ज्येष्ठ नागरिक डायरी : भो भत्ता बरु खोप देऊ…..

खेमराज रिजाल

तुलसीपुर, ७ असार । सात दिनको झरीपछि फाटेका दिनसंगै उनको इच्छा पलाएको थियो । आज दोस्रो डोज खोप लगाउने । विहानै कार्यालय समय सुरुहुनासाथ उनी अटो रिजर्व गरेर प्रादेशिक अस्पताल तुलसीपुर पुगे । दोस्रो डोजकालागी । लगाउन पाइने हल्ला थियो, किनकि केहि ज्येष्ठ नागरीकले घोराहीको बुथमा दोस्रो डोज लगाएको खवर गरेका थिए ।

उमेरले ६७ पुगेका उनी प्रादेशिक अस्पतालको गेटमा ठिक दशबजे पुग्दा पालेले अहिले नाम लेखाउने मान्छे आइनसकेको भन्दै एक बजे मात्र मान्छे आउने बताए । उनी त्यहां पुग्दा अन्य केहि ज्येष्ठ नागरीकहरु पनि पगिसकेका थिए, खोपकै लागी । एकले अर्कोलाइ दिउसो १ बजे आउन खवर गरेपछि ज्येष्ठ नागरीकहरुको भिड करीव ५० नाघ्यो ।

मिठो प्रतिक्षा थियो, उनीहरुको एक बजेसम्मकालागी । किनकि उनीहरुलाइ दोस्रो डोजको अधैर्य प्रतिक्षा थियो । ‘फागुन तेस्रो साता खोप लगाएका उनीहरुले यो साता खोप नपाए पहिला लगाएको खोपको सेन्सिटिभिटि हराउंछ रे’, एक जना ज्येष्ठ नागरीकले सुझाइरहेका थिए । उनी गोर्खा पल्टनका निबृत्त रहेछन् । भलाकुसारी गर्दै उनीहरु समय विताइरहेका थिए ।

दोस्रो डोजको प्रतिक्षामा । ‘तपाई त पत्रकार दुइटै डोज लगाइसक्नुभा होला, हामीलाइ त सरकारले हेप्यो नी, तर तपाइहरुले हाम्रा समाचार लेखिदिनुहुन्न’, ज्येष्ठ नागरीककै बीच रहेका दुधरासका चिनजानका ज्येष्ठ नागरीकले भने । उनको अर्को अभिव्यक्ति पनि थियो, वरु हामीलाइ बढेको भत्ता चाहिएन, खोप त समयमै लाउनपाए त बचिन्थ्यो कि ।

‘जीवनको त्यो बेला मोह बढिरहेको हुन्छ, जव मृत्यु नजिकिँदै आएको हुन्छ’, एउटा पुस्तकमा लेखेको उद्धरण सम्झे मैले । एकोहोरो ज्येष्ठ नागरीकहरुलाइ नियाल्दै गर्दा उनीहरुको चाहना बृद्धभत्ताले किनेरै भएपनि खोप लगाउन पाए हुन्थ्यो भन्ने थियो । एक जना बृद्धले मुख खोलिहाले, वरु पैसै तिरेर भएपनि लगाउन हुन्थ्यो, सरकारले खोप ल्याइदिए त? कति आतुर छन्, ज्येष्ठ नागरीकहरु ।

बांच्ने एउटै उपाएभनेकै खोप लगाउनुनै हो भन्ने उनीहरुमा आभाष देखिन्थ्यो । पुरै डेढ बर्षदेखि उनीहरु जम्मा भएर पिपल चौतारोमा गफिन पाएका छैनन् । बजारमा खुलेका ज्येष्ठ नागरीक दिवा सेवाकेन्द्रमा भेट्न पाएका छैनन् । पालैपालो छोराछोरीका घरमा छाकफेर्न जान पनि पाएका छैनन्, कोरोनाको डरले । बुढ्यौलीमा मुखमा मास्क(मकारो) लगाउन सुरुसुरुमा त उनीहरुलाइ रहर थिएन । तर विश्वभरीका समाचारहरु हेर्दैगर्दा उनीहरुलाइ मृत्युको सांच्चै डर लाग्न थाल्यो ।

मैले मेरो बुवाको इच्छा सम्झें, पहिलो डोज खोप लगाउन नपाउंदै उहांको निधन भयो । किनकि विश्वका विकशित मुलुकहरुले खोप लगाइरहंदा उहांको खोप लगाउने चाहना सरकारले पुरागर्न नसक्दै निधन भयो उहांको । उहांजस्तै धेरै ज्येष्ठ नागरीकहरुले खोप नलगाउंदै मृत्युवरण गरे ।

मास्कमा सजिएका उनीहरु..। मुलुकमा सांच्चै स्वास्थ्यको न्युनतम मापदण्ड पुरागर्नेहरुमा ज्येष्ठ नागरीकहरुनै छन् । बृढ्यौलिमा वालापन आउंछ रे । मिठो खान र नयांनयांठाउ घुम्न र तिर्थव्रतगर्न मन लाउंछ रे । तर उनीहरु त खोपको अधैर्य प्रतिक्षामा छन् खोपको । दिउँसोको १ बज्यो । पालेले जवाफ दिए, नाम लेखाउने डाक्टर आउनुभो । ज्येष्ठ नागरीकहरुले डाक्टरलाइ सोधे ।

