सपनाभित्रको सपना

  •   
  •  

बिराज पोख्रेल

विहे अघि साथीभाइहरूसँग धेरै ठाउँ घुमेको छु तर विहे पछिका चार वर्ष सपना (श्रीमती) सँग आफ्नै दाङ जिल्ला आसपासका क्षेत्रहरू समेत घुमेको रहेनछु । लामो समयपछि बिदा पाइएकोले बुढाबुढीले जिल्लाको सेरोफेरो घुमेर बिदा मनाउने ‘प्लान’ बनायौँ र सुत्यौँ ।

भोलिपल्ट बिहानै उठेँ, ग्यारेजबाट टेस्ला कार निकालेँ । राम्रोसँग सफा गरेँ । आफूपछि टेस्लालाई पनि नुहाइदिएँ । किनकि टेस्लाले हामीलाई गन्तव्यसम्म त लैजान्थ्यो नै, चिल्लो बाटोमा सरर देखाएर जानु पनि त थियो । सबै चाँजोपाजो मिलाएर घोराहीको पनौरास्थित पोख्रेली भिल्लाबाट क्याम्पस हुँदै स्मार्ट रोडमा विस्तारै टेस्ला गुडाउँदै, वरपरका हरियाली नियाल्दै घोरदौराका लागि निस्कियौँ, हामी ।

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानको छेउमा रहेको कटुवा खोला पुलमा पुग्दा नौलो परिवेशमा पुगेको महसुस भयो । हाई ड्याम बाँधेर पुलको माथिल्लो भागमा बनेको विशाल तालले हामीलाई नौलो अनुभव गराएको थियो । ताल वरिपरि थरि–थरिका चराचुरुङ्गी त थिए नै साथै सयौँ मानिसहरू ‘सेल्फी’ खिच्दै डुङ्गा सयर गरिरहेका थिए । म झुक्किएँ, कतै यो पोखराको फेवाताल त हैन् भनेर । खैर ! मलाई ड्यामले पोखरामा पुगेजस्तो भान गरायो । मलाई पनि बुढीसँग मस्केर ‘सेल्फी’ खिच्न मन लाग्यो । गाडी रोकेर सेल्फी खिच्यौँ । ठाउँ साच्चिकै फेवाताल जस्तै रहेछ । किनकि मोबाइलमा फोटो आइसकेको रहेछ ।

माथि आकासतिर हेरेँ, प्याराग्लाइडिङ गर्दै गरेको दृश्य देखियो । प्याराग्लाइडिङ गर्ने ठाउँ जिल्लाकै घोरदौरा रहेछ, जुन हाम्रो पहिलो गन्तव्य थियो । ढिला नगरी हामी कटुवा खोला हाइड्यामबाट अगाडि बढ्यौँ । उकालो लाग्ने मुखैमा अर्को एउटा पोखरी पनि रहेछ । उक्त पोखरीको पानीलाई कटुवा खोलामा झार्नको लागि कुलो बनाई एकजना उद्यमी दाइको परिवारले नवलपुरमा कलात्मक तरिकाले माछा पोखरी बनाई ‘ट्राउट’ माछा पालन गर्नुभएको रहेछ ।

कलेज ‘लाइफ’ताका ककनीमा घुम्न जाँदा खाएको माछा दाङमै देख्दा त सपना देखेजस्तो भयो बरै । विश्वास लागेन, आफैलाई चिमोटेँ, दुख्यो, साच्चिकै रहेछ । ‘फर्कँदा माछा लिएर फर्कने है’ बुढीले भनिन् । सहमति जनाउँदै मैले टेस्ला अगाडि बढाएँ । उकालो तर नागबेली बाटो, चिल्ला एवम् फराकिलो बाटो, छेउछाउँमा हरिया रूखहरू, चिसो हावा, गाडीमा हुइँकिन कम्ता रमाइलो लागेन ।

यत्रो वर्षसम्म घुम्न ननिस्किएकोमा पछुतो पो लाग्यो बरू । घोरदौराको उकालोबाट देखिएको घोराही बजार, बजारको छेउको त्यो ठूलो ताल ड्यामे ताल, त्यही तालमा तैरिरहेका डुङ्गा, कसम ! अत्ति नै सुन्दर थिए । घोरदौरामा पुग्दा नपुग्दै भोक लागिसकेको थियो, हामीलाई । त्यहाँ वरपर रहेका आकर्षक होटेल एवं रेष्टुरेण्टले झनै भोक बढाइदियो । नवलपुरकै ट्राउट माछा र दाङको बधिया भालेसँगको खाना यति मीठो लाग्यो कि सायदै त्यो भन्दा पहिले त्यति मीठो परिकार खाइएकै थिएन ।

खानापछि प्यराग्लाइडिङ गर्ने योजना थियो, त्यतैतिर लाग्यौँ । हामीलाई पाइलट पनि चाहिएन प्याराग्लाइडिङ गर्न, आफैले आफैलाई उडायौँ । यसरी उड्खा दाङको त्यो ठूलो ताल माथिको आकासमा छु भन्ने विश्वास नै लागेन । किनकि यसरी आफ्नै जिल्लाको आकासमा कहिल्यै उडेको पनि त थिएनँ । उड्दा–उड्दै बुढीलाई चिमोट्न लगाएँ, अहँ ! हामी त विपनौ आकास माथि–माथि बादल छुन उडिरहेका थियौँ ।

