भदौदेखि प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट

  •   
  •  

गोरक्ष समाचारदाता
तुलसीपुर, ५ साउन । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा साउनको अन्तिम सातादेखि अक्सिजन प्लान्ट सञ्चालनमा आउने भएको छ । अर्थमन्त्रालयले पठाएको बजेटबाट उक्त अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउन लागिएको अस्पताल प्रशासनले जनाएको छ ।

अक्सिजन प्लान्ट सञ्चालनमा आएसँगै दैनिक ७५ वटा सिलेण्डर अक्सिजन उत्पादन गर्न सकिने अस्प्तालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. बिनोद सिंहले जानकारी दिए । त्यसका लागि केही समय पहिले अक्सिजन प्लान्टको सामान अस्पतालमा आइपुगेको उनले बताए । उनका अनुसार ट्रान्सफरहरु बनिरहेको छ, त्यो बन्यो भने दैनिक ७५ वटा सिलिन्डर उत्पादन हुने उनको भनाइ छ ।

‘अक्सिजन उत्पादनको लागि काम तीव्र गतिमा सञ्चालन भइरहेको छ’, उनले भने– ‘साउनको अन्तिम सातादेखि अक्सिजन उत्पादन गर्ने तयारीमा छौँ ।’ अस्पतालमा यसअघि नै अक्सिजन जेनेरेटर सञ्चालनमा आएको भए पनि प्राविधिक समस्या देखाउँदै सो जेनेरेटरसमेत नियमित सञ्चालनमा आउन सकेको थिएन ।

अस्पतालमा यसअघि सानो मात्रामा उत्पादन हुने अक्सिजन प्लान्ट पनि सञ्चालनमा आएको थियो । तर त्यो प्लान्ट पटक–पटक बिग्रिरहने समस्याले गर्दा बिरामीले सहजरुपमा उपचार पाउन सकेको अबस्था थिएन । यसअघि जडान भएको अक्सिजन प्लान्ट गतिलो गरी सञ्चालनमै आउन नपाउँदै पटक–पटक बिग्रने गरेको तथा अहिले चल्नै छाडेको पनि अस्पतालले जनाएको छ । अब भने अक्सिजन सेवा सहज हुने अस्पतालले जनाएको छ ।

कोरोनाको अर्को महामारीसँगै अस्पतालमा सञ्चालनमा आउने आइसियु सेवा, शल्यक्रिया कक्ष तथा दमलगायतका दीर्घरोगीहरुका लागि पनि अक्सिजन अत्यावश्यक भएकाले यो प्लान्ट जडानसँगै अब तुलसीपुरमा अक्सिजनको मागलाई सम्बोधन हुनेछ । केही समयअघि जिल्लामा व्यापकरुपमा फैलिएको कोरोना संक्रमणको दोस्रो लहरमा तुलसीपुर प्रादेशिक अस्पतालमा अक्सिजनको अभावका कारण धेरै बिरामीलाई अन्यत्र रिफर गर्नुपरेको थियो । ‘पहिलेको सामान पुरोना पनि भयो मान्छे बोलाएर बनाए पनि केही दिनमै बिग्रिने समस्या छ’, सिंहले भने ।

सामानहरु पनि पाउन कठिन हुने र बनाउने मान्छे पनि भनेको सायमा नआउने भएकाले ती सामान अस्पतालमै राखिएको पनि अस्पतालले जनाएको छ । अहिले अक्सिजन प्लान्ट जडान गर्नको लागि १ करोड ३६ लाखमा टेण्डर भएको छ । त्यसैगरी अर्थ मन्त्रालयले पठाएको बजेटबाट एचडियु बेड आइसकेको र पीआईसीको बेड आउन बाँकी रहेको छ । पिआईसीको बेड पनि साउनको १५ गतेसम्म दाङ आइपुग्ने छ ।