जन्मभूमीमा पोखिए केसी …

गोरक्ष समाचारदाता

दाङ, १३ कार्तिक । दाङको भूगोलमा जन्मेर अमरिकाको भूगोललाई कर्मभूमि बनाएका खिम केसी शुक्रवार आप्mनै जन्मभूमिमा उभिएर दजर्न रचना वाचन गरेका छन् । राप्ती साहित्य परिषद्ले उनको लागि आयोजना गरेको एकल वाचन कार्यक्रममा स्रष्टा केसीले नेपाली, अंग्रेजी र थारू भाषामा कविता र गजल प्रस्तुत गरेका थिए ।

नियात्राबाट साहित्य लेखन थालेका केसीले पछिल्लो चरणमा कविता, गीत र गजलमा संक्रिय छन् । विशेष गरेर गजल विधामा उनको बढी लगाव छ । कविताबाट एकल वाचन सुरु गरेका केसीले आधा दर्जन बढी रचना वाचन गरेका थिए । उनले लेखेको थारू भाषाको ‘बठिनिया’ र अंग्रेजी भाषाको ‘व्यूटी’ कविता समेत प्रस्तुत गरिएको थियो ।

उनले लेखेको थारू भाषाको कवितामा साहित्यकार केवी चौधरीले र अंग्रेजी भाषामा लेखेको कविता बिमल भण्डालीले वाचन गरेका थिए । पात्र कविताबाट वाचन सुरु गरेका केसीले प्रेमिल कविताको रूपमा प्रतिविम्बित ‘बठिनिया’ कविता यस्तो छ ः

आझ ‘अचानक’ काहाँसे टुँहार
बहुट याद आइल
कसम कुछु ठाहाँ नै हो
माघक् डिन गुरी–गुरी जाँर
अन्डिक रोटी ओ पुवा
डोनी भर–भर
मेरमेह्रिक ‘परिकार’
मच्छी, घोङ्घी, बक्का ओ ढिक्री
बहुट याद आइल ऐ बठिनिया !

त्यो कविताले शान्त बनेको दर्शक दीर्घालाई समेत उत्साहित बनाएको थियो । यसैगरेर कार्यक्रममा उनले यस्तो गजल समेत वाचन गरेका थिए :

रातीमा घाम खोजेर कहाँ पाउँछौ ?
सुतेर दाम खोजेर कहाँ पाउँछौ ?
खेतीपाती सबै बाँझै राखेर बसेपछि,
घरमा माम खोजेर कहाँ पाउँछौ ?

राप्ती साहित्य परिषद दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवं वरिष्ठ साहित्यकार गिरिराज शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा समालोचक डा अमर गिरी, नारायण नेपाल, पुरूषोत्तम खनाललगायतका साहित्यकारहरूको सहभागिता थियो । परिषद्का सहसविच प्रवल विष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव प्रकाश केसीले गरेका थिए ।