तर ती डाक्टरले खोप त हिंजै सकिएको भनेपछि ज्येष्ठ नागरीकहरुको आक्रोश बढ्यो । ती अस्पतालका कर्मचारीले भनेका थिए, खोप नगरपालिकाबाट आएको हो, उतै जानुस । बृद्धबृद्धाहरु सोझिए, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाइ भेट्न । नगरप्रमुख भेटिएनन् । कर्मचारीले जवाफ दिए, खोप नगरपालिकाले होइन, प्रदेश सरकारले पठाएको हो, तपाइहरुको पालो पछि आउंछ ।

दोस्रो डोजको खोप ज्येष्ठ नागरीकका लागी आएको थिएन । यस अघि खोप लगाएका अग्रपत्तिमा खटिने स्वास्थ्यकर्मिहरु, निजामती कर्मचारीहरु, बैंक कर्मचारीहरु, सुरक्षाकर्मिहरु र पत्रकारहरुकालागी दोस्रो डोज लगाउन । संघिय सरकारले प्रदेश सरकार मार्फत यी खोप जिल्ला स्वास्थ्य कार्यालयमा पठाएको थियो ।

स्वास्थ्य कार्यालयले प्रोटोकल वमोजिमका व्यक्तिहरुकालागी भनेर पालिकाहरुमा खोप पठाएको जनाएको छ । तर ज्येष्ठ नागरीकहरुकालागी भने दोस्रो डोज खोप कहिले आउने भन्ने अझै अनिश्चित रहेको छ । स्वास्थ्यका अधिकारीहरुको एउटै जवाफ हुन्छ, खोप चांडै आउंछ, सरकारले प्रशासनिक, राजनितिक र कुटनितिक प्रयास जारीराखेको छ ।

यसरी फागुन तेस्रो साता पहिलो कोभिसिल्ड खोप लगाएका अग्रपंत्तिमा खटिने स्वास्थ्यकर्मि, सुरक्षाकर्मि, निजामती कर्मचारी तथा बैंक कर्मचारीकालागी दोस्रो डोजको खोप आएको जिल्ला श्वास्थ्य कार्यालयका खोप फोकलपर्शन भानुज्योती वलीले बताएका छन् । जिल्लाभरी यस्तो खोप १ सय १५ भाइल मात्र आएको थियो यसले १ हजार १ सय ५० जनालाइ मात्र पुग्छ । त्यसै अनुरुप तुलसीपुरमा २५ भाइल खोप आएको थियो ।

आइतवार र सोमवार यी खोपहरु लगाइने बताइएपनि आइतवारै खोप सकिएको संबन्धित पालिकाहरुले बताएका छन् । कसरी पुगेका रहेछन् ज्येष्ठ नागरीकहरु खोप केन्द्रमा, ‘घोराहीमा केहि ज्येष्ठ नागरीकले दोस्रो डोजको खोप लगाएको खवर पाएपछि यहां आएका हौं’, एक जना बृद्धको जवाफ थियो । खोप केन्द्रहरुले पनि लक्षित नागरीकहरुलाइ लगाएर बजेको खोप केहि ज्येष्ठ नागरीकहरुलाइ पनि लगाइएको बताएका छन् ।

‘प्रोटोकलमा ज्येष्ठ नागरीकहरुकालागी खोप आएको थिएन, यद्धपि बचेका केहि भाइल ज्येष्ठ नागरीकहरुले पनि पाएका हुन सक्छन्’—जिल्ला स्वास्थ्य कार्यालयका कोरोना खोप फोकल पर्शन भानुज्योती वलीले भने, प्रोटोकल वमोजिमको खोप पनि केहि दिनपछि आउंछ होला ।

दोस्रो डोजको माग गर्दै सर्वोच्चमा

यसैबीच कोभिशिल्ड खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप लगाउन आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । ज्येष्ठ नागरिक चिरञ्जीवि बास गिरी सोमबार रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।

उनको रिटमा मंगलबारका लागि पेशी तोकिएको छ । फागुन २३ गतेदेखि चैत ३ गतेसम्म सञ्चालित अभियानमा देशभरका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले विकास गरेको कोभिशिल्ड नामको कोरोना खोप दिइएको थियो । तर १२ हप्ताभित्र दोस्रो डोज खोप दिनुपर्ने भए पनि पहिलो डोज खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकले दोस्रो डोज खोप पाएका छैनन् ।

ज्येष्ठ नागरिकलाई जेठ १५ गतेसम्म दोस्रो डोज खोप दिनुपर्नेमा अहिलेसम्म नदिएकाले ज्येष्ठ नागरिकको हक लगायतका मौलिक हक उल्लंघनको विषय लिएर सर्वोच्चमा रिट दिएको रिट निवेदनका लागि सहयोग गरेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताए । भारतीय कम्पनीले खोप नदिएपछि सरकारले बेलायतबाट अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको खोप ल्याएर ज्येष्ठ नागरिकलाई दिने बताउँदै आएको छ । तर कहिले आउने टुंगो छैन ।