै सत्मार्ग र सत्विचार बोकेका छन् । यी पर्वहरुले आफ्नै कला र गला बोकेका छन् । यी पर्वहरले आफ्नै अर्थ र तर्क बोकेका छन् । नेपाली चाडपर्वहरु आफैमा अद्वितीय अविनाशी र अपरम्पार छन् । यिनको महिमा वेद, पुराण, शास्त्र तथा उपनिषदहरुमा पनि व्याख्या र चर्चा भएको पाइन्छ । पर्वले दिने आनन्द कसैले र कोहीले पनि दिन सक्दैन । यस्तो परमआनन्ददायक पर्वहरु आजको जटिल र कुटिल यक्ष प्रश्न हो ।

पर्व धान्न, पर्व मान्न, पर्व जान्न र पर्व धान्न केकस्तो गतिविधि तथा क्रियाकलाप हुँदैन ? हामीले विवेचना गरेका छौँ । हामी सधैँ भन्छौा ‘तीज आयो–गयो, दसैँ आयो गयो, तिहार आयो गयो, अरु पनि यस्तै आए र गए ।’ तर हामीले कहिल्यै भनेनौँ र समीक्ष गरेनौँ कि तीज कसरी मनाइयो ? दसैँ कसरी मनाइयो ? तिहार कसरी मनाइयो ? छठ कसरी मनाइयो ? र अरु पर्वहरु कसरी मनाइए ? मनाउनुको अर्थ आफू डामिनु, पोलिनु, जल्न, तड्पिनु र भौतारिनु हो । आजका पर्वले हामीलाई के लिएर आउँछन् ? के दिएर जान्छन् ।

थाहा छ ? जुनसुकै पर्वले पनि आफू आउँदा सबैलाई दिने र बाँड्ने कुरा भने खुसी, उत्साह, उमंग, उल्लास, मनोरञ्जन, भेटघाट तथा आदान–प्रदान हो । जसरी पर्व आउँछन् त्यसरी नै जानुपर्ने हो र हामीले विदाइ पनि गर्नुपर्ने हो । तर त्यसो भएको छैन । पर्व आउँदा पनि विकृति भित्रिएको छ भने पर्व जाँदा पनि विसंगति भित्रिएको छ । पर्व आउँदा जुन समयमा गर्नुपर्ने हो त्यो समयलााई हेक्का नराखेर महिना दिन अघि (१५) दिन अघि वा एक साता अघि नै हामी आवश्यकताभन्दा बढी तडकभडकको शैली अपनाउँछौँ ।

उदाहरणको लागि तिजमा साउनबाटै दर खाने नाममा विभिन्न होटेल तथा पाटीप्यालेसमा गएर अनावश्यक परिकार खाएर मोक्ष र शैलीमा तिजको छनक् दिन्छौँ । तिजका दिन पनि फेसन र डिजाइनलाई केन्द्रमा राखेर महँगा–महँगा साडी, धोती, चोलो, गरगहना लगाएर आम्बरी शैलीमा आफूलाई प्रस्तुत गर्ने जमर्को गर्छौँं । तिज पर्व साडी लाउने र साडी देखाउने, प्रदशीनीका रुपमा चिनाउन थालिएको छ ।

त्यस्तै सबै दुईखुट्टे पक्षी तथा चारखुट्टे जनावर काटेर, मारेर सबैका मासु खाएर भिœयाउँछौँ, दसैँ । दसैँलाई मासुको पर्वका रुपमा विकसित गरिसकेका छौँ । मासुबिनाको दसैँ कल्पना नै गर्न सकिन्न । सबैथरिका मासु घरमा ल्याएर मज्जा गरेर पोको पारेर, डल्लो पारेर, थुप्रो पारेर मात्र हामीलाई दसैँको घाम मिल्दछ । मानौँ दसँै पर्व मांसाहारीले मात्र मान्ने हो जस्तो लाग्छ । थाली सुकेको छ । मासुसँगै जोडिने झनै पवित्र गंगा समानको रसपानमा दसैँ त नभई भएन । मासुको सितन भएपछि रक्सीको झोल त चाहियो ।

यसरी दसैँ पनि मासु र मदिराको पर्व बन्दै छ र बनाइँदै छ । तिहार पनि आफैमा अछूतो छैन । यो पर्व आउनुभन्दा १०औँ दिन अगाडि तेलवान् घरमा छुटेको र टुटेको हुँदैन । सिंकामारी, असाृ, जुम्ली अर्सा, फिनी, डब्बी रोटी, ठोकनी, पुडी, बाबर, खुर्मालगायत विभिन्न आकार–प्रकार, बुट्टा शैली छाँटकाँट, डिजाइन र बानावटले सजिएका राता, पहेंला, सेता, सुन्तला रँगका रंगीन रोटी देख्दा हेर्दा लाग्दै छ यो पनि घेरेर गरिने खेल हो । एक चिल्लो रोटी सधैँका लागि र सबैका लागि बर्जित छ । त्यसमा पनि अखाद्य रँग के हो र कुन हो ?

खाद्य रँग के हो र कुन हो ? थाहै छैन । आँखालाई सोधेर र जिभ्रोलाई घोटेर बनाएको परिकारले आन्द्रा र भुँडीले विकार गर्छन् वा गर्दैनन् ? त्यो पनि थाहै छैन । हेर्दा झिलीमिली चाहियो टोक्दा घिसीमिसी चाहियो, त्यति भए पुगउ । तारेको, छानेको, झानेको, फ्राइ गरेको मैदा, घ्यू, तेल, चिउडी, डाल्डा के हो के परवाह र वास्ता नगरी पाक्ने र पकाउने नाममा अनेकौँ तेलको प्रयोग स्वास्थ्यका लागि के होला ? यतिमा मात्रै सीमित हुने भए त हुन्थ्यो । यो त केवल देखाएको मात्र हो । अन्तिममा नतिजा के हुन्छ ? थाहा छ ? तिजमा साडी पनि लाइयो, गहना पनि छाइयो, दसैँमा मासु पनि खाइयो, तिहारमा रोटी पनि चपायो तर यो सबै जाँदा र आउँदा शिरदेखि पाउँसम्म ऋणैऋणको जालो पनि त लाइयो ।

सबैभन्दा घातक यही ऋणको जालो हो । यो जालोले जतिलाई भार त उठायो । कतिलााई खाडी मुलुक पठायो । कतिलाई तेस्रो मुलुक पठायो, कतिलाई बन्धक बनायो । कतिलाई नेकर बनायो । कतिलाई चाकड बनायो । कतिलाई गुलाम बनायो । कतिलााई दहे व्याधी बनायो । कतिलाई तस्करी बनायो । कतिलाई भ्रष्टाचारी बनायो । कतिलाई जाली बनायो । कतिलार्य छली, कपटी बनायो । कतिलाई हत्यारा बनायो ।

कतिलाई सर्वहारा बनायो । कतिलाई सडकछाप बनायो । के हाम्रा धार्मिक पर्वहरुले दिन खोजेको सत्य कुरा यही थियो त ? यदि थिएन भने भयो यो कसरी ? यो सबैको परिणाम हो । हामीले हामीलाई हामीले आफूलाई चिन्न नसक्नुको कारण । यदि हामीले हाम्रो स्वास्थ्य र हाम्रो शान्तिलाई ख्याल गरेर पर्व मनाउँथ्यौँ भने यो सबै टरेर जाने थियो ।