चुनढुङ्गाले कोरेको क, ख …

कर्मठ, कर्मशील, मिजासिला र हसिलो स्वभावका व्यक्ति, जो कर्ममा विश्वास गर्दछन् । तुलसीपुर–१३ बखरियालाई कर्मथलो बनाएका देविराम कुसारी । चाहे त्यो बाढी पीडित होस्, मृगौला पीडित होस् वा पछिल्लो समयमा महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण मृत्य वरण गरेकाहरूको शव व्यवस्थापनमा होस्, उनी दिनरात नभनेर लागिपरेका छन् । पत्रकारिता, जागिर र पछिल्लो समयमा व्यवसाय सँगसँगै उनी राजनीतिमा पनि होमिएका छन् । उनलाई पत्रकार र समाजिक अभियानताका रूपमा चिनिन्छ ।

चाहे त्यो खुत्रुके अभियान होस् वा सामाजिक हकहित र दुःखी गरिबका क्षेत्रमा काम गदै आएका कुसारीको खुसी खोज्न पुग्दा उनी आफ्नै काममा व्यस्त थिए । उनलाई मैले फोन गर्दा घरमा काम गरिरहेका थिए । रूकुममा जन्मिएर दाङलाई कर्मथलो बनाएका कुसारीले आफ्नो पहिलो खुसी २०४० सालतिर बुबाले लेख्नको लागि मेलको रूखको पाटी बनाइदिँदा लागेको सुनाए । त्यतिबेला कापी, कलम अहिले जस्तो पढ्नका लागि सहज थिएन । गाउँघरमै स्थानीय साधनस्रोत प्रयोग गरेर लेख्नका लागि पाटी बनाएपछि चुनढुङ्गाले कोरेर कखरा लेखेको सम्झिए । आप्mनो जग्गाको काल्नामा दिनभर लगाएर बुबाले लेख्ने पाटी बनाइदिएको बताए । हुनेखानेले खरीले लेख्थे, मैले त्यही पाटीमा सेतो कमेरो माटोले कखरा लेखेको अहिले पनि सम्झना छ ।

‘म त्यो दिन ज्यादै खुसी भएको थिएँ, जुन दिन मेरो बुबाले पाटी बनाइदिनुभएको थियो’ –कुसारीले भने । त्यस्तै उनले अर्को खुसी २०४१ सालमा पहिलो पटक चप्पल किनेर लगाउँदाको क्षण सम्झिए । ‘बाल्यकालमा त्यो बेला लाउनेखाने धेरै रहर हुन्थ्यो । अहिलेजस्तो सहज रूपमा जुत्ताचप्पल लगाउने कहाँ थियो’–उनले भने । रुकुमका गाउँमा चप्पल नपाइने, खलङ्गा आउनु र साना बालबालिकालाई चप्पल त्यहाँ नपाइए पनि दाङबाट माइलाबुबाले बाटा चप्पल किनेर लगिदिएको सम्झिए । त्यो चप्पल लगाउँदा आफू निकै खुसी भएको बताए ।

‘त्यो बेला चप्पल लगाउन पाउँदा मलाई निकै खुसी लागेको थियो, मैले त्यो बेला चप्पल लगाउन पाउँदा सबैभन्दा धेरै खुसीको अनुभव गरेको थिएँ, त्यो चप्पल कतिबेला छराएर हिंड्थे, मैलो हुन्छ कि भनेर, पछि फेरि लगाउँथेँ, बाल्यकालमा चप्पल पाउँदा निकै खुसी लागेको थियो’ –उनले भने – ‘त्यो बेला बाटा र हात्ती छाप चप्पल लगाउने मान्छे ठूलो मान्छे हुन्थ्यो ।’ त्यस्तै सानैदेखि रेडियो पत्रकारितामा रुचि राख्ने भएकाले २०५४ सालतिर रेडियो नेपालबाट पहिलो पटक पाण्डव सुनुवारले आफ्नो नाम उच्चारण गर्दा पनि निकै खुसी भएको सुनाए ।

पहिले अहिले जस्तो सञ्चारको सुविधा थिएन । ‘रेडियोहरू पनि थिएनन्, रेडियोबाट मेरो नाम प्रसारण हुँदा म निकै खुसी भएको थिएँ’ कुसारीले भने । आफूले कार्यक्रममा पत्र पठाएको र स्कूलबाट निस्किनेबित्तिकै आप्mनो नाम सुन्दा आफू सबैभन्दा ठूलो मान्छे आफूलाई सम्झिएको बताए । त्यस्तै पत्रकारिता पेशा अँगालेका कुसारीले अर्को खुसी ०५८ सालमा गाउँघर साप्ताहिकमा पहिलो पटक समाचार छापिँदा खुसी प्राप्त भएको सम्झिए । त्यो बेला पत्रिकामा नाम आउँदा आफूले त्यो पत्रिका राखेर आफनो समाचार ४÷५ पटक पढेको भन्दै खुसी व्यक्त गरे ।

