‘पहुँच हावी, व्यवस्थित बनेन खोप’

  •   
  •  

खेमराज रिजाल
दाङ, ६ साउन । ‘आइतवार भोलि आउनु भनियो, सोमवार पनि भोलि आउनु भनियो, अनि मंगलवार भनियो खोप त सकियो’ तुलसीपुर उपमहानगरपालिका—५ अवस्थित तुलसी बोर्डिङ स्कुलका शिक्षक शंकर रिजालको अभिव्यक्ति थियो, यो । शंकर करिब ३ घण्टा लाइनमा बसे पनि खोप पाउन सकेनन् ।

प्रादेशिक अस्पताल तुलसीपुर खोप केन्द्रको परिदृश्य थियो यो । तुलसीपुर उपमहानगरपालिका–१७ झिंगैका स्थानीयबासी धर्मबहादुर केसीले सोमवार र मंगलवार दुई दिन धाउँदा पनि मानपुर स्वास्थ्य चौकीमा कोरोना भाइरसविरुद्धको खोप पाउन सकेनन् । उनी विद्यालय कर्मचारीको कोटामा मात्र नभएर सरकारले निर्धारण गरेको लक्षित उमेर समूहका पनि हुन् । दुवै कोटामा पाउनुपर्ने भए पनि उनलाई भोलि भन्दै फर्काइयो ।

तुलसीपुरकै एउटा वडाका जनप्रतिनिधि खोपकै सवालमा उपमहानगरपालिकाका स्वास्थ्य प्रमुखसँग बाझाबाझको स्थितिमा पुगे । किनकि खोप सुरु भएको दोस्रो दिन उनको वडामा एउटा पनि खोप पुग्न सकेन । यस्ता खोप नपुगेका परिदृश्यहरु तुलसीपुर उपमहानगरपालिकाका मात्र होइनन् ।

घोराही उपमहानगरपालिका–१५ को पद्मोदय पब्लिक मावि केन्द्रमा पनि लक्षित उमेर समूहका सबैले खोप लगाउन नपाएपछि खोप केन्द्र बाहिर निकै तनावको अवस्था देखिन्थ्यो । अर्थात जिल्लाका दशवटै पालिकाका सबै खोप केन्द्रहरुमा सरकारले जारी गरेको निर्देशिकाअनुसार लक्षित समूहलाई खोप पुग्न सकेन । धेरै नागरिकहरु उमेर समूहमा परेर पनि खोप पाउन नसकेको गुनासो गरिरहेका छन् । गुनासोसँगै उनीहरुको आक्रोश पनि पोखिएको थियो खोप केन्द्रमै ।

कर्मचारी र जनप्रतिनिधिको पहुँचका आधारमा खोप लगाइने रहेछ’, घोराही उपमहानगरपालिकाको एउटा खोप केन्द्रमा देखिएकी एक बृद्धको दुखेसो थियो । अन्ततः बुधवार खोप आउने छैन । मंगलवार साँझसम्म जिल्लामा उपलब्ध सबै कोरोना भाइरसविरुद्धको भेरोसेल खोप सकिएको बताइन्छ । अनुमान अनुसार लक्षित समूहमध्ये कम्तीमा ३० प्रतिशतले अझै खोप पाउन सकेका छैनन् । जिल्लामा प्रदेश सरकारबाट प्राप्त कोटा सम्भवतः सकिइसकेको छ ।

जनप्रतिनिधि र कर्मचारीहरुको पहुँच हावी हुँदा लक्षित वर्गले खोप पाउन सकेनन् । खोप कुन–कुन समूहलाई लगाउने भन्ने सन्दर्भमा स्पष्ट व्यवस्थापनतर्फ नत जनप्रतिनिधिहरुकै अग्रता देखियो, नत क्रस चेकका सन्दर्भमा कर्मचारीकै उत्सुकता । अन्ततः दुवै क्षेत्रको पहुँचका आधारमा नागरिकहरुलाई खोप उपलव्ध गराइयो ।

