खेमराज रिजाल
दाङ, १३ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले मंगलवार आफ्नै प्राङ्गणमा तेस्रो बार्षिकोत्सव मनाइरहँदा कुनै हर्सोल्लास देखिएन । प्रतिष्ठानका पदाधिकारी, प्रहरी प्रमुख, नेपाली सेनाका गुल्मपति, प्रतिष्ठान सल्लाहकार समितिका संयोजकसहित थोरै सदस्य, दुई÷तीन जना पत्रकार तथा केही कर्मचारी र चिकित्सकहरुबीचकै उपस्थितिमा तेस्रो बार्षिकोत्सव सम्पन्न भयो ।
बार्षिकोत्सवमा जिल्लाका संघीय तथा प्रदेश सांसदहरु देखिएनन् । प्रमुख राजनीतिक दलका नेताहरुको पनि उपस्थिति थिएन । स्थानीय पालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, नागरिक समाज तथा उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको समेत उपस्थिति देखिएन । बार्षिकोत्सवमा झिनो उपस्थितिबीच उत्कृष्ट चिकित्सकहरु तथा कर्मचारीहरु र बार्षिकोत्सवका अवसरमा आयोजित खेलकुद प्रतियोगिताका उत्कृष्टहरुलाई सम्मान तथा पुरस्कार दिइयो ।
अघिल्लो बार्षिकोत्सवमै चालु शैक्षिक सत्रदेखि सञ्चालनमा ल्याइने भनिएका बीएस्सी नर्सिङ शैक्षिक कार्यक्रमसमेत सञ्चालन नभएको अवस्थामा यो बार्षिकोत्सवमा त शैक्षिक कार्यक्रमका सन्दर्भमा पदाधिकारीहरुले एक शब्द पनि उच्चारण गरेनन् । नत प्रतिष्ठानका लागि आवश्यक जग्गा प्राप्तिका विषयमा भएका प्रगतिका विषयमै आत्मसमीक्षा हुन सक्यो । बार्षिकोत्सवका अवसरमा बोलियो सञ्चालनमा आएको सिटीस्क्यान, आइसियु, आधुनिक ल्याव, उपयुक्त अप्रेशन थिएटर र आउँदै गरेको एमआरआई सेवाका विषयमा मात्रै । अस्पतालको भौतिक पूर्वाधारहरु कहाँ के थपिए वा थपिने क्रममा छन् भन्ने विषयमा कुनै शब्द उच्चारण गरिएन ।
बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. संगीता भण्डारीले सुरुमा सोचेजस्तो बजेट नआएको कारण अपेक्षित उपलब्धि हासिल हुन नसकेको तथा अर्को बर्षदेखि कोभिड–१९ को संक्रमणले च्यापेका कारण अपेक्षित प्रगति हासिल हुन नसकेको अभिव्यक्ति दिइन् । प्रतिष्ठान डिजास्टर हव हस्पिटल भएकाले रिफरको संख्या अधिक कम रहेको तथा विस्तारित स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत २५ बेड थप भएको पनि उपकुलपति भण्डारीले बताइन् । उनले ट्रमा सेन्टर र आफ्नै व्लड बैंक सञ्चालनका लागि टेण्डर प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै चाँडै ६ सय बेडको हस्पिटल बनेपछि शैक्षिक कार्यक्रमहरु सञ्चालन हुने अभिव्यक्ति दिइन् ।
बार्षिकोत्सवकै अवसरमा सम्बोधन गर्दै प्रतिष्ठानका रेक्टर डा. बसन्त लामिछानेले प्रतिष्ठानमा स्वास्थ्य उपकरणदेखि अक्सिजन उपलव्ध गराउन समेत सक्रिय भूमिका निर्वाह गर्ने एक दर्जनभन्दा बढी दाताहरुको नाम उच्चारण गर्दै धन्यवाद दिए मात्रै । प्रतिष्ठानका आगामी कार्यक्रमका विषयमा रेक्टर लामिछानेले पनि केहि अभिव्यक्ति दिएनन् । प्रतिष्ठानका प्रमुख सल्लाहकार नारायण भुसालले आफूहरु लक्ष्यको नजिक पुगेको अभिव्यक्ति दिँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ठूलो उपलव्धि भनेको कोरोना भाइरसका संक्रमितहरुको पिसिआर परीक्षणको व्यवस्थापन तथा चाँडै सञ्चालनमा आउने भनिएको एमआरआई सेवा रहेको उल्लेख गरे ।
