राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक,४ सय बेडको अस्पताल पूर्वाधार तयार

  •   
  •  

गोरक्ष समाचारदाता
दाङ, २० भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको चौथो सिनेटसभा प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रवार काठमाडौँमा सम्पन्न भएको छ । सभाले प्रतिष्ठानको बार्षिक नीति तथा कार्यक्रम स्वीकृत गर्दै नेपाल सरकारको राष्ट्रिय स्वास्थ्य नीतिबमोजिम नेपाली जनतालाई सहजरुपमा स्वास्थ्य सेवा उपलव्ध गराउने उद्देश्यले आगामी दुई बर्षभित्र ४ सय बेडको अस्पताल निर्माण गर्ने योजना अनुमोदनसमेत गरेको रजिष्टार प्रकाश थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सिनेटसभामा प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाले प्रतिष्ठानको भौतिक पूर्वाधार विकास तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि नेपाल सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । बैठकमा आगामी तीन बर्षभित्र लुम्बिनी प्रदेशकै एकमात्र प्रतिष्ठानमा सहज र शुलभ स्वास्थ्य सेवा उपलव्ध गराउनका लागि कम्तीमा ४ सय बेडको अस्पताल निर्माण गर्ने निर्णय भएको प्रतिष्ठानका रजिष्टार दीपक प्रकाश थापाले बताएका छन् ।

बैठकले लोकसेवा आयोगसँग समन्वय गरी तयार गरेको ‘शिक्षक तथा कर्मचारीहरु सेवा शर्त नियमावली–२०७८’ लाई सभाबाट स्वीकृत गरी आगामी दिनमा रिक्त दरबन्दीहरुको पदपूर्ति गर्दै जाने निर्णय भएको प्रतिष्ठानका रजिष्ट्रार थापाले जानकारी दिएका छन् । साथै सभाले गत आर्थिक बर्षको महालेखा परीक्षकको प्रतिवेदन र प्रतिष्ठानको आर्थिक प्रतिवेदनसमेत अनुमोदन गरेको बताइएको छ । सभामा प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाले प्रतिष्ठानको आवश्यक विकास र विस्तारका लागि सरकारीस्तरबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए । त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भौतिक पूर्वाधारको यथाशीघ्र विस्तार गरी शैक्षिक कार्यक्रम तथा अस्पताल सेवा विस्तार गर्न आवश्यक बजेटको स्रोत सुनिश्चित गर्नका लागि निर्देशन दिएका थिए ।

सो अवसरमा प्रतिष्ठानले आफ्नो कार्यकालमा अस्पतालले गरेको कार्यप्रगति, शैक्षिक कार्यक्रमका लागि भएका प्रयास, प्रतिष्ठानको लागि आवश्यक जग्गा प्राप्तिको विषयसहित समस्याका बारेमा प्रधानमन्त्री देउबालाई प्रतिष्ठानकी उपकुलपति संगीता भण्डारीले जानकारी गराएकी थिइन् । काठमाडौँमा आयोजित सिनेटसभामा दाङ जिल्लाबाट प्रतिष्ठानका सल्लाहकार नारायण भुसाल लगायतका सिनेट सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिष्ठानको अघिल्लो सिनेटसभामा शैक्षिक कार्यक्रमहरु तत्काल सञ्चालन गर्दै लैजाने निर्णय गरे पनि अझैसम्म प्रतिष्ठानमा कुनै पनि एकेडेमिक कार्यक्रमहरु सन्चालन हुन सकेका छैनन् । अघिल्लै बर्ष प्रतिष्ठानले पाठ्यक्रमसमेत तयार गरी बिएससी नर्सिङ र पारा मेडिक्स सञ्चालनको उद्घोष गरे पनि कोरोना भाइरसको संक्रमणको कारण शैक्षिक कार्यक्रमहरु सञ्चालन हुन सकेका छैनन् । अस्पतालमा चिकित्सक व्यवस्थापन, कर्मचारी व्यवस्थापन, स्तरीय शल्यक्रिया कक्ष, आइसियु सेवा, सिटिस्क्यान सेवा, अत्याधुनिक प्रयोगशालालगायतका भौतिक पूर्वाधारहरु निर्माण भइसकेका छन् ।

तर जग्गा प्राप्तिको प्रक्रियाले चौथो बर्षसम्म पनि अर्थपूर्णरुपमा सार्थकता पाउन नसक्दा प्रतिष्ठानले शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्नका लागि बजेट माग गर्नसमेत आवश्यक वातावरण तयार हुन सकेको छैन । जग्गा प्राप्तिका सन्दर्भमा स्थानीय राजनीतिक दल, नागरिक समाजलगायत स्थानीय सरकारको अहिलेसम्म कुनै पनि अर्थपूर्ण पहल हुन सकेको छैन ।