जनप्रतिनिधिका नातेदार, दलिय स्वार्थका नेता कार्यकर्ता तथा कर्मचारीका आसेपासेलाई विभिन्न बहानामा खोप लगाइयो, हामीले लक्षित वर्गमा परेरै पनि खोप पाउन सकेनौं’, तुलसीपुर उपमहानगरपालिका प्रादेशिक अस्पतालमा मंगलवार भेटिएका एकजना ज्येष्ठ नागरिकले गुनासो गरे ।

उनको आक्रोश जनप्रतिनिधि र कर्मचारीसँग मात्र थिएन, पत्रकारहरुप्रति पनि लक्षित थियो । ‘तपाई पत्रकारहरुले पनि टुलुटुलु हेरेर मात्र बसिदिनुभो’, उनले आक्रोश पाखे ।
सरकारले हरेक जिल्लामा खोप लगाउने क्रममा यो पटक ५५ बर्षभन्दा माथि उमेर समूहका सबै नागरिक, सम्पूर्ण शिक्षक प्राध्यापकहरु, यातायात क्षेत्रका श्रमिकहरु, विदेश जाने नागरिकहरु, फ्रन्टलाइनमा खटिने छुटपुट पत्रकार, कर्मचारी, सुरक्षाकर्मी, यसअघि छुटेका सबै ज्येष्ठ नागरिकहरु तथा अत्यावश्यक सेवामा काम गर्ने सबै नागरिकहरुलाई खोप लगाउने सूचना सार्वजनिक गरेको थियो ।

तर यी सबै लक्षित समूहलाई पुग्ने गरी जिल्लामा खोप भने आउन सकेन । खोप प्राप्तिका लागि एकिन तथ्यांक उपलब्ध गराउन जिल्ला स्वास्थ्य कार्यालयले सकेन वा खोप लगाउने सन्दर्भमा व्यवस्थापन हुन सकेन भन्नेमा गम्भीर बहसको अवस्था यो पटकको खोप अभियानले ल्याएको छ ।

दाङ जिल्लामा लक्षित समूहका लागि करिब ३८ हजार खोप प्राप्त भएको यसअघि बताइए पनि ती सबै खोपहरु एकैपटक जिल्लामा स्टक राख्न सक्ने र निरन्तर लगाउन सक्ने अवस्था नहुँदा समस्या भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मंगलवार साँझसम्म करिब ३० हजारभन्दा बढीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । दाङ तेश्रो चरणको अभियानअन्तर्गत ३ दिनको अवधिमा अहिलेसम्म ३० हजार बढी नागरिकलाई भेरोसेल खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । तर खोप लगाउने संख्या ३८ हजार पुग्ने जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिएका छन् ।

‘यो पटक जिल्लामा ३८ हजार नागरिकलाई कोरोना खोप लगाउने कार्यक्रम रहेको छ, त्यही अनुसार अहिलेसम्म ३० हजार बढीलाई खोप लगाइसकिएको छ’, प्रमुख शाहीले भने– ‘बाँकी अहिले पनि चलिरहेकाले यो संख्या बढ्ने छ ।’ उनका अनुसार खोप सकिएको समेत बताए ।

लक्षित बर्गका मानिसहरुलाई खोप लगाउने भनिए पनि जिल्लामा पहुँचवालाको दबावमा खोप लगाउन लक्षित समूहले कोरोना खोप पाउन नसकेको समेत प्रमुख शाहीले बताए । ‘लक्षित वर्गअन्तर्गत ५५ बर्षमाथि उमेर समूह नागरिकलाई खोप लगाउने कार्यक्रम रहेको थियो’, उनले भने– ‘तर पहुँचवालाका कारण लक्षित वर्गले नै खोप पाउन नसकेको अवस्था छ ।’ लक्षित वर्गभन्दा पनि पहुँचको आधारका खोप लगाउन खोज्दा खोप लगाउन खोप केन्द्र पुगेर पनि धेरै नागरिकहरु रित्तै फर्किनुपरेको छ । स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीले भने खोप लगाउन नपाएका नागरिकलाई नआत्तिनसमेत आग्रह गरेका छन् ।

