मेट्रो कलेजमा चालकविनाको गाडी

खेमराज रिजाल
तुलसीपुर, १९ असोज । अटोमेटिक सेनिटाइजरमा हात पखाल्दै त्यहाँ प्रवेश गरिरहँदा त्यहाँ चालकविनाको गाडी दौडिरहेको थियो, सडकमा होइन टेवुलमा । गाडी उत्पादन कम्पनीले बनाएको होइन, तुलसीपुर बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स विषय अध्ययन गर्दै गरेका विद्यार्थीहरुले निर्माण गरेको हो ।

हामीले ल्यापटपको सहायता र गुरुहरुको प्रशिक्षणबमोजिम एउटा सफ्टवेरमा आधारित ड्राइभरलेस कार बनाएका हौं, प्रयोगात्मक अभ्यास अन्तर्गत’, सोही कलेजमा दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी अशोक भण्डारीले पत्रकारलाई व्रिफिङ गर्दै भने । कुनै पनि सरुवा रोगको संक्रमणको समयमा पनि यस्तो साधनबाट बिरामीलाई औषधिसमेत पु¥याउने काममा यस्तो स्वचालित कार अर्थात क्यारियरको प्रयोग हुनसक्ने उनको अभिव्यक्ति थियो । कोरोना संक्रमणका बेला केही अस्पतालहरुमा यस्तो क्यारियरको प्रयोग समेत भइसकेको छ ।

सोमवार तुलसीपुर मेट्रो कलेजले इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रीकल शैक्षिक कार्यक्रम र फुड एण्ड डेरी टेक्नोलोजी शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले आफूले सिकेका कुराहरुलाई व्यवहारमै उतारेका छन् । उनीहरुले निर्माण गरेका सामग्री र परिकारहरु तुलसीपुर उपमहानगरपालिकामा रहेका अन्य विद्यालयका विद्यार्थीहरुले समेत अवलोकन गरेका थिए । प्रदर्शनीमा इलेक्ट्रिकल समूहका विद्यार्थीहरुले सरुवा रोगको संक्रमणको समयमा बोतल नछोई सेनिटाइजर स्वतालितरुपमा आउने मेसिन पनि निर्माण गरे ।

‘हाम्रो मेहनतको मूल्यबाहेक करिब दुई हजार ५ सय मूल्य बराबरका सामान खरिद गरी यो मेसिन बनाएका हौं, यसको बजार मूल्य कम्तीमा दश हजार भन्दा बढी पर्नसक्छ’, अटोमेटिक सेनिटाइजर मेसिन बनाउने समूहका विद्यार्थी मोहनलाल कुमाईले भने । विद्यार्थीहरुले आपतकालीत उद्धारका लागि सर्भिलेन्स बोट निर्माण गरेर प्रदर्शनीमा राखिएको थियो । पानी ट्यांकीमा स्वचालित रुपमा पानीको मात्रा मापन गर्न सकिने मेसिनदेखि गेश्चर फ्लोइङ रोवोट समेत निर्माण गरेर प्रदर्शनीमा राखेका थिए ।

थरीथरीका व्यञ्जन

डेरी एण्ड फुड टेक्नोलोजीमा अध्ययनरत विद्यार्थी सुनिता नेपालीले दूधबाट बनेका खुवा, गुदपाक र पुस्तकारी प्रदर्शनीमा राख्दै यी परिकार बनाउने तौरतरिका व्रिफिङ गरिरहेकी थिइन् । अर्का विद्यार्थी सन्तोष केसीको समूहले ननभेज फुट आइटम प्रदर्शनी स्टलमा राखेको थियो । बजारमा ५० रुपैयाँ प्रतिरोल पर्ने चिकन ससेजलाई उनीहरुले ३० रुपैयाँ प्रतिरोलमा बिक्री गर्ने पनि तयारी गरिरहेको बताएका थिए ।

‘प्रयोगात्मक अभ्यास भएकाले ६ किलो मात्र बनाएका छौं, अर्डर आएको अवस्थामा व्यवसायिकरुपमा पनि ससेज बनाएर बिक्री गर्ने हैसियत राख्छौं’, सन्तोषले भने । हाल पश्चिम नेपालमा ससेज बनाउने उद्योग बुटवल र नेपालगञ्जमा मात्र रहेको बताउँदै उनले अध्ययन पूरा गरेपछि सायद आफूले दाङ जिल्लामै ससेज उद्योग खोल्ने समेत अभिव्यक्ति दिए । आफूहरुले बनाएको ससेज प्रिजर्भेटिभ राखेको अवस्थामा ६ महिनासम्म उपभोगका लागि योग्य हुने पनि उनले बताए । सँगै बास्नादार मिटवलका प्याकिङहरु थिए । जाम, रसवरी, पुष्टकारी, पनिरलगायतका दूधजन्य परिकारहरु प्रदर्शनीमा राखिएका मात्र थिएनन्, त्यसको स्वादसमेत अवलोकन गर्न पुगेकाहरुलाई विद्यार्थीहरुले उपहारस्वरुप चखाएका थिए ।

तुलसीपुर बहुप्राविधिक शिक्षालयमा हाल फुड एण्ड डेरी टेक्नोलोजी, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स तथा डिप्लोमा इन एग्रीकल्चर समेतका तीन बर्षे शैक्षिक कार्यक्रमहरु सञ्चालन हुँदै आएको सो शिक्षालयका प्राचार्य बसन्त आचार्यले बताएका छन् । यी सबै कार्यक्रमका लागि जम्मा शुल्क ९६ हजारको हाराहारीमा लाग्ने तथा गरिब र जेहेन्दार विद्यार्थीहरुलाई वडा कार्यालयहरुको सिफारिसमा केहीलाई छात्रबृत्ति समेत प्रदान गरिँदै आएको छ ।

तुलसीपुर उपमहानगरपालिकाभित्रकै स्थानीयबासीलाई भने विशेष छुटको समेत व्यवस्था गरिएको छ । शिक्षालयले विद्यार्थीहरुको सुविधालाई ध्यानमा राखी नगरपालिका क्षेत्रका केही आवश्यक रुटसम्म बस सेवासमेत उपलब्ध गराउँदै आएको छ ।