कोभिडविरुद्धको खोप सुरु–‘अब अलि निर्धक्क भइयो’

  •   
  •  

बालाराम खड्का

तुलसीपुर, ४ साउन । तुलसीपुर–६ कि जेष्ठ नागरिक पार्वती रिजालले कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाएपछि निकै खुसी भइन् । आइतवार करिब ७ घण्टा लाइन लागेर साँझ ४ बजे खोप लगाएकी रिजालले अब भने कोरोना संक्रमण भइहाले पनि मन भने ठूलो भएको बताइन् । ‘खोप लगाउन समय लाग्यो तर अब अलि निर्धक्क भइयो, खुसीका साथ खोप लाएर राप्ती प्रादेशिक अस्पतालबाट बाहिरिँदै गर्दा उनको मुहार हसिलो थियो ।

दोस्रो डोज खोप लगाएकी उनले खोपको व्यवस्थापन गर्ने सबैलाई धन्यवादसमेत दिइन् । त्यस्तै तुलसीपुर–५ की भुमा केसीले पनि खोप लगाउन पाएकोमा खुसी हुँदै आफू अब सुरक्षित हुने आशा व्यक्त गरिन् । ‘विश्वमा महामारीको रुपमा आएको कोभिड–१९ विरुद्धको खोप पाएका छौँ अब भने अलि मन ढुक्क भएको छ’, उनले भनिन् । पहिलो डोज कोभिडको खोप लगाएकी केसीले खोप लगाएपछि कोभिड लागे पनि त्यति सिकिस्त नहुने भन्ने सुनेको भन्दै निकै खुसी भएकी थिइन् ।

त्यस्तै राप्ती प्रादेशिक अस्पतालमा खोप लगाएका सुरक्षाकर्मीले पनि खोप लगाएर आफूहरु सुरक्षित भएको अनुभूति व्यक्त गरे । सधै फ्रन्ट लाइनमा जनताको सेवामा खटिने प्रहरीहरु पनि कोरोनाको जोखिम भएको भन्दै अब भने आफूहरु केही हदसम्म सुरक्षित भएको बताए । दाङसहित देशभर आइतवारदेखि कोरोना भाइरस संक्रमणविरुद्ध भेरोसेल खोप लगाउन सुरु गरिएको छ । सरकारले ५५ वर्षमाथिका सबै नागरिक, यसअघि खोप लगाउन छुटेका सुरक्षाकर्मी, पत्रकार, जनप्रतिनिधिलगायत लक्षित बर्ग, सार्वजनिक सवारी साधनका चालक, सहचालक, शिक्षक, कर्मचारीलाई खोप लगाउन सुरु गरेको छ ।

सोहीअनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा खोप लगाउने मानिसहरु बिहानैदेखि उत्साही भएर दिनभर लाइनमा लागेका थिए । जसले गर्दा खोप केन्द्रमा अत्यधिक भीड लागेको थियो । पहिलो दिन भएकाले पनि खोप लगाउने मानिसहरुको भीड बढेको अस्पतालले बताएको छ । तीन दिनसम्म खोप लगाउने समय भए पनि धेरैजसो मानिसहरु खोप लगाउने भन्दै आइतवार आएका थिए ।

तुलसीपुरका १९ वटा वडामा २० वटा खोप केन्द्रबाट खोप लगाइएको थियो । प्रत्येक केन्द्रमा १ सय ५० देखि २ सयसम्म डोज खोप वितरण गरिएको कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए । उनले आइतवारमात्र करिब ३५ सय जनालाई खोप दिएको बताए । आइतवार जेष्ठ नागरिलाई कोभिडको खोप लगाउने कार्यक्रम रहे पनि शिक्षक, सुरक्षाकर्मी, पत्रकारहरुलाई समेत खोप केन्द्रमा आएकाले उनीहरुलाई खोप दिएको बताइएको छ । यसले गर्दा सबै जेष्ठ नागरिकलाई खोप लगाउन नसकिएको उनले बताए ।

‘आज खासमा जेष्ठ नागरिकलाई खोप दिने भनिएको थियो तर अन्य कर्मचारी, शिक्षक, चालक सबै आउनुभयो त्यसैले व्यवस्थापनमा केही समस्या भएको छ’, केसीले भने । उनले तुलसीपुरमा ८ हजार ७ सय ५५ जेष्ठ नागरिकलाई खोप लगाउने कार्यक्रम रहेको बताए । पहिलो दिन खोप आउन समय लागेकाले पनि सोचेअनुरुप खोप दिन नसकिएको बताए । उनले अझै २ दिन खोप लगाउने समय भएकाले हतार नगर्न पनि आग्रह गरे ।

‘जेष्ठ नागरिक सबैले खोप पाउनुहुन्छ ढुक्क हुनुहोस् सबैले खोप पाउनुहुने छ’, केसीले भने । यसैबीच दाङमा खोप भण्डार गर्ने क्षमता कम भएकाले समस्या भएको केसीले बताए । उनले बुटवलबाट खोप ल्याउनुपर्ने भएकाले केही समस्या भएको बताए । ‘आज पनि बुटवल बाट खोप ल्याउने हो, कति बेला आउँछ थाहा छैन खोप आएपछि लगाउन सुरु गर्नेछौँ’, केसीले भने ।

दाङ जिल्लामा ५५ बर्षभन्दा माथि उमेरका सबै नागरिकहरु तथा नेपाल सरकारले तोकेका अन्य क्षेत्रका केही नागरिकहरुलाई कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप सुरु गरिएको हो । यसअघि सरकारले ६२ बर्षदेखि ६४ बर्षसम्म र ६६ बर्षभन्दा माथिकालाई खोप लगाउँदा कारणवश छुटेका यो उमेर समूहका सबै नागरिकलाई खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शनिवार दाङ जिल्लाका लागि ३८ हजार डोज खोप आएको थियो । जिल्लामा आएका सबै डोज खोपको स्टोर गर्न सक्ने क्षमता नभएपछि शनिवार भने १० हजार डोज खोप मात्रै झरेको थियो ।