सोलोडोलोमा अभियान

यसैबीच सरकारले जारी गरेको सूचना अनुसारका नागरिकहरुलाई पुग्ने गरी खोप प्राप्त नभएकाले समस्या भएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य महाशाखाले जनाएको छ । ‘सोलोडोलोमा खोप लगाउने उद्घोष गरिँदा समस्या भयो, सरकारले जारी गरेको सूचना अनुसार सबै तह र तप्काको एकिन तथ्यांक लिनै समेत समस्या छ’, स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपानेले गोरक्षलाई भने ।

शिक्षकहरु, यातायात व्यवसायीहरु, अत्यावश्यक सेवामा खटिनेहरुको कुनै पनि पालिकामा एकिन तथ्यांक तत्काल उपलब्ध हुने अवस्था थिएन’, स्वास्थ्य प्रमुख न्यौपानेले भने । त्यससँगै कुन समूहलाई कहिले खोप लगाउने भन्ने तालिका पनि जनस्वास्थ्य कार्यालयले सार्वजनिक नगर्दा समस्या भएको उनको अभिव्यक्ति थियो । साथै तुलसीपुर उपमहानगरपालिकामा जनसंख्याकै सवालमा पनि समस्या देखिने गरेको छ ।

हजारौं नागरिकहरु ऐलानी र खोला किनारामा अव्यवस्थित बसोबास गर्नु र वि.सं. २०६८ सालको जनसंख्याका आधारमा लक्षित समूह निर्धारण गर्नुले सबै लक्षित नागरिकहरुलाई खोप पर्याप्त हुन नसक्ने पनि उनको तर्क थियो । अर्को समस्या भनेको जुनसुकै पालिकाका जनप्रतिनिधिहरुले लाइनमा बसेकालाई नफर्काउने अपेक्षा राखेका कारण पनि लक्षित समूहभन्दा बाहिरका नागरिकहरुले पनि कहिँकतै खोप पाएको हुनसक्ने उनको अभिव्यक्ति थियो ।

त्यसैगरी यातायात श्रमिकहरु सबैलाई खोप लगाउने भने पनि सरकारले सबैलाइ पुग्ने गरी खोप पठाएको छैन । जिल्ला स्वास्थ्य कार्यालयले समेत यस्ता नागरिकहरुको अनुमानित तथ्यांकसमेत प्रक्षेपण गर्न सकेको छैन । जिल्लामा अटो चलाउनेदेखि ठूला–ठूला एसी बससम्ममा कति श्रमिकहरु कार्यरत छन् भन्ने तथ्यांक नै उपलब्ध नभएको अवस्थामा प्राप्त सीमित खोपबाट अभियान चलाउन खोज्नु आफैमा व्यवस्थापकीय कमजोरी भएको नागरिक अगुवाहरुको बुझाइ छ ।

सरकारले तोके अनुसार सबै लक्षित समूहलाई खोप उपलब्ध गराउने हो भने तुलसीपुरमा मात्रै कम्तीमा १५ हजार खोप आवश्यक हुने जनस्वास्थ्य निरीक्षक तथा कोरोना फोकल पर्शन विमल केसीले बताएका छन् । सरकारले निर्दिष्ट गरेको अत्यावश्यक सेवामा तरकारी व्यवसायीदेखि डेरी सञ्चालकसम्म पर्ने भएकाले पनि सबै समूहलाई खोप उपलव्ध गराउन प्रदेश सरकारले उपलब्ध गराएको कोटाले नपुगेको पनि उनको भनाइ थियो ।