पहिलो पटक बुढोसँग यसरी घुम्न र उड्न पाउँदा मेरी बुढी साह्रै हँसिलि र खुसी देखिन्थिन् । कत्ति छिटो हामी ल्याण्ड गर्ने समय भइसकेछ । विस्तारै हामी अम्बिकेस्वरी मन्दिर परिसरमा ल्याण्ड ग¥यौँ । हाम्रो गाडी हाम्रै अगाडि ल्याइदिने सुविधा पनि रहेछ, त्यसैले गाडीको चिन्ता गर्नुपरेन । गाडी चढ्यौँ, बाटोभरि आकासमा चराजस्तै बुढाबुढी घुम्दाको रोमाञ्चकारी दृश्य सम्झँदै अर्काे गन्तव्यतिर गाडी हुइँक्यायौँ ।

हाम्रो अर्काे गन्तव्य थियो नारायणपुर अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ‘अल्ट्रा लाइट स्काई’ । आकासमा उडेरै दाङ घुम्ने चाहना बोकेर हिडियौँ, नारायणपुरतिर । छ लेनको फराकिलो, धुलोधुवाँरहितको बाटोमा मेरो विद्युतीय टेस्ला यसरी गुड्यो कि ठिक दश मिनेटमा नारायणपुर एयरपोर्टमै पुग्यो । ठूला–साना राष्ट्रिय ध्वजावाहक तथा अन्तर्राष्ट्रिय विमानहरूले भरिएको थियो जिमानस्थल । इनवाउन्ड र आउटवाउन्ड गर्ने यात्रुहरूको ठूलो भीड थियो ।

म आफूलाई सीपको धनी मान्छु । त्यसैले त अल्ट्रालाइट पनि आफैँ नै उडाउन थालेँ । आकासमा उड्दा फेरि यसरी उड्दा मन कम्ता चङ्गा भएन । आकासबाट दाङ हेरेँ, जताततै हरियाली, विभिन्नखाले फलफूलका बगैँचा, मौसमी खेतीपाती नियाल्दै हामी हामी म हुर्केको गाउँ उरहरी जसपुरतिर पुग्यौँ । मेरा परममित्रले जिघौविगाहमा कागती खेती गर्नुभएको रहेछ ।

आकासैबाट देखेँ । आकासबाट नै देखिने भोगटे जत्रा कागती लटरम्म फलेको देखेर म कम्ता अचम्भित भइनँ हुँला । प्रायः सुख्खा खडेरी हुने दाङमा यो कसरी सम्भव भयो ? भनी निरीक्षण गर्दैगर्दा उत्तरतिर महाभारत पर्वतको फेदमा विशाल एवम् मनमोहक नहर छर्लङ्ग देखियो ।

हाम्रो अबको अन्तिम गन्तव्य भनेको दाङ जिल्लाको उर्वर भूमिलाई सिञ्चित गर्ने नहर प्रत्यक्ष हेर्ने थियो । हामी गाडीबाट उक्त स्थानमा पुग्यौँ । रोल्पाको माण्डवी नदीलाई सुरुङमार्फत् दाङमा झारी महाभारत पर्वतको फेदैफेद पुरै दाङको भू–भाग सिंचाइ हुने गरि पूर्व–पश्चिम नहर निर्माण गरिएको रहेछ । यो नहरले पनि हाम्रो यात्रालाई मनमोहक बनायो । लाग्यो, म चार वर्ष मात्र त भएको थियो तर विकास त थुप्रै ठाउँमा भएछ ।

नहरको छेउमा बसेर अर्काे मनले सोचे, आहा ! हाम्रै गाउँठाउँ पर्यटकीय क्षेत्र भएछन् । यी क्षेत्रहरूले आफूलाई दङाली हुनुमा गर्वको महसुस गराए । नहरमा पानीको बहाव धेरै हुँदा साइरन बज्छ नै जसले जसले सम्पूर्ण दङालीलाई सरक्षित रहन सूचित गर्छ । यो वर्षातको बेला भएर पानीको मात्रा अलि बढेको थियो नहरको, अकस्मात साइरनको आवाज बज्यो धेरै नै जोडले ।

साइरन झन जोड–जोडले बज्दै गयो । नहरको पानी झन पछि झन बढ्दै गर्दा साइरन यति बेस्सरी बज्यो कि म झसङ्ग भएँ । वास्तवमा त्यो नहरमा बढेको पानीका कारण बजेको साइरन नभएर मेरो मोबाइलको अलार्म बजेको रहेछ । घडीको अलार्म बन्द गरेर बेडमै बसेँ अनि केहिबेर एक्लै मुसुक्क मुस्कुराएँ । फ्रेस भएर अनलाइन कक्षा पढाउनतिरलागेँ ।
घोराही दाङ