१५ हजार सवारी कारवाही गर्दा एक करोड जरिमाना

ट्राफिक नियम उलङ्घन बढेको–बढ्यै

छवि पुरी

दाङ, १० साउन । यो वर्ष पनि दाङ जिल्लामा ट्राफिक नियम उलङ्घनको प्रवृत्ति निकै बढेको छ । यसको पुष्टि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कले गरेको छ ।

दाङमा एक वर्षमा १५ हजार बढी सवारी साधन कारबाहीमा पर्दा १ करोड भन्दा बढी रावश्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले दिएको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७७÷०७८ मा १५ हजार ३५ वटा साना–ठूला सवारी साधन कारवाहीमा पर्दा १ करोड १ लाख ३४ हजार रूपैयाँ राजश्व संकलन भएको हो ।

दाङमा सबैभन्दा धेरै कारवाहीमा पर्ने सवारी साधनमा मालवाहक गाडी रहेका छन् । जसमा टिप्पर र ट्रक बढी कारवाहीमा परेका छन् । ओभरलोड बोकेका १२ हजार ७ सय ८६ वटा सवारी कारवाहीमा पर्दा ७९ लाख ९० हजार ५ सय राजश्व उठेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिए ।

यसैगरी छतमा यात्रु राखी चलाएका १ हजार ५७ सवारीबाट ६ लाख २२ हजार, मादक पदार्थ सेवन गरी सवारी चलाएका ७ सय ३४ सवारीबाट ७ लाख ३४ हजार, प्रयोजन विपरित सवारी चलाइएका ४ सय ८४ सवारीबाट २ लाख ९४ हजार ५ सय, यात्राका क्रममा मोबाइल फोन प्रयोग चलाइएका ४ सय ६९ वटा सवारीबाट ३ लाख ५८ हजार रूपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरी प्रमुख जिसीले बताए ।

सवारी साधन चलाउँदा सिटबेल्ट प्रयोगबिना चलाइएका २ सय ५२ सवारीबाट १ लाख ५४ हजार ५ सय, सडकको लेन अनुशासन मिचेका २२ सवारीबाट १५ हजार, तीव्र गतिमा सवारी कुदाइएका १५ वटा सवारीबाट ७ हजार ५ सय र गलत ठाउँमा ओभरटेक गरेका ५ वटा सवारी कारवाहीमा पर्दा २ हजार ५ सय राजश्व उठेको उनको भनाइ छ ।

‘सकेसम्म चालकलाई सचेत बनाउँदै ट्राफिक नियम पालना गर्न आग्रह गर्दै आएका छौँ तर नियमको ठाडो उल्लङ्घन गर्ने जुनसुकै सवारीलाई कारवाही गरेका छौँ’ ट्राफिक प्रहरी प्रमुख जिसीले भने । उनका अनुसार गत साउनमा १ हजार ३ सय ४० सवारी, भदौमा १ सय ८९ सवारी, असोजमा १ हजार ५ सय ६७ सवारी, कार्तिकमा ९ सय २९ सवारी कारवाहीमा परेका छन् ।

यसैगरी मंसिरमा १ हजार १ सय ८७ सवारी, पुस महिनामा सबैभन्दा धेरै १ हजार ९ सय ५४ सवारी कारवाहीमा पर्दा माघमा १ हजार ३ सय ३ सवारी, फागुन महिनामा १ हजार १ सय ९० सवारीसाधन कारवाहीमा परेका छन् । चैतमा १ हजार ७ सय २० सवारी, बैशाखमा १ हजार ५४ सवारीसाधन, जेठमा ७ सय १७ सवारी र असार महिनामा १ हजार ८ सय ८५ सवारीसाधन कारवाहीमा परेको उनले बताए ।

कोरोना महामारीका कारण यातायात क्षेत्र पूर्णरूपमा सञ्चालनमा आउन नसकेको अवस्थामा पनि सवारी साधन कारवाहीमा पर्नुका साथै दुर्घटना हुनुले चुनौती थपिएको उनी बताउँछन् । जिल्लामा सडक सञ्जाल थपिने क्रम बढ्नुका साथै तथा सवारी साधनको सङ्ख्या पनि थपिँदै गएको छ ।

पहिले बनाइएका सडकमा सवारी साधनको चाँप बढ्दै गएको तथा कतिपय सवारी चालकले लापरवाहीपूर्वक सवारी चलाउँदा कारवाही संख्या बढ्दै जाने मात्रै नभई दुर्घटना पनि हुनेगरेको छ । बितेको एक वर्षको अवधिमा दाङमा २ सय १२ वटा साना÷ठूला सवारीसाधन दुर्घटनामा परेका छन् । दुर्घटनामा परी ७५ जनाको मृत्यु भएको छ भने ३ सय ७२ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक जिसीले जानकारी दिए ।

सवारी साधन दुर्घटना हुनुमा सबैभन्दा धेरै चालककै कारण रहेको तथ्याङ्कले देखाएको छ । जसअन्तर्गत् ७१ जनाको मृत्यु हुँदा र ३ सय ४ जना घाइते भएका छन् । सवारी साधनका कारण २ जनाको मृत्यु, ६० जना घाइते भएका छन् । यात्रुकै कारण २ जना घाइते हुँदा सडकका कारण १ जनाको मृत्यु ४ जना घाइते हुँदा प्रतिकूल मौसमका कारण १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको उनले बताए ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सरोकार निकायसँगको सहकार्यमा नियमित रूपमा सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । तर पनि नियम उल्लङ्घन गर्ने सङ्ख्यामा कमी आउनसकेको छैन । लेन अनुशासनको पालना, सीमित गति, नियमित यान्त्रिक जाँच गरेमा दुर्घटना धेरै मात्रामा कम गर्न सघाउ पुग्ने ट्राफिक प्रहरीको भनाइ छ ।