एमाले विद्यार्थी नेताद्वारा मेसुलाई कालोमोसो

खेमराज रिजाल

तुलसीपुर, १२ भदौ । नेकपा एमालको भातृ संगठन अनेरास्ववियु जिल्ला अध्यक्ष सर्जन परियारसहित आधा दर्जन व्यक्तिहरुको समूहले शुक्रवार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेसु डा. विनोद सिंहलाई कालोमोसो दलेका छन् । उनीहरुले शुक्रबार दिउँसो मेसुको कार्यकक्षमै कालोमोसो दलेर फरार रहेको प्रहरीले बताएको छ । प्रहरीले अभियुक्तहरुको खोजी भइरहेको बताएको छ ।

अस्पतालका चिकित्सकहरु तथा स्वास्थ्यकर्मीहरुले फरार अभियुक्तलाई पक्राउ नगरेसम्म अस्पतालका आकस्मिक र अत्यावश्यकबाहेकका सबै सेवाहरु बन्द गर्ने घोषणा गरेका छन् । डा. सिंहले करिब ६ जनाको संख्यामा आफ्नो कार्यकक्षमै आएका ब्यक्तिहरुमध्ये अरुसँग आफूले कुरा गरिरहेको समयमा एक्कासी अध्यक्ष परियारले कालोमोसो दलेर भागेको बताए । ‘मैले उनीहरुसँग टाइफाइडको बिरामीको कल्चरको सुविधा अस्पतालमा नरहेको र त्यसका लागि बाहिर बिरामीलाई लैजानुपर्छ भनेर सम्झाउँदै थिए, त्यही बीचमा सर्जन परियारले ममाथि एक्कासी कालोमोसो दलेर भागे,’ डा. सिंहले भने ।

परियारले डा. सिंहसँग आफ्नी श्रीमतीको उपचारका लागि अस्पताल आएको बताएको भए पनि परियारको श्रीमती अस्पतालमा भर्ना भएको वा उपचार भइरहेको त्यस्तो कुनै प्रमाण फेला नपरेको अस्पताल प्रशासनले जानकारी दिएको छ । ‘मैले त सुनेको छु, परियारले एकजना जेष्ठ नागरिकलाई त्यसै बाटोबाटै समातेर निहुँ खोज्नको लागि अस्पताल ल्याएका थिए,’ डा. सिंहले भने– ‘ममाथिको घटना प्रायोजित र नियोजितजस्तो देखिन्छ ।’ कसैले लगाएर वा उक्साएर आफूमाथि कालोमोसो दल्न उनीहरु आएको आफूलाई लागेको डा. सिंहले बताए । उनले दोषीमाथि कानुनअनुसार कारबाही हुनुपर्ने माग गरे । ‘दोषीलाई कारबाही नभए अस्पतालमा काम गर्ने वातावरण रहने छैन’, सिंहले भने– ‘भय र त्रासका बीचमा काम गर्न सक्ने अवस्थै रहँदैन ।’

कालोमोसो दलेका परियारले एकदिन अगाडि मात्रै सामाजिक सञ्जालमा अस्पतालबारे असन्तुष्टि पोखेका थिए । उनले सरकारी अस्पतालमा उपचार नहुने तथा ती रेफर सेन्टरजस्तो बनाइएको हुँदा निजी अस्पतालहरुले सर्वसाधारण लुट्ने गरेको आशय ब्यक्त गरेका थिए । अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले मेसुमाथि कार्यकक्षमै कालोमोसो दलेको घटनाको भत्सर्ना गर्दै खेद प्रस्ताव पारित गरेको बताए । घटनापछि बसेको अस्पताल बिकास समितिको बैठकले पीडकलाई कानुन अनुसार हदैसम्मको कारबाही हुनुपर्ने माग गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

त्यस्तै अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको बैठकले शनिबार बिहान ९ बजेसम्म आरोपित परियारलाई पक्राउ गरी कानुनी उपचारको प्रक्रिया नथाले अस्पतालको आपतकालीन कक्ष, प्रसूति कक्ष, डायलासिस र अत्यावश्यक सेवाबाहेकका सबै काम रोक्ने निर्णय गरेको छ । अध्यक्ष शर्माले हाल ५० बेड क्षमताको अस्पतालमा ०५ बेड राखेर सेवा प्रवाह गर्दैै आएको बताए । दरबन्दी अनुसार जनशक्ति नहुनु, दक्ष जनशक्ति नहुनु, आवश्यक उपकरण नहुनुजस्ता कारणहरुले सबै खालको सेवा अस्पतालबाट दिन नसकिएको कुरा सर्वसाधारणले बुझ्न आवश्यक रहेको उनले बताए ।

