शिवराज खनाल
दाङ, ६ भदौ ।लमही नगरपालिका–५ लमही बजारदेखि १ किलोमिटर पूर्व राजमार्गदेखि ५ सय मिटरभित्र जंगलमा ठूल्ठूला पोखरी खनिएको छ । वन्यजन्तुलाई जंगलभित्रै खानेपानीको व्यवस्थापन गर्न उक्त पोखरी तयार पारिएको हो । पानी खानको लागि राजमार्ग पार गरेर खोला तथा बस्तीमा पस्ने जंगली जनावरलाई अब जंगलभित्रै आकाशे पानीलाई सञ्चित गर्ने उद्देश्यले उक्त पोखरी निर्माण गरिएको हो ।
डिभिजन वन कार्यालय देउखुरीले देउखुरीका विभिन्न स्थानमा गरी आधा दर्जनभन्दा धेरै स्थानमा जंगलभित्रै संरक्षण पोखरी निर्माण गरेर जनावरलाई पानी व्यवस्थापन गरिदिएको छ । लमही नगरपालिका वडा नं. ५ स्थित पारिजात महिला सामुदायिक वन उपभोक्ता समूहभित्र संरक्षण पोखरी निर्माण गरिएको छ । वन क्षेत्रभित्रको खाली जमिनलाई पोखरीको आकार दिएपछि आकाशेपानी जम्मा भएको छ ।
डिभिजन वन कार्यालय देउखुरीले आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार यहाँ पोखरी निर्माण गरेको हो । पोखरी निर्माण भएपछि जंगली जनावरलाई पानीको लागि सजिलो भएको सामुदायिक वन उपभोक्ता समूहका सचिव लक्ष्मी शर्मा बताउँछिन । ‘चैत–बैशाखको खडेरीमा पानी खोज्दै वन्यजन्तु भौँतारिने अवस्था थियो, अब जंगलीबीचकै पोखरीमा पानी पिउन पाउनेछन्’ शर्माले भनिन्–‘सामुदायिक वनभित्र निर्माण गरिएको पोखरी बहुउद्देश्यीय प्रयोजनको दृष्टिकोणले बनाइएको छ ।’
वन्यजन्तुलाई पानी खान सजिलो हुने छँदैछ यसले जमिनमुनिको पानीको स्रोत संरक्षणमा समेत सकारात्मक प्रभाव पार्ने देखिएको छ । पोखरी बनेपछि पर्यटकहरू अवलोकनको लागि समेत पुग्न थालेका छन् । पोखरीले पर्यटकलाई समेत भित्राउन मद्दत गरेको स्थानीय उपभोक्ता गङ्गाराम भट्टराईले बताए । ‘निर्माण भएका पोखरीलाई उचित व्यवस्थापन गरेर यो स्थानलाई पर्यटन क्षेत्रको रूपमा विकास गर्न सकिन्छ’ भट्टराईले भने ।
डिभिजन वन कार्यालयल देउखुरीले लमही नगरपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिका भित्रका विभिन्न सामुदायिक वन उपभोक्ता समूहमा आधा दर्जन बढी संरक्षण पोखरी निर्माण गरेको छ । यसरी पोखरी निर्माण गर्दा वन्यजन्तुलाई पानी उपलब्ध भएको छ भने जमिनमुनिको पानी संरक्षणमा सहयोग पुगेको रेञ्जर हरि पौडेलले जानकारी दिए ।
जंगली जनावरहरू पानीको खोजीमा खोला तथा तलाउ खोज्दै राजमार्ग हुँदै गाउँबस्तीमा पुग्ने भएका कारण राजमार्गमा सवारी साधनको ठक्करबाट मर्ने तथा घाइते हुने अवस्थामा र गाउँबस्तीमा जंगली जनावरको भय हुने अवस्था देखिँदै आएको थियो । पोखरी निर्माण भएसँगै जंगली जनावरको सुरक्षा र मानव बस्तीमा जंगली जनावरको त्रास कम गर्न यी पोखरीहरू उपयोगी हुने देखिन्छ ।