प्रतिष्ठानमा एक बर्ष त को आयो भन्नेमै अलमल भएकाले यो अवधिमा जनताको अपेक्षा अनुसारका काम हुन नसकेको पनि उनले बताए । पत्रकार दधिराम सुवेदीले प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुले मुस्कानसहितको सेवा दिन सकेको वा नसकेको भन्ने समीक्षाको विषय रहेको उल्लेख गरे । भात पकाउने भान्सामा सबथोक त छ, तर चामल छैनजस्तै भएको छ प्रतिष्ठान भन्दै उनले प्रतिष्ठानलाई पूर्णरुपमा चलायमान बनाउन अझै पनि क्रियाशील हुन आग्रह गरे । मन्तव्यको सुचीमा अरु कोही व्यक्ति परेनन् । कोरोना भाइरसको संक्रमणले होला कार्यक्रममा उत्साहजनक एवं प्रतिनिधिमूलक सहभागिता पनि देखिएन ।
प्रतिष्ठानले आफ्नो तेस्रो बार्षिकोत्सव मनाए पनि सोझो हिसावले प्रतिष्ठानले अहिले चार बर्ष पूरा गर्दैछ । जब प्रतिष्ठानका पदाधिकारी चार बर्षे कार्यकाल पूरा गर्दैछन् भने तेस्रो बार्षिकोत्सव कसरी भन्ने पनि सहभागीहरुको जिज्ञासा थियो । बार्षिकोत्सवको सहजीकरण प्रतिष्ठानका निर्देशक डा. प्रज्ञासिंह बस्नेतले गरेकी थिइन् । मेडिकल शिक्षाका अभियन्ता डा. गोविन्द केसीको सत्याग्रहसहितको आन्दोलन र यहाँका नेताहरुको अथक प्रयासले यहाँ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएर सञ्चालनमा आउँदा जिल्लाबासीमा जुन उत्साहमा दिपावली भएको थियो, समग्रमा उपलव्धि भने अर्थपूर्णरुपमा हासिल हुन सकेको छैन ।
प्रतिष्ठानको पहिलो बर्ष त को पदाधिकारी आए ? कसका पक्षका आए ? कसरी धपाउने भनेर कर्मचारीदेखि नागरिक आन्दोलनसमेत गरेर प्रतिष्ठानलाई पछि धकेलियो । दोस्रो बर्ष सरकारको नेतृत्व फेरिएसँगै बजेट कटौती तथा आर्थिक अनियमितता छानबिनका खेलहरु समेत भए । मन्त्रालयले छानबिनका लागि सहसचिव मधुसूदन बुर्लाकोटीको संयोजकत्वमा स्थलगत अध्ययनका लागि टोली नै पठाउन बाध्य भयो । तेस्रो बर्षदेखि बहाना बन्यो विश्वव्याधिका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण ।
खोइ प्रतिष्ठानका लागि आवश्यक उपयुक्त स्थानमा जग्गा प्राप्ति ? यो विषयमा अर्थपूर्ण भुमिका निर्वाह गर्न जिल्लाका राजनेताहरुले सकेनन् । स्थानीय सरकारले प्रतिष्ठानलाई अपनत्व लिन सकेन । प्रदेश सरकारले पनि प्रतिष्ठानलाई फरक नजरले सम्बोधन गर्दै कामचलाउ बजेट पनि मुस्किलले उपलव्ध गरायो । यहाँका वरिष्ठ नेताहरु वलदेव मजगैयाँको भूमिका, अनिता देवकोटा र दीपक गिरीको भूमिका, सभामुखसमेत बनेका कृष्णबहादुर महराको भूमिका, मुख्यमन्त्री बनेका शंकर पोख्रेलको भूमिका हुँदो हो त तेस्रो बर्ष मनाइरहँदा प्रतिष्ठानले जग्गा प्राप्ति गर्न सक्नुपर्ने होइन र ? समग्रमा कसैले पनि प्रतिष्ठानको अपनत्व स्वीकार गर्न सकेको स्पष्ट देखिएन ।
पदाधिकारीले गर्न सकेनन् भन्नेमा मात्रै रुमल्लिए यहाँका नेताहरु । यही अवस्था रह्यो भने प्रतिष्ठान एउटा अस्पतालमा मात्रै बर्षौसम्म सीमित रहने नागरिक अगुवाहरुले बताउँदै आएका छन् । पदाधिकारी त जागिरे पाहुना हुन्, आउँछन् जान्छन्, यहाँका नेताहरुले केही गर्नुपर्ने होइन र ? आम जिल्लाबासीहरुले यही प्रश्न गरिरहेका छन् ।