राप्ती नदीको भेलमा तीन जना अचानक बगेपछि …

छवि पुरी

गढवा, १६ साउन । गढवा गाउँपालिका ६ पर्नाहाका २२ वर्षीय शरद कवँरलाई विहीवार अपराह्न ३ बजेतिर राप्ती नदीले बगायो । नदीको बहाव निकै भएको हुँदा एकैछिनमा बगाएर तल पुर्याईसकेको थियो । लगत्तै गढवा ५ पर्सियाका २३ वर्षीय सागर बस्नेतलाई पनि राप्ती नदीको भेलले बगायो । उनी पनि आफूलाई बचाउ, बचाउ भन्दै उद्धारको याचना गर्दै थिए । उनीहरूसँगै नदीमा नुहाउन पुगेका गढवा ७ कान्छीगाउँका ४६ वर्षीय गेँदाराम चौधरीलाई पनि नदीले बगाएको थियो ।

तीनै जनाको ‘गुहार–गुहार, बचाउ–बचाउ’ को आवाज सुन्ना साथ उद्धारकर्ताको एक टोली उद्धार सामग्रीसहित नदीमा पस्यो । तीनै जनालाई सकुशल उद्धार गरी बोटमा राखेर नदी किनारमा ल्याएर प्राथमिक उपचारमा जुट्यो । नदीमा डुबेका तीनै जनाको उद्धार र उपचारका लागि कोहीले स्ट्रेचरको व्यवस्था गरेका थिए भने कोहीले प्राथमिक उपचारमा चाहिने सबै बन्दोबस्तीका सामान जुटाइसकेका थिए । लाइफ ज्याकेट पहिरेका सबै जनाले खोज तथा उद्धारमा दत्तचित्त भई लागेका थिए ।

नदीमा बगेर डुबेका कवँरको टाउकोमा चोट लागेको रहेछ । उनलाई तत्काल उपचार गरि एम्बुलेन्समार्फत् थप उपचारका लागि अस्पताल पठाउने तयारी गरियो । अर्का बस्नेतकोे हातमा चोटपटक लागेको रहेछ । उनलाई पनि स्ट्रेचरमा राखेर थप उपचारको प्रबन्ध गरियो । त्यस्तै चौधरीलाई उद्धार टोलीले अचेत अवस्थामा पानी बाहिर निकालेको थियो । मुखबाट पानी निकाल्न पेट थिच्ने तथा स्वासप्रस्वास कायम राख्न मुखबाट स्वास भर्ने काम उद्धार कार्यदलका सदस्यहरूबाट भयो । केही बेरमा उनी होसमा आए ।

उद्धारकार्य दलका सदस्यहरूले घाईतेहरूको हतार–हतार प्राथमिक उपचार गरी थप उपचारका लागि एम्बुलेन्समार्फत् अस्पताल पठाए । यी दृश्य वास्तविक जस्तै लागेपनि यो केवल ‘पानी सम्बन्धि आपतकालीन खोज तथा उद्धार’को अभ्यास मात्रै थियो । राप्ती नदीमा गरिएको यस खालको अभ्यासले बर्षादको समयमा पर्नसक्ने भवितव्यबाट कसरी बच्ने तथा विपदमा परेकाहरूलाई कसरी उद्धार गर्ने भन्ने कुराको सैद्धान्तिक तथा व्यावहारिक अभ्यास थियो ।

नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको आयोजनामा ३ दिनसम्म गढवामा गरिएको आपतकालीन प्रतिकार्यका लागि पूर्व तयारी कार्यक्रम अन्तर्गतको पानीसम्बन्धी आपतकालीन खोज तथा उद्धार तालिम समापनका अवसरमा रेडक्रम गढवा उपशाखाका तालिममा सहभागी २४ जनालाई सो अभ्यास गराइएको हो । ३ दिने तालिमपछिको अभ्यासका क्रममा ११ महिला र १३ जना पुरुष प्रशिक्षार्थीहरूले पानीसम्बन्धी आपतकालीन खोज तथा उद्धार कसरी गर्ने भन्ने बारेमा जानकारी लिएका थिए ।

हरेक वर्ष नदीजन्य विपदका कारण दाङमा केहीले ज्यान गुमाउने गरेका छन् । यस्ता विपदबाट हुने मानवीय क्षति कम गर्न तथा समुदायस्तरमा सचेतना फैलाउन पनि तालिम निकै फलदायी भएको नेपाल रेडक्रस सासाईटीका मन्त्री प्रकाश श्रीवन्दले जानकारी दिएका छन् । गढवा उपशाखा अन्तर्गत्का २४ जना खोज तथा उद्धार कार्यदलका प्रशिक्षार्थीहरूलाई मुख्य प्रशिक्षक सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक विवेक नेपाल र सहप्रशिक्षक एपिएफकै प्रकाश आचार्य रहेका थिए । उनीहरूले तालिमले पानीजन्य विपदका कारण हुने मानवीय क्षति कम गर्न निकै सघाउ पुग्ने गरेको छ ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका प्रमुख विश्वप्रकाश अर्यालले राप्ती नदीमा आउने बाढीका कारण गढवाका विभिन्न समुदायका धेरै प्रकारका क्षति व्यहोरेको हुँदा यस प्रकारको तालिमले ती समुदायलाई सचेत बनाउन सघाउने बताए । विपदबाट बच्न पूर्व तयारी कसरी गर्ने, सकेसम्म जोखिम कम गर्न अपनाउनु पर्ने सावधानीका बारेमा पनि तालिममा सिकाइएको उनले बताए ।

पानी सम्बन्धि आपतकालीन खोज तथा उद्धार तालिममा उद्धारकर्ता उत्पादनका साथै समुदायमा सचेतना फैलाउन यस प्रकारका गतिविधि सकेसम्म नियमित बनाउन स्थानीय सरकार, सरोकार निकायलाई नेपाल रेडक्रम सोसाइटी जिल्ला उपसभापति मदन गौतमले आग्रह गरेका थिए ।