मौसम प्रभाव : सुरुवातमै धेरै क्षति

काठमाडौं, ५ असार । असारको पहिलो साताबाट सुरु भएको मनसुन असोजको पहिलो सातासम्म मनसुन रहन्छ । असोजको पहिलो सातासम्म मनसुन रहिरहने हुँदा सजक र सतर्कता अपनाउन वरिष्ठ मौसमविद बरुण पौडेलले बताए । मनसुनको शुरुवातमा धेरै ठाउँमा मानवीय र भौतिक पूर्वाधारमा क्षति भएको छ ।

विशेष गरेर सिन्धुपलाञ्चोक, मनाङ लगायतका जिल्लामा धेरै क्षति भएको छ भने तराईका जिल्लाका अधिकांश बस्ती डुवानमा परेका थिए । पहाडी क्षेत्रका सडकहरु भत्केका छन् । ‘हामी मनसुनका सुरुवाती चरणमै छौं । सुरुवाती अवस्थामै यति सक्रिय भएर क्षति भयो । आगामी दिनमा अझै क्षति हुन्छ सक्छ । त्यसैले अबका दिनमा अझ बढी सजक र सतर्कता अपनाउनुपर्ने हुन्छ,’ वरिष्ठ मौसमविद् पौडेलले भने । पहाडी र नदीको तटीय क्षेत्रमा बसोबार गर्ने मानिसले अझ बढी सजक र सतर्कता अपनाउनुपर्ने उनले बताए ।

‘पहाडी भूभाग र नदीको तटीय क्षेत्रमा बसोबार गर्ने मानिसले आफू बसेको स्थान सुरक्षित छ कि छैन, त्यो समयमै पहिचान गर्नुपर्छ । यदि सुरक्षित छैन भने जुन, जुलाई, अगस्ट र सेप्टेम्बर अर्थात् असार, साउन, भदौ र असोजसम्म सुरक्षित ठाउँमा बस्नुपर्छ,’ उनले भने– ‘सकिन्छ भने सुरक्षित ठाउँमा चार महिनाको लागि विस्थापित हुनुपर्छ भने त्यस्तो ठाउँमा विस्थापित हुनुप¥यो । जुनसुकै बेला पनि भारी वर्षा हुन सक्ने सम्भावना रहन्छ । त्यसैले सजक र सतर्क हुनु आवश्यक छ ।’

जुन १३ तारिकबाट मनसुन सुरु भइसकेको छ । यो एक हप्ता वा दुई हप्ताको लागि हैन यो चार महिनासम्म रहने उनले बताए । खासमा जुन १३ तारिकबाट शुरु भएको मनसुन अक्टुबर २ तारिकसम्म सक्रिय अवस्थामै रहने उनको भनाइ छ । ‘यो चार महिनाको अवधिमा कहिले भारी वर्षा, कहिले सुख्खा, कहिले खडेरी त कहिले अलिअलि वर्षा हुन्छ । अझ केहिले त दुई–तीन दिनसम्म झरी भइरहन्छ । यो चक्र यसरी नै चलिरहन्छ,’ उनले भने ।

यस वर्ष मनसुन सुरुवाती रुपमै सक्रिय रुपमा प्रवेश गरेको थियो । त्यसको कारणले गर्दा देशभर बदली भयो र धेरै स्थानमा वर्षा भयो । जसका कारण बाढी पहिरोले धेरै धनजनको क्षति भयो । विगतमा यस्तो नभएको भने होइन तर यस वर्ष सुरुवाती चरणमै धेरै धनजनको क्षति भएको उनले बताए । ‘यति वर्षा हुन्छ । यो धेरै ठूलो वर्षा होइन् । योभन्दा धेरै–धेरै ठूलो वर्षा पनि हुन्छ,’ उनको भनाइ छ– ‘हाम्रो भू–बनोटका कारणले गर्दा पनि बाढी पहिरो जाने समस्या भइरहन्छ । साथै विगतमा ठूला–ठूला भूकम्पहरु गए । पछिल्लो समय विकासको गतिविधिहरु भइरहेको थियो । डोजर चलिरहेका छन् ।

यो सबै संरचनाका कारणले गर्दा खेरी पनि धेरै क्षति हुन पुगेको हो ।’ यस विषयमा अब सावधानी र सजक हुनुपर्ने उनको भनाइ छ । उनका अनुसार बंगालको खाडीमा न्यूनचापीय प्रणाली विकास भएको र नेपाल प्रवेश गरेको हो । यो समग्र मनसुनकै कारण हुने हो । यसमा अरु कारण भन्ने हुँदैन । यो मनसुनी वर्षा हो । त्यस्तै यो हप्ता विस्तारै वर्षा केही कम हुँदै गएको छ, तुलनात्मक हिसाबले हिजो अस्तिभन्दा । तर, पूरै घाम लाग्ने, अब मनसुन सकियो भन्ने चाहिँ हुँदैन । यो असोज पहिलो सातासम्म चलिरहन्छ । यो केही दिनको लागि कम भएको हो । यद्यपि यसको प्रभाव पश्चिमतिर अझै बाँकी छ । भोलि–पर्सितिर अझै वर्षा हुने देखिएको छ । काठमाडौंमा बेलुका वर्षा हुन्छ । तर, धेरै ठूलो वर्षा हुने सम्भावना तत्काललाई छैन ।

उनका अनुसार अझै बढी पानी पर्ने महिना भनेको जुलाई अर्थात् साउन महिना हो । साउनमा अझ बढी वर्षा हुन्छ । ‘यो वर्ष औसतभन्दा बढी वर्षा हुन्छ भनेर हामीले पूर्वानुमान गरेका छौं । मनसुनमा यति पानी पर्छ भनेर हाम्रो हिसाब हुन्छ । त्योभन्दा बढी वर्षा हुन्छ भनेर हामीले पूर्वानुमान गरेका हौं,’ वरिष्ठ मौसमविद् बरुण पौडेलले भने– ‘यो हामीले मात्र अनुमान गरेको हैन । दक्षिण एशियाली मौसम सम्बन्धी काम गर्ने संस्था र वैज्ञानिकहरुले गरेको अनुसन्धान हो । यो प्रत्येक वर्षा हुन्छ, आगामी मनसुन कस्तो हुन्छ भनेर । त्यसमा हामीले पनि भाग लिएका थियौं ।’

उनका अनुसार नेपालको तर्फबाट जल तथा मौसम विज्ञान विभाग, भारतबाट मौसम विभाग, श्रीलंकाको मौसम विभाग, बंगलादेशको मौसम विभाग, पाकिस्ताको मौसम विभागलगायतका देशले भाग लिएको थियो । दक्षिण एशियाली मनसुनले प्रभाव पार्ने सबै ठाउँमा अहिले मनसुन चलिरहेको छ । वैज्ञानिकहरुले यो मनसुन कतिको बढी कम के हुन्छ भनेर पूर्वानुमान गर्छ । त्यो पूर्वानुमानमा यसपालि नेपालमा अधिकभन्दा बढी वर्षा हुन्छ भनेर अनुमान गरेको थियो ।

त्यस्तै महाशाखाका मौसमविद् शान्ति कँडेलले वर्षाको सम्भावना रहेको बताए । शनिबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने उनले बताए । उनका अनुसार देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, लम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । यसैगरी आइतबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार प्रदेश १, गण्डकी प्रदेश, लम्बिनी प्रदेश र बागमती प्रदेशमा केही स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।