राजनीतिक भाषा, फ्याँकिएको कपटी पासा

मधुसूदन सुवेदी

राजनीतिमा प्रयोग भएका जति पनि जनजिभ्रोको मीठो सरल, कोमल, भावुक, लोकप्रिय, आशालाग्दो, भरपर्दो, नरम, हृदयस्पर्शी, कर्णप्रिय, मायालु, स्नेही, दयालु आदि सबै कपटी पासा नै रहेछन् ।

आज देशको राजनीतिक परिवर्तनसँगै भएको भाषिक परिवर्तनले देश र जनतामा के त्यस्तो ठूलो प्रभाव पा¥यो ? देश र जनतामा के त्यस्तो ठूलो परिवर्तन ल्यायो ? खालि बोल्नेका लागि बोल्न मज्जा, सुन्नेका लागि सुनाउन मज्जा, लेख्नको लागि लेखाउन मज्जा, देख्नेका लागि देखाउन मज्जा बाहेक अर्को के नै पो भयो र ? आज लोकतन्त्र–लोकतन्त्र भन्दाभन्दै लोक कहाँ छन् ? तन्त्र कहाँ छ ? स्वयम् राजनीति गर्नेलाई समेत थाहा छैन । प्रजातन्त्र–प्रजातन्त्र भन्दाभन्दै प्रजा कस्ता छन् र तन्त्र कस्तो छ ? स्वयम् प्रजातन्त्रधारीलाई समेत थाहा छैन ।

गणतन्त्र–गणतन्त्र भन्दाभन्दै गण कहाँ छ ? तन्त्र कहाँ छ ? स्वयम् गणतन्त्रको नक्सा कोर्ने इन्जिनियरलाई समेत थाहा छैन । समाजवाद–समाजवाद भन्दाभन्दै समाजवाद कता छ ? वाद कता छ ? स्वयम समाजवादका दार्शनकिलाई समेत थाहा छैन । नयाँ नेपाल–नयाँ नेपाल भन्दाभन्दै नेपाल खोक्रो, बोक्रो, ढुङ्ग्रो, मुङ्ग्रो, रित्तो, पुरानो, जीर्ण, सखाप, खत्तम, बर्बाद, धरासायी, दुःखी, गरिब, विपन्न, विकासहीन, समृद्धिहीन, दर्दनाक र भयङ्कर अवस्थामा पुगेको स्वयम् नयाँ नेपालको शिल्यान्यास गर्ने शिलान्यासकर्तालाई समेत थाहा छैन ।

नेपाललाई स्विट्जरल्याण्ड–स्विट्जरल्याण्ड बनाउँछु भन्दाभन्दै नेपाल स्विट्जरल्याण्ड पनि तल झरेर हाप बनियन र हाप कट्टु हुँदै बनियान–कट्टुल्याण्ड भएको कुनै पनि देशभक्त राजनीतिलाई अत्तोपत्तो छैन । कर्म निरपेक्ष–धर्म निरपेक्ष भन्दाभन्दै र जनताले हिन्दू राज्यको पहिचान खोजेको कुनै पनि धर्मी एवं विधर्मी कसैलाई ज्ञान र जानकारी छैन । जनसंविधान–जनसंविधान भन्दाभन्दै जनताबाट भागेर र टाढिएर नेताको मनसंविधान बनेको र बनाएको स्वयम् संविधानको खेस्रा गर्ने खेस्राकारलाई समेत थाहा छैन ।

राजनीतिलाई जति मीठो मसिनो बनाउन खोज्दै छन् त्यति यो तीतो, टर्राे, अमिलो, खट्टो, पिरो, जिरो र खस्रो बन्दैछ । किताबका पानामा संविधानका धारा, नीति, नियम, दस्ताबेजमा, निर्णयका ढड्डामा सूचनाका पाटीमा, जानकारीका पृष्ठमा, आदानप्रदानका परिपत्रमा जेजस्ता गुलिया, मीठा, सभ्य र भव्य भाषाको प्रयोग भए तापनि ती सबै यथार्थमा कपटी पासा रहेछन् भन्ने कुरा हिजोभन्दा आज, आजभन्दा भोलि, र भोलिभन्दा पर्सि छर्लङ्ग हुने दिशातर्फ उन्मुख हुँदै छ ।