मै अपमानित भएको अनुभूति : प्रजिअ

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले यो घटनाले आफै अपमानित भएको अनुभूति भएको बताएका छन् । ‘विश्वव्याधिका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणमा अग्रपंक्तिमा खटिएका चिकित्सकमाथिको अपमानलाई मैले आफैमाथिको अपमानका रुपमा लिएको छु, यो अक्षम्य अपराध हो’, प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले भने । यो अत्यन्तै अराजक गतिविधि भएकाले तत्कार रिजल्ट आउने गरी अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउने पनि उनले बताए । यसका लागि सुरक्षा निकाय परिचालित भइसकेको पनि उनको अभिव्यक्ति थियो ।

घटनालाई लिएर नेकपा एमाले दाङले पनि गम्भीर भत्र्सना गरेको छ । घटनाको भत्र्सना गर्न र चिकित्सकहरुमाथि भएको दुव्र्यवहारको निन्दा गर्न नेकपा एमाले अध्यक्ष हुकुम बस्नेत सहित सचिव मनोहर बुढाथोकी पनि प्रादेशिक अस्पताल तुलसीपुर पुगेका थिए । ‘हाम्रो विद्यार्थी संगठनका नेताबाट भएको यो घटना अत्यन्तै निन्दनीय र खेदजनक छ, यस्ता व्यक्तिलाई तत्काल कारबाही गर्न सुरक्षा निकायलाई आग्रह गर्दछौं’, सचिव बुढाथोकीले अस्पताल प्राङ्गणमा भने । उनले घटनाका विषयमा नेकपा एमाले दाङ अत्यन्तै गम्भीर भएको उल्लेख गर्दै घटनामा संलग्न भनिएका सर्जन परियारलगायतलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी आधा घण्टाभित्रै कारबाही गरिने पनि बताए ।

यस्तो आपराधिक मनोबृत्ति भएका व्यक्तिलाई कुनै पनि राजनीतिक संरक्षण नहुने बताउँदै उनले चिकित्सकहरुको आन्दोलनमा आफ्नो पार्टीको ऐक्यवद्धता रहेको बताए । अस्पताल परिसरमै आयोजित विरोध कार्यक्रममा अस्पतालका कन्सल्टेन्ट सर्जन डा. जनार्दन पन्थीले यो घटना अत्यन्तै निन्दनीय भएको उल्लेख गर्दै अपराधीलाई तत्काल कारबाही नगरे कुनै बेला अस्पताल चिकित्सकविहीन हुने दावी गरे । मेसुलाई मोसो दल्ने समयमा प्रत्यक्षदर्शीका रुपमा रहेका हाडजोर्नी विशेषज्ञ डा. ओम अर्यालले घटनाको निन्दा गर्दै पेशागत सुरक्षाको अनुभूति दिलाउन आग्रह गरेका छन् ।

घटनालाई नेपाली कांग्रेस दाङले अक्षम्य अपराधको संज्ञा दिंँदै अपराधीलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ । नेपाली कांग्रेसका सभापति कीर्तिबहादुर खड्काले एक विज्ञप्ति जारी गरी स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा देखिने समस्याहरुलाई वार्ता र सम्वादबाट हल गर्नुपर्नेमा यस्ता आततायी घटना एउटा जिम्मेवार राजनीतिक दलका विद्यार्थी संगठनका प्रमुखबाट हुनु अत्यन्तै निन्दनीय र खेदजनक हो’, नेपाली कांग्रेस दाङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । साथै विज्ञप्तिमा घटनामा संलग्न अपराधीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न आग्रह गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पण्डेले यसलाई आततायी र निन्दनीय भनेका छन् । उनले स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक नेतृत्वमाथि भएको दुव्र्यवहार निन्दनीय भएको उल्लेख गर्दै यस्ता व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन र अस्पतालमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मीहरुको मनोवलमा कमी आउन नदिन पनि आह्वान गरेका छन् ।

नेपाल चिकित्सक संघ दाङले यो घटनाका अभियुक्तलाई २४ घण्टाभित्र पक्राउ नगरे थप आन्दोलनका कार्यक्रमहरु अघि बढाउने जनाएको छ । संघका उपाध्यक्ष डा. किशोर खत्रीले जारी गरेको विज्ञप्तिमा घटनाका दोषीलाई कारबाही गर्न माग गरिएको छ । त्यसैगरी अस्पताल विकास समिति कर्मचारी युनियनले विज्ञप्ति जारी गरी सर्जन परियारलगायतका घटनामा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कानुनी सजायको माग गरेका छन् ।

अस्पताल विकास समितिले शुक्रवार एक विज्ञप्ति जारी गरी अपराधीलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा नल्याएसम्म अस्पतालबाट प्रदान गरिने आकस्मिक, प्रसूति र डायलायसिस सेवाबाहेक सबै सेवाहरु बन्द गरी आन्दोलन गर्ने निर्णय गरेको छ । तुलसीपुर उद्योग वाणिज्य संघले पनि घटनाको भत्र्सना र निन्दा गरेको छ । संघका अध्यक्ष रामप्रसाद चालिसे तथा महासचिव विनिल केसीले एक विज्ञप्ति जारी गरी अभियुक्तलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।