नेपालको राजनीतिक दुर्दशा

गुरुप्रसाद शर्मा रेग्मी

नेतागिरिमा लागेको व्यक्ति होस् या समाजसेवामा लागेको व्यक्ति होस्, उसले अरु व्यक्तिहरुकोभन्दा आफ्नो विशिष्ट व्यक्ति बनाउन र देखाउन सकेन भने आफूलाई सबैको सम्माननीय र प्रिय बनाउन सक्दैन । त्यसकारण राजनीकि दलको नेता बन्न या समाजसेवी बन्न या कुशल प्रशासक बन्न यी क्षेत्रमा प्रवेश गर्न चाहने व्यक्तिले आफ्नो दृष्टिकोण शुद्ध एवं प्रखर बनाउन सक्नुपर्छ । अनि मात्र उसले सही मानेमा आफ्नो आन्तरिक शक्तिलाई उपयोगी ढङ्गबाट त्यसमा लगाउन सक्दछ ।

आत्मोकर्ष एवं समाजोत्कर्षको संयुक्त लाभ प्राप्त गर्न सक्दछ । आफ्नो व्यक्तित्वलाई उच्च र सम्मानित बनाउन सक्दछ । यदि उनीहरुको दृष्टिकोण शुद्ध र परिमार्जित हुन सकेन भने उसलाई प्राप्त हुने उपेक्षा आलोचना र कठिनाइहरुबाट विचलित हुँदै जान्छ । मनमा गलत र अमानवोचित चिन्तनहरु उठ्न थाल्छन् ।क्रो र लोभको उदय हुँदै जान्छ । पद विमुख हुँदा व्यक्तित्व विमुख हुँदै गएका हुन्छन् । राजनीतिक, सामाजिक, प्रशासनिक क्ष्ँेत्रमा केही पाउन सक्दैनन् । मात्र आफ्नो प्रतिष्ठाको श्राद्ध र तर्पण आफ्नै हातले गर्दै जान्छन् । सामाजिक, राजनीतिक अस्तित्व धरासायी हुँदै जान्छ ।

त्यकारण यी क्ष्ँेत्रमा लागेका व्यक्तिहरुल्े आफ्नो प्रतिष्ठाको श्राद्ध र तर्पण गर्ने काम नगरेर प्रतिष्ठाको जन्मोत्सव मनाउने काम गर्दा सुधारात्मकभन्दा रचनात्मक काम हुन जान्छ । उसको प्रतिष्ठा अनुकरणीय र सम्मानित हुनसकेको हुन्छ । यो देशको नेतृत्व तहमा हेर्ने हो भने आफ्नो प्रतिष्ठाको श्राद्ध र तर्पण गर्ने जमात बाक्लो छ । प्रतिष्ठालाई अनुकरणीय र सम्मानित बनाउनेको संख्या नगन्य नै छ ।

सामाजिक, राजनैतिक, प्रशासनिक नेतृत्व गर्ने मनुष्यमा देवत्वको उदय हुनु पर्छ । धरतीमा स्वर्गको अवतरण गराउन क्रियाशील हुनु पर्दछ । यस्तो व्यक्तित्वले परिवार निर्माण, समाज निर्माणलाई मात्र हेर्दैन । उसले त विचार क्रान्ति, नैतिक क्रान्ति, धार्मिक क्रान्ति एवं सामाजिक क्रान्तिद्वारा जनमानसको भावनात्मक परिस्कार गर्न लागिपरेको हुन्छ । सुधारात्मक र रचनात्मक कार्यक्रमहरु सञ्चालन गरेर मानिसहरुको भावनालाई उभार्ने र जागृत गर्ने काम गरेको हुन्छ ।

त्यस्तै व्यक्तिहरु भौतिक रुपमा धरतीमा नभए पनि अजर र अमर भएर जनताको आँखामा जीवित हुन्छन् विभिन्न क्षेत्रको नेतृत्व गर्छु भन्ने नेतृत्वको आफ्नो विशुद्ध दृष्टिकोण बनाउन प्रबल अभ्यास गर्न सकेन भने लोभ, मोह आदि भवबन्धन, आदर्शवादी, आध्यात्मिकताको मार्गमा हतकडी, नेलजस्तो अवरोध उत्पन्न गराउँछ । जसले गर्दा आफ्नै तोलको तराजुमा तौलँदा मात्र उसको स्वार्थ वजनदार भएको मन्ने नेतृत्वको प्रवृत्ति भएकाले त्यसैमा तल्लीन भएको दैख्न सकिन्छ । यदि नेतृत्वको स्वार्थमा कमी आयो भने या वजन कम देखिनथाल्यो भने विभिन्न आडम्बर गर्न गराउन थाल्दछ ।

