प्रधानमन्त्री ज्यु, मार्ग प्रसस्त गर्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीको दृढ आत्मबिश्वासले उनी मृगौला प्रत्यारोपणको तहसम्म आउदा पनि निर्धक्क देखिन्छन् । अझै देश चलाउने हुटहुटी उनीमा छ । उनको उपचारमा संलग्न चिकित्सकहरुले पनि उनलाई ‘सजिला पेसेन्ट’ भनेर भन्नेगरेको सुनियो । उनलाई सिघ्र स्वास्थ्यलाभको कामना सबैले गरि पनि राखेका छन् ।

हामी पनि हार्दिकताका साथ उनको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । उनको अहिलेसम्मको योगदान र अनुभव राष्ट्रका पुँजिका रुपमा रहने छन् र त्यो पुँजीको उपयोग गर्न राष्ट्रले सक्ने अबस्था रहिरहोस् भन्ने कामना पनि यतिबेला सान्दर्भिक नै हुन्छ । त्यसका लागि उनी सामान्य अबस्थामा फर्कन पर्ने हुन्छ । चिकित्सकहरुले भने अनुसार त्यो अबस्था आउन करिव ६ महिना लाग्दछ ।

केपी ओलीसंग राष्ट्रले धेरै आशा गरेको हो । उनको नेतृत्वमा निर्वाचनमा होमिएको दललाई झण्डै दूइतिहाई अझ भनौ प्रष्ट बहुमत उपलब्ध भएको हो । उनीसंगको नागरिकको अपेक्षाको सूचक त्यही मतपरिणाम नै हो । तर, अहिले प्रधानमन्त्री ओली बिरामी छन्, अस्पतालको बसाई लम्बी रहेको छ । अस्पताल जानु अघि सन्देश दिदै ‘छिट्टै काममा फर्कने’ बताएका थिए । तर, त्यो सम्भव देखिएन ।

सामान्य अबस्थामा आउन ६ महिना लाग्ने र डिष्चार्ज भएता पनि बालुवाटारमा बिशेष प्रबन्धमा प्रधानमन्त्रीलाई राख्नु पर्ने कुरा चिकित्सकहरुबाट आएको छ । यसरी देश चलाउन सम्भव हुँदैन । लोकतान्त्रीक सरकारका प्रधानमन्त्री सहज रुपमा जनताको सम्पर्कमा आउनु पर्दछ । सिंहदरवार भित्र नागरिकलाई सहज पहुँचको आवाज संसदमा समेत उठिरहेको छ । नागरिकको दायरा यसरी बढाइदै गर्दा प्रधानमन्त्रीलाई भेट्न असहज हुने अबस्था उचित होइन । विरामी मानसिकताले गरिने कार्यसम्पादन उत्कृष्ट हुन सक्दैन भनेर मनोबैज्ञानिकहरुले भन्ने गर्दछन् ।

यो अबस्थामा आफ्नो स्वास्थ्यलाई बिशेष ध्यान दिएर प्रधानमन्त्री ओलीले अब मार्ग प्रसस्त गरी स्वास्थ्य लाभ गर्नु नै बेश हुन्छ । उनी स्वस्थ्य भएपछि उनका अनुभवहरुलाई राज्यले उपयोग गर्ने कुरा हुने नै छ । हामीकहाँ एउटा सन्दर्भ पनि छ । ०४६ सालको परिवर्तन पछि प्रधानमन्त्रीका लागि प्रस्ताव गरिदा सर्वोच्च नेता तथा ०४६को आन्दोलनका कमाण्डर गणेशमान सिंहले ‘मलाई कब्जियत छ, बिहान १ घण्टा ट्वाइलेट बस्नु पर्छ । त्यसकारण म प्रधानमन्त्री हुँदैन’ भनेर राजालाई जवाफ दिएका थिए । प्रधानमन्त्री नहुनुमा अनेक कारण होलान्, तर उनले स्वास्थ्यअबस्थालाई देखाएर पद अस्वीकार गरे ।

यो कुराले के देखाउछ भने नेतृत्वकर्ता स्वस्थ्य हुनुपर्दछ, र सहज रुपमा नागरिकको पहुँचमा हुने प्रयत्न गर्नु पर्दछ । अहिले ओलीको लागि यी दुबै कुराहरु नकारात्मक छन् । त्यसकारण आफुले मार्गप्रशस्त गर्ने बारेमा जतिसके छिटो निर्णय लिनु पर्दछ । यो भविष्यका लागि अर्को एउटा प्रेरक उदाहरण पनि हुने छ ।

यो कुरामा प्रधानमन्त्री ओलीले निर्णय लिन जति बिलम्ब गर्छन्, त्यति नै उनलाई पदलोलुपको आरोप लाग्दै जाने छ । नेतृत्व भनेको आफुपछि उत्तराधिकारी तयार गर्ने र उसलाई बिश्वास गर्दै जिम्मेवारी दिदै जाने गुण पनि हो । यो गुण अब केपी ओलीले प्रकट रुपमा देखाउन पर्ने भएको छ । त्यसकारण विना बिलम्ब मार्ग प्रसस्त गर्नुस् प्रधानमन्त्री ज्यु, यो आफ्नो महत्व र छवी उजिल्याउने अवसर पनि हो । फेरि पनि प्रधानमन्त्रीलाई पूर्ण स्वास्थ्यलाभको कामना ।