मानवअधिकार प्रवर्द्धनका लागि मञ्चको भूमिका अपरिहार्य

छवि पुरी
घोराही ११ भदौ । मुक्त कमलरीहरुको सामाजिक, आर्थिक, राजनीतिक र कानुनी क्षेत्रमा पहुँच अभिवृद्धि गर्न मुक्त कमलरी विकास मञ्चको भूमिका निकै महत्त्वपूर्ण रहेको एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । मुक्त कमलरी विकास मञ्चले आयोजना गरेको मानवअधिकार प्रवर्द्धनका लागि पैरवी तथा वकालत तालिमको बिहीबार समापनका अवसरमा मुक्त कमलरीहरुले लामो समयदेखि गर्दै आएको आन्दोलन र संघर्षलाई मूर्तरुप दिन मञ्चले खेल्दै आएको भूमिकालाई सबैले आत्मसात गर्नुपर्ने उनीहरुको भनाई थियो ।

मुक्त कमलरीहरुको क्षमता वृद्धि र समान पहुँच स्थापित गर्न उनीहरुका लागि मानवअधिकारको प्रवर्द्धनात्मक विकासका साथै विद्यमान ऐन कानुन र संवैधानिक व्यवस्थाका बारेमा तालिममा सहभागीमार्फत पैरवी गर्ने प्रयास गरिएको छ । मानवअधिकारको अवधारणा, सचेतना वृद्धि, आर्थिक, सामाजिक, कानुनी प्रावधानका बारेमा जानकारी दिने, मानवअधिकारमुखी विषयको कसरी वकालत गर्ने, समस्याहरुको पहिचान कसरी गर्ने, प्राथमिकताका क्षेत्र के के हुन सक्छन्, वकालतका लागि गरिने अभ्यास र सरोकार निकायको भुमिका कस्तो हुन्छ, वकालतका लागि कार्ययोजना तयार पार्दा अपनाउनु पर्ने सावधानी तथा मिडियाले यस्ता विषयलाई कसरी उठान गर्नुपर्छलगायत विषयमा प्रशिक्षित गरिएको थियो ।

सो अवसरमा विभिन्न विषय र क्षेत्रका अनुभव प्राप्त प्रशिक्षकहरुले तालिम दिएका छन् । जुरी नेपालकातर्फबाट अधिवक्ता विष्णुप्रसाद पोख्रेलले विद्यमान संवैधानिक तथा कानुनी व्यवस्थाका बारेमा तालिम दिए । उनले २०७२ को संविधानले व्याख्या गरेको विषयमा लक्षित समुदाय या वर्गले अधिकार पाउनबाट अझैसम्म वञ्चित भएकाले यसका लागि निरन्तर पैरवी हुनुपर्ने बताए ।

मुलुकी अपराध तथा देवानी संहिता २०७४ मा उल्लेख भएका विषय र त्यसले प्रत्याभूत गरेका नजिरलाई कार्यान्वयन कसरी गर्ने भन्ने सवालमा मञ्चका कानुनी सल्लाहकार फकला थारुले प्रशिक्षण दिएका थिए । मुक्त कमलरीको सवाल, भूमिमाथिको पहुँचको विषयमा भूमि अधिकार अभियन्ता शुभराज चौधरीले प्रशिक्षण दिनुभएको थियो भने मुक्त कमलरीहरुको सचेतना, सर्वाङ्गिण विकास र उत्थानका लागि मिडियाको भुमिकाबारे नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले प्रशिक्षण दिएका थिए । त्यसैगरी, सामाजिक परिचालनका विषय र महिला मानवअधिकारका बारेमा अधिकारकर्मी विनोद केसीले दिएका थिए ।

तालिममा मानव अधिकार, अकालतका संयन्त्रहरुका बारेमा र संस्थाले थालेका सकारात्मक पहलका बारेमा मञ्चका प्रवन्धक माधवराज चौधरीले जानकार िगराएका थिए । आईएम नेपालको आर्थिक सहयोग, जुरी नेपालको सहकार्यमा मुक्तकमलरी विकास मञ्चको आयोजनामा दाङको घोराहीमा यही भदौ ७ गतेदेखि १० गतेसम्म ४ दिन भएको तालिममा मुक्त कमलरी विकास मञ्चका केन्द्रीय तथा जिल्ला कार्यसमिति पदाधिकारी र कर्मचारी गरि दुई दर्जन बढी सहभागिता थिए ।

तालिममा सहभागी केन्द्र तथा विभिन्न जिल्लाका पदाधिकारीहरुले सिकेको ज्ञानलाई भोलिका दिनमा कार्यान्वयनमा लैजाने प्रतिवद्धता पनि जनाएका छन् । खासगरी, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतमा बसोबास गर्न मुक्त कमलरीहरुको मानवअधिकार प्रवर्द्धनका लागि अझ दरिलो रुपमा पैरवी हुनेमा जोड दिएका छन् ।

मुक्त कमलरी विकास मञ्चकि अध्यक्ष शान्ति चौधरीको अध्यक्षतामा भएको तालिममा केन्द्रीय उपाध्यक्ष हरिमाया चौधरी, केन्द्रीय सदस्य सुमन थारु, कानुनी सल्लाहकार फकला थारु, कैलाली जिल्ला कार्य समिति अध्यक्ष विन्द्रा चौधरी, बाँके अध्यक्ष पार्वती थारु तथा मञ्चकि कर्मचारी मञ्जिता चौधरीलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण मञ्चका प्रवन्धक माधवराज चौधरीले गरेका थिए ।

यसअघि तालिमको उद्घाटन घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले गरेका थिए । त्यस अवसरमा उनले मुक्त कमलरीहरुको अधिकार प्राप्तिमा स्थानीय सरकारको सदैव साथ सहयोग रहेको बताएका थिए । उनले आगामी दिनमा पनि उनीहरुको मानवअधिकार र कानुनी पक्षको वकालत गर्ने काममा सँगसँगै रहेको वचन दिएका थिए ।