यदि व्यवहार र कार्यानवयनको पक्ष फितलो छ भने शब्द र भाषाको चयनले मात्र गर्ने के हो ? के हाम्रो काल, समय, कालपरिस्थिति र देशले खोजेको खोक्रो भाषा मात्र हो ? भाषा र शब्दजालमा अल्झेर कपटी पासा खेल्न पाइन्छ ? आज पछिल्लो समयको राजनीतिक अवस्था के हो ? यो सङ्लो राजनीति हो कि धमिलो ? यो बिगार्ने राजनीति हो कि सपार्ने ? यो जुटाउने राजनीति हो कि फुटाउने ? यो सम्हाल्ने राजनीति हो कि ध्वस्त पार्ने ? यो संगठित गर्ने राजनीति हो कि विघटित गर्ने ? यो एकताको सूत्रमा बाँध्ने राजनीति हो कि अनेकतामा चुँडाल्ने राजनीति हो ?

यो माड्ने राजनीति हो कि भाँड्ने ? यो देशको राजनीति हो कि परदेशको राजनीति ? यो आत्मनिर्भर राजनीति हो कि परनिर्भर राजनीति ? यो कठिन राजनीति हो कि सरल राजनीति ? यो सृष्टिको राजनीति हो कि संहारको राजनीति ? राजनीति पनि गर्नु गर्नुको भाँतको राजनीति हुन्छ ? यो कस्तो भाँतीको राजनीति हो ? स्वयम् गर्नेका लागि पनि यको कता जान्छ र कता जाँदै छ भन्ने थाहै छैन । यो राजनीति कसले सम्हाल्ने राजनीति हो ? यो कहाँ पुगेर टुङ्गिने राजनीति हो ? यो राजनीतिले दिने फल कस्तो हो ?

यो राजनीतिले कसलाई फुलाउँदै छ र कसलाई फलाउँदै छ ? यो राजनीतिको भारी बोकेर जाने हो कहाँ ? यो राजनीतिको भारी खोलने हो कहाँ ? यो राजनीतिको भारीभित्र भएको पोका–पतेरा दिने हो कसलाई ? यो भारी बिसाउने कहाँ हो ? यतिबेलाको राजनीतिले देश र जनतामा कस्तो सन्देश प्रवाह गरेको छ ? राजनीतिको मीठास केवल प्रतयक्ष भोगेर मात्र लिन सकिने कुरा हो । यो केवल देखेर, लेखेर, सुनेर र मनमनै गुणेर मात्र पूरा हुने यन्त्र, तन्त्र, संयन्त्र होइन । जबसम्म देश र जनताले प्रत्यक्ष रुपमा भोगचलन गर्न पाउन्नन् र आफ्नो जीवनमा परिवर्तनको अनुभूति गर्न पाउन्नन् भने त्यो राजनीतिको अर्थ के ?

राजनीति गर्नु भनेको राजनीतिक भाषाको प्रयोग गर्नु मात्रै हो ? राजनीति गर्नु भनेको राजनीतिक शब्दजाल बन्नु मात्रै हो । राजनीति सपार्नु भनेको राजनीतिकर्मीको भूत, वर्तमान र भविष्य सपार्नु मात्रै हो । राजनीतिक सफलता भनेको राजनीतिकर्मीको व्यक्तिगत, पार्टीगत, गुटगत, समूहगत, झण्डागत, पंक्तिगतको मात्र सफलता हो ? राजनीतिक विकास भनेको राजनीतिकर्मीको सेरोफेरो र जम्मै मेरो भन्ने विकास हो ?

राजनीतिक निकास भनेको आफू र आफन्त र आसेपासेको मात्र निकास हो ? राजनीतिलाई किन आज यसरी विकृति बनाइँदै छ ? खालि ओँठेभाषामा मात्र राजनीतिलाई खुम्च्याएर राख्न पाइन्छ ? राजनीति गर्ने भनेको देश र जनताका लागि हो कि होइन ? यतिबेला राजनीतिमा गत्तिलो भाषा बोलेर कपटी पासाको खेल खेलनु र खेल्दै जानुले यसको भविष्य कस्तो होला ?