पार्वती बस्नेत
दाङ, १८ असार । ‘दुईवटा छोरा आप्mनो खुट्टामा उभिसकेका छन् । एउटा छोरा क्यानाडा छ, अर्को छोरा बुटवलमा फार्मेसी चलाएर बसेको छ । तरपनि यी छोराहरुलाई यो ठाउँमा उभ्याउन र मलाई उद्यमी भनेर चिनाउनका लागि ग्रामीण महिला उत्थान केन्द्र दाङको महत्वपूर्ण भूमिका छ’ गढवा १ कालाकाँटे निवासी पवित्रा जिसीले भनिन् । जिसी ग्रामीण महिला उत्थान केन्द्र दाङले गठन गरेको भालुबाङ शाखाको केन्द्र नम्बर २५ की समूह सदस्य हुन् ।
यो समूहमा उनी बसेको १२ वर्षभन्दा बढी भइसकेको छ । ‘पैसा कमाउनुपर्छ भन्ने त थाहा थियो तर कसरी कमाउने भन्ने मेसो नै थिएन् अनि गरिखाउ भनेर कसैले पनि आइडियाका साथै पैसो दिएन, यस्तै बेलामा ग्रामीण महिला उत्थान केन्द्र दाङले सञ्ंचालन गरेको लघुवित्त कार्यक्रमका कर्मचारी बिपी वली सर हाम्रो क्षेत्रमा आएर समूहमा बसेपछि बिनाधितो र धितो राखेर पनि कर्जा सेवा उपलब्ध गराउने र समूहको महत्व, बचत किन र कसरी गर्ने भन्ने बारेमा जानकारी गराउनु भयो, त्यहीँबाट सिकेर आज यहाँसम्म आएको छु’–उनले भनिन् ।
टोलका दिदीबहिनीहरु मिलेर समूह बनायौँ र समूहमा बस्यौँ । पहिलोपटकमै बिना धितो समूह जमानीको आधारमा १० हजार कर्जा पाएको उनले सम्झना गरिन् । उनले त्यो १० हजार कृषि पेशामा लगाएको बताइन । १० हजार कर्जा ल्याएर व्यवसाय सुरुवात गरे पनि पटक–पटकको किस्ता गरेर अहिले मैले ग्रामीण महिला उत्थान केन्द्र दाङअन्तर्गत नै जन्मिएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडबाट ३ लाख कर्जा लिएर व्यवसाय गर्दै आएको उनले बताइन् । ‘आज मेरो खोरमा १५ वटा बाख्रा, १ सय ५० वटा लोकल कुखुराहरु र ५१ वटा बंगुरहरु रहेका छन्, त्यत्तिमात्रै होइन मैले पवित्रा बंगुर फार्म समेत दर्ता गरिसकेकी छु’–उनले भनिन् ।
विसं २०४० सालमा विहे गरेपछि प्यूठानबाट बसाई सरेर कालाकाँटे झरेकी पवित्रालाई पैसा कमाउने हुटहुटी थियो । सुखद् घरजमसँगै उज्ज्वल भविष्य बनाउने सपनाले उनलाई पहाडी एरियाबाट बसाई सरेर तराई झारेको थियो । पहाडमा केही गरौँभन्दा पनि भिरालो जमिन, प्रशस्त जग्गा थिएन, खान–लगाउन समेत धौ–धौ पर्ने अवस्था थियो । पवित्रा र श्रीमान् ढालबहादुर जिसीलाई आफूहरुको उज्ज्वल र सुखद भविष्य निर्माण गर्नका लागि बसाई सराईभन्दा फरक विकल्प अरु केही थिएन । संघर्ष गर्दाको बखत अचानक सारथी बन्न ग्रामीण महिला उत्थान केन्द्र दाङ आप्mनो घरमै आइपुगेको पवित्राले बताइन् । ८ कक्षासम्म मात्रै पढेका उनका श्रीमान् ढालबहादुर र विद्यालय समेत कुल्चिन नपाएकी पवित्रालाई आजभोलि जिन्दगी सपनाजस्तै लाग्छ ।
कुनै समय आप्mना दिदीबहिनी, आफन्तीहरुले समेत चाडपर्वमा भेट हुँदा पैसा सापटी माग्छे कि भनेर खुलेर कुरा नगर्ने र नजिक पर्न समेत हिच्किचाउने गर्थे तर आजभोलि घरपरिवार, आफन्ती, छरछिमेक र गाउँ समुदाय सबैले माया गरेको देख्दा पवित्रालाई निकै खुसी लाग्छ ।’ पवित्राले आजभोलि छरछिमेक, आफन्तीहरुलाई समेत आवश्यकता परेको खण्डमा सक्दो सहयोग गर्दै आएकी छिन् ।
मासिक १ हजार समूह बचत गर्दै आएकी पवित्राले अहिले एउटा बंगुरको पाठालाई ५ हजारका दरले विक्री गर्दै आएकी छिन् । साथै लोकल कुखुरा र बाख्राहरु विक्री गरेर वार्षिक रुपमा १२ देखि १५ लाखसम्मको कारोबार गर्दै आएको उनले बताइन् । पवित्राले उत्पादन गरेका बस्तुहरुको बजार भनेको बुटवल, भैरहवा र स्थानीय तहमा रहेका होटलहरु हुन् । पवित्राको फार्ममा अहिले दिनहु काममा सहयोग गर्नका लागि २ जना सहयोगी छन् ।