दाङ,१३ असोज । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ दाङले दुई महिने संगठन निर्माण तथा पुनर्जागरण अभियान सञ्चालन गर्ने भएको छ । युवा संघ दाङको मंगलवार घोराहीमा बसेको बैठकले संघको केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा दुई महिने संगठन निर्माण तथा पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
युवा संघ दाङका अध्यक्ष प्रेम बुढाको अध्यक्षता तथा नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष सुरामणी बेल्वासेको प्रमुख आतिथ्यतामा बसेको बैठकले अभियान सफल बनाउनका लागि जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा संयोजक समेत तोकेको छ ।
दुई महिने संगठन निर्माण तथा पुनर्जागरण अभियानलाई सफल बनाउनका लागि बैठकले प्रतिनिधिसभा क्षेत्र नं. १ मा सचिवालय सदस्य हुर्मत गिरी, क्षेत्र नं. २ मा सचिवालय सदस्य पुष्पा विक ‘गिरु’ र क्षेत्र नं. ३ मा उपाध्यक्ष जविन रानालाई जिम्मेवारी तोकेका जिल्ला सचिवालय सदस्य तथा पिपुल्स भोलिन्टेयरका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिएका छन् । बैठकले अभियानलाई सफल बनाउनका लागि युवा संघमा आवद्ध सम्पूर्ण युवाहरुलाई आ–आफ्नो तहबाट लाग्न समेत आग्रह गरेको छ ।