सोही वर्ष दाइ विपुल पोख्रेलबाट पहिलो रेडियो पत्रकारिता तालिम लिँदा अर्को खुसी थपिएको बताए । त्यस्तै गोरक्ष दैनिकको तुलसीपुरको संस्थापक हुँदा र जिम्मेवारी पाउँदाको क्षण पनि आफ्नो खुशीको कित्तामा सामेल हुने बताउँछन् उनी । त्यस्तै वि.सं २०६१ मा रेडियो तुलसीपुरको उत्कृष्ट कार्यक्रम प्रस्तोतामा सम्मान पाउँदा अर्को खुसी प्राप्त भएको सुनाए । त्यस्तै पत्रकारिता सँगसँगै मानवअधिकार क्षेत्रमा वि.स. २०६८ मा मानव अधिकार प्रतिष्ठान नेपालको संस्थापक महासचिव हुदाको क्षण पनि खुशीको क्षण हो ।

‘त्यतिबेला द्वन्द्व पनि अन्तिम चरणमा थियो, मानवअधिकार प्रतिष्ठानमा लागेर लोकतान्त्रिक शान्तिको क्षेत्रमा काम गर्न पाउँदा निकै खुसी लागेको थियो’ उनले भने । त्यस्तै विसं २०६९ मा घर आगलागी भई सबै धनमाल नष्ट हँुदा पनि श्रीमती, छोराछोरी सकुसल पाउँदाको क्षण अत्यन्त खुशीको क्षण हो । ‘म अग्निपीडित भए पनि मेरो मानवीय क्षति भने केही भएन, म त्यसमा पनि खुसी छ’ु उनले भने । सोही वर्ष सालीबुहारीको सुत्केरी अप्रेशन भए पनि उसको नासो छोरालाई बचाउन पाउँदा अर्को खुसी लागेको बताए । यसैगरी कुसारीले विसं २०७१ सालको बाढीले सबै गाउँ नै बगाउँदा पनि गाउँका बासिन्दा सबै सकुसल भएको त्यो क्षण पनि खुसीको क्षण भएको उनी बताउँछन् ।

विसं २०७२ मा आएको बाढीमा ३३ जनालाई एक्लैले उद्धार गर्दा पनि आफूलाई खुसी लागेको कुसारी बताउँछन् । त्यस्तै पत्रकार महासंघको लागातार दुई चुनावमा निर्वाचित हुँदा आफू खुसी भएको कुसारीले बताए । सामाजिक परिचालक हकहित संरक्षण समितिको केन्द्रीय महासचिव हुदा अर्को खुसी लागेको सुनाए । ‘सबै साथीहरूको सहयोग र मायाले म पत्रकारिता तथा सामाजिक परिचालक हकहित संरक्षण समितिको केन्द्रीय महासचिवमा लागेर काम गर्न पाएँ, त्यसमा पनि खुसी छु’ –कुसारीले भने । उनले सबैको साथ र सहयोगबाट आफू विभिन्न क्षेत्रमा लाग्न पाउँदा पनि खुसी भएको सुनाए ।

त्यस्तै विभिन्न दुखी–गरिबलाई सहयोग गर्दै आएका कुसारीले आफूले कमाएको २५ प्रतिशत सामाजिक सेवामा लगाउन पाउँदा अर्को खुसी लागेका सुनाए । गरिब असहायलाई पढाउने होस् वा दुखीगरिबलाई सहयोग गर्ने काम मैले अहिले पनि गरेको छु, मलाई सहयोग गर्न नपाउँदा के हो के भुले जस्तो हुन्छ’ –कुसारीले भने । उनले विभिन्न व्यक्ति तथा पीडामा परेकालाई सहयोग गरेको सुनाए । ‘मैले आफूले नखाई, नलाई पनि सहयोग गर्ने गरेको छु, म त्यसैमा खुसी छु’ उनी भन्छन् । त्यस्तै कुसारीले पढाइ छोडेको १७ वर्षपछि पनि २०७७ सालमा पुनः पढाइ सुरु गरी राजनीति शास्त्रमा अध्ययन गर्न पाउँदा लागेको सुनाए ।

उनले अहिले डिग्रीमा पढ्न पाउँदा र पत्रकारिता विषय लिएर पनि अध्ययन गर्न पाउँदा अर्को खुसी प्राप्त भएको सम्झिए । अर्को खुसी कोभिड–१९ को संक्रमणबाट मृत्य भएकाहरूलाई सहजताका लागि काठ बैंक सञ्चालन गर्न पाउँदा पनि खुसी मिलेको सुनाए । ‘मेरो घर अगाडि कोभिड–१९ बाट मृत्यु वरण गरेकाहरूको शव आधा छोडेर हिडेको देखेर मलाई निकै चिन्ता र चासो लाग्यो, मैले त्यसपछि शव जलाउनका लागि काठ बैंक अभियान लाथेँ, म त्यसमा पनि सफल भएँ, त्यसमा पनि म खुसी छु ।

उनले त्यसमा सबैले साथ र सहयोग गरेकोमा पनि खुसी व्यक्त गरे । त्यस्तै कुसारीले आफूलाई श्रीमती, साथीभाइबाट समाजसेवादेखि विभिन्न क्षेत्रमा लाग्दा सहयोग मिलेको भन्दै खुसी व्यक्त गरे । त्यस्तै अहिले राजनीतिक यात्रको सुरुको चुनाबी खुड्किलोमा विजयी हुँदा अर्को खुसी प्राप्त भएको सुनाए । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा चुनाव जित्दा अर्को खुसी प्राप्त भएको सुनाए । विभिन्न सामाजिक अभियानमा तल्लीन देविराम कुसारी पत्रकार महासंघका, विभिन्न संघ संस्थामा क्रियाशील छन् भने होटल व्यवसायमा समेत संलग्न छन् ।