तीन सामुदायिक वन ‘उत्कृष्ट’ : ‘जीविकोपार्जनमा वनको योगदान’

दाङ, २३ असार । डिभिजन वन कार्यालय लमहीले आफ्नो क्षेत्रभित्रका तीन सामुदायिक वनलाई उत्कृष्ट सामुदायिक वनमा घोषित गर्दै सम्मान गरेको छ । वन संरक्षण, विकास र व्यवस्थापनमा प्रभावकारी काम गरेको भन्दै गढवा गाउँपालिकाको कुलोपानी सामुदायिक वन, लमहीको टिकुलगढ सामुदायिक वन र राजपुर गाउँपालिकाको श्रीशक्ति सामुदायिक वनलाई प्रथम, दोस्रो र तेस्रो रुपमा घोषणा गरेको हो ।

प्रथमलाई १७ हजार, दोस्रोलाई १५ र तेस्रोलाई १४ हजार रुपैयाँ र प्रमाणपत्रले सम्मान गरिएको थियो । मंगलवार सम्पन्न भएको वन क्षेत्र समन्वय समितिको सरोकारवालासँगको बैठकमा ती सामुदायिक वनहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले सामुदायिक वनहरुले समुदायको जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गरेका थिए ।

‘विद्यालय, सडक बनाउनेदेखि अन्य क्षेत्रमा वनहरुले महत्वपूर्ण भूमिका छ’, सासद शर्माले भने– ‘त्यसले समाजमा सकारात्मक प्रभाव पारेका छन् ।’ उनले जीविकोपार्जनमा थप सुधार ल्याउनको लागि कार्यक्रम बनाएर जानसमेत डिभिजन वन कार्यालयलाई सुझावसमेत दिए ।

वन क्षेत्र समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले वनहरुले समाज रुपान्तरणमा खेलेको भूमिकाको चर्चा गर्दै वन क्षेत्रको संरक्षणमा ध्यान दिनुपर्ने बताए । ‘धेरै ठाउँमा वन विनास भएको छ । डाँडाहरु खाली छन् । ती क्षेत्रमा वृक्षारोपण गरेर वन क्षेत्रको विकास गर्न सकिन्छ’, उनले भने– ‘त्यसको लागि सबै क्षेत्रको सहयोग र सहकार्य आवश्यक छ ।’ उनले वन क्षेत्रमा भैराखेको चोरी निकासी रोक्न सबै गम्भीर बन्नुपर्ने समेत बताए ।

कार्यक्रममा डिभिजन वन कार्यालय लमहीका प्रमुख वेसिन्द्रराज सुवेदीले चालु आव ०७७÷०७८ मा सम्पन्न भएका कार्यक्रमको बारेमा जानकारी गराएका थिए । यसैबीच चालु आवमा कार्यालयबाट सम्पादन भएका काम सन्तोषजनक भएको निष्कर्ष बैठकले लिएको छ । त्यसैगरेर वन क्षेत्रमा भैराख्ने चोरी निकासीलाई निरुत्साहित गर्न सबै क्षेत्रसँग समन्वय र सहकार्यलाई जोड दिने निर्णय गरेको छ ।

त्यसैगरेर बैठकले उत्कृष्ट भएका वन समूहलाई बधाई दिँदै आगामी दिनमा वन क्षेत्रको संरक्षण र विकासमा प्रभावकारीरुपमा काम गर्न अनुरोध समेत गरेको छ । वनका स्थानीय राजनीतिक दल, वन क्षेत्रका अगुवा र पत्रकाहरुले समेत सुझाव दिएका थिए । कार्यक्रमको सहजीकरण डिभिजन वन कार्यालयका नासु विमला अधिकारीले गरेकी थिइन् ।