प्रायः नेतृत्वले आडम्बरहरुमा खर्च कमभन्दा कम गर्ने र आफूलाई समाजसेवी, पुण्यात्माको ख्याति बढीभन्दा बढी खरिद गर्ने प्रयास गरिरहेको दैख्न सकिन्छ । स्वार्थको तराजु उसको आँखा अगाडि हुन्छ । कति कमाए र कति गुमाएको जोडघटाउमा लागिरहेको हुन्छ । यसको अतिरिक्त परिवार, चम्चा चाकेर झोलेको लागि अनन्त, अनुदान, राहत र सहयोग केही पनि गर्न पछाडि नपर्ने गरेको अनेकौँ उदाहरण छन् । सुकुम्बासीको जग्गा हुकुमबासीले खाएको, सुकुम्बासीको अनुदान राहत सहयोग हुकुमबासीले आज पनि खाइरहेको छ । गरिबी निवारण गर्न आएको मित्रराष्ट्रको सहयोग अनुदानले धनीको उभारण भइरहेको कुरा नकार्न सकिँदैन ।

परिवारको उत्तरदायित्व निभाउनु, कर्तव्य पालना गर्नु जायज हो तर आफ्ना सन्तानलाई आवश्यकताभन्दा बढी सुविधा दिने, लाड, प्यार, गलत सामाजिक र अमर्यादित कार्य गर्दा पनि सुरक्षा र संरक्षण दिने नेतृत्वबाट काम भइरहेकाले व्यक्तित्वको दृष्टिले उसलाई हेय बनाइदिने । अझ भन्ने हो भने आफ्नो सत्तालाई बनाउने काम नेतृत्वले गरिरहेको कुरालाई पनि नकार्न सकिँदैन । यति मात्र कहाँ हो र ? धन, धम्भ र अहम्ताको मृगतृष्णामा परेर उनीहरु कति पाखण्डी बनेका हुन्छन् भन्ने कुराको कुनै लेखा हुँदैन । कात्रोमा गोजी हुँदैन भन्ने जान्दाजान्दै पनि धनले उनीहरुको कहिल्यै पेट भरिँदैन । राष्ट्रिय धनलाई पानी सरह बगाइरहेका हुन्छन् ।

तर आवश्यक प्रयोजनमा खर्च गर्ने रकम छैन भनेर कटौती गर्दै गर्दा योजना परियोजना, कार्यक्रम अलपत्र पर्न गएका हुन्छन् । यी आदर्शवादी देखिने नेताहरुको मनमा चोरढोकाबाट लोभ, दम्भ, विशिष्ट बन्ने आकांक्षाभित्र पसेको हून्छ । अनि तानाशाहझैँ सिंहासनारुढ बनेर बसेको हुन्छ । वरपरका धर्म, सम्प्रदाय, संघसंगठन संस्था सबैमा आफ्नो पकड बलियो बनाउन खोजिरहेको हुन्छ । असर उल्टा परिरहेको हुन्छ । यिनै कारणले गर्दा यो देशको नेतृत्वप्रति जनतामा वितृष्णा बन्दै गएको हो ।

कोही जननेता हुन सकेनन्, जो छन् सब निहित स्वार्थका नेता बनेर आफ्नो स्वार्थको दलदलमा जनतालाई फसाउन खोजिरहेको नभए आजको राजनीतिक दुर्दशा हुने थिएन । षड्यन्त्रकारी राजनीति देखेर सबै चकित छन् । यिनको बोली, विचार, भनाइ, गराइमा एकरुपता हुँदैन । त्यसैले यिनको प्रहर–प्रहरमा अलग–अलग बोली र विचार भनेको सुन्न र देख्न पाइन्छ । यो राजनीति नभएर षड्यन्त्र नीति हो । यसैलाई आत्मसात गरेर हिडेको नेपालमा देखिन्छ ।