तुलसीपुरमा अमिनलाई लक्षित गरी गोली प्रहार

तुलसीपुर, २८ जेठ । तुलसीपुरको गहते खोलामा शुक्रबार मध्यान्ह १२ बजेतिर गोली चलेको छ । अमिनलाई लक्षित गरी गोली प्रहार भएको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ स्थित गहते खोलामा जग्गाको विषयमा सामान्य भनाभनका क्रममा सोही वडाको चन्द्रगञ्जका २४ वर्षीय पूर्णबहादुर वलीले अमिनलाई लक्षित गरी गोली चलाएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

गाउँलेसहित सिचाई कुलो छुट्याउने भनी पुगेका अमिनलाई लक्षित गरी वलीले गोली चलाएको प्रहरीले पुष्टि गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले सिचाई कुलो आफ्नो जग्गा मिचेर बनाउन खोजिएको भन्दै वली एकाएक आक्रोशमा आएर आफूसँगै लिएर गएको पेस्तोलमार्फत गोली चलाएको बताएका छन् । गोली कसैलाई नलागेको डिएसपी सिंहले बताए । यस विषयमा गोली प्रहार गर्ने व्यक्ति पक्राउ परिसकेको बताउँदै थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले बताएको छ ।

डिएसपी सिंहले भने– ‘सिचाई कुलो निर्माणको विषयमा सामान्य भनाभनका क्रममा वली आक्रोशमा आएर आफूसँगै ल्याएको पेस्तोलबाट एक राउन्ड फायर गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।’ डिएसपी सिंहले घटनास्थलबाट एक राउन्ड गोलीको खोका र पेस्तोलमा लोडेड अरु ६ राउन्ड गोली फेला परेको जानकारी दिएका छन् । मध्यान्ह १२ बजेतिर गोली चलाएलगत्तै वली लोडेड पेस्तोल घटनास्थलमै छोडेर फरार भएको डिएसपी सिंहले जानकारी दिए । त्यसलगत्तै परिचालित प्रहरीले उनलाई दिउँसो १ बजेतिर तुलसीपुर–८ स्थित पातुखोला किनारमा रहेको क्रसर उद्योग नजिकबाट पक्राउ गरेको थियो । ‘गोली चलेको कुरा सुनेपछि प्रहरीले चारैतिर घेरा हालेका थियो,’ सम्बन्धित इलाकाका वोर्डर शिल गरिसकेका थियौं, डिएसपी सिंहले भने– ‘आरोपित वली भाग्दै गर्दा हामीले पातुखोलास्थित क्रसर उद्योग नजिकबाट उनीसहित एक जनालाई नियन्त्रणमा लिएका हौँ ।’ पक्राउ पर्ने अर्का व्यक्ति मोटरसाइकल चालक स्थानीय २१ वर्षीय आकाश चौधरी रहेको प्रहरीले जनाएको छ ।

डिएसपी सिंहका अनुसार गोली चलाएर आरोपित वली घर पुगे । कसैले चिन्न नसकोस् भनेर उनले घर पुग्नेबित्तिकै कपडा चेन्ज गरी अर्को कपडा लगाएर भाग्ने प्रयास गरेका थिए । ‘गोली चलाउँदा कालो–सेतो मिक्स सर्ट लगाएका रहेछन्,’ डिएसपी सिंहले भने– ‘तर, उनी घर गएर त्यो कपडा परिवर्तन गरी सेतो कपडा लगाई भाग्दै गरेको अवस्थामा फेला परेका हुन् ।’ प्रहरीका अनुसार वली यसअघि रोजगारीको सिलसिलामा भारत जाने–आउने गरिरहन्थे । उनले प्रयोग गरेको हतियार मेसिन मेड नभई ‘होममेड’ रहेको पनि प्रहरीले बताएको छ ।