गाउँकी ‘पशु प्राबिधिक’ नोखी बुढाथोकी

  •   
  •  

पार्वती बस्नेत

दाङ, २८ जेठ । परियोजनाले दिएको पहिचानलाई समाजमा स्थापित गर्न लागिपरेकी उनलाई जिन्दगी अर्काकै भरमा बित्छ कि भन्ने डर थियो तर अहिले उनमा काम गर्ने साहस बढेर आएको छ । सल्यानको त्रिबेणी गाउँपालिका वडा नं. ६ सल्यान सल्लेखोला निबासी नोखी बुढाथोकी पेशाले अहिले (केभ) पशु प्राबिधिक हुन् ।

६ कक्षामा अध्ययन गर्दागर्र्दै २०६३ सालमा उनको विवाह भएको थियो । बुढाथोकीको बैबाहिक जीबन शुरुवातमा कष्टकरमै बित्यो, वनपात, दाउरा र स्याउला बोक्दैमा । माया गरेर भित्राएको श्रीमान्ले नै कुट्ने र साथ नदिनुले बुढाथोकीको मन थिलोथिलोे भएको थियो । सासुससुरा, २ छोराछोरी अनि श्रीमान्सहित १४जनाको संयुक्त परिवारमा बसेर बुढाथोकीले आफूलाई क्रियाशील बनाएर फरक भूमिकामा समाजमा स्थापित गर्न त्यत्ति सजिलो थिएन् । तर उनलाई क्रियाशील बनाउन र अहिलेको स्थानसम्म ल्याउनका लागि फेरि श्रीमान्ले नै महत्वपूर्ण भूमिका खेले ।

भनिन्छ ‘संगत, ठाँउ र परिस्थितिले मान्छेलाई बदल्दै लैजान्छ, यसैको परिणाम हाम्रो जीवनमा छ ।’ नोखी बुढाथोकीका श्रीमान् भोलाप्रसाद बुढाथोकी कृषिसम्बन्धी बिषय पढ्नका लागि चितवन गएपछि नै उनको सोच र हेर्ने दृष्टिकोणमा परिवर्तन आयो । परिणामस्वरुप उनले आफूलाई बिस्तारै घरबाहिर निस्कने, समूहमा बस्ने, तालिम, गोष्ठी जस्ता कार्यक्रममा सहभागी हुने बातावरण मिलाउने काम गरे । सहकारी बन्नुभन्दा पहिला नै परियोजनाअन्र्तगत गाउँमा महिला समूह गठन भएका थिए, नोखी बुढाथोकीले पनि आफ्नो नेतृत्वमा महिला समूहसमेत गठन गरेकी थिइन् ।

समूहमा बचत गर्ने, पैसा नभएकै कारण श्रीमान्ले समूहमा नबस भनेपछि उनी समूहबाट बाहिरिन परेको थियो । तर पछिल्लो समय श्रीमान्मा आएको सुधारका कारण फेरि नोखी बुढाथोकी आफैले गठन गरेकै समूहमा बस्न पुगिन । बुढाथोकी उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थामा आवद्ध भएको ५ बर्ष भएको छ ।


ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर इन्टरनेशनल नेपालले परियोजनामार्फत सहकारीलाई सहयोग गर्न थाल्यो । सहकारीको कार्यक्षेत्र बढी भएकाले आफ्ना शेयर सदस्यहरुले ब्यावसायिक रुपमा पालेका पशुहरुको स्वास्थ्य उपचारमा सहज पु¥याउनका लागि उनलाई सहकारीले उक्त पशु प्राबिधिकको अध्ययन गर्नका लागि छनोट ग¥यो ।

३५ दिने ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता अध्ययन गर्नका लागि बुढाथोकीलाई पोखरा पठाइयो । पहिलोपटक घर छोडेर अध्ययन गर्नका लागि पोखरा पुगेकी बुढाथोकीलाई कापी–किताब हातमा पर्दा र प्रायः अंग्रेजी शब्दहरुसँग खेल्नुपर्ने हुँदा पढाई नै छोडेर भागौ जस्तो पनि लागेको थियो । ‘सुरुको १ हप्तासम्म त केही बुझ्दै बुझिनँ, र श्रीमान्सँग फोनमा कुरा राखे, म पढ्न सक्दिन होला भागेर आउछु भने त्यसपछि श्रीमान्ले मलाई संसारमा महिलाहरुले गरेका कामहरु र उनीहरुले पाएका सफलताका धेरै उदाहरणहरु सुनाउनुभयो र घरको, बालबच्चाको पशु चौपायाको केही चिन्ता लिनुपर्दैन् म छु भन्दै पढाईमा एकाग्र भएर लाग्न भन्नुभयो’, उनले भनिन् ।

३५ दिनसम्मको पढाईमा ४ चरण गरेर मात्रै अन्तिम परिणाम आउथ्यो । पहिलो परीक्षामा फेल भएकी उनी अन्तिम परीक्षामा भने तेस्रो भएकी थिइन् । ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर ईन्टरनेशनल नेपालले परियोजनामार्फत सहकारीमा दिएको अबसरले आफूलाई सक्षम र आत्मनिर्भर बनाएको बताउँदै बुढाथोकीले यो क्षेत्रमा पशुहरुको स्वास्थ्यका लागि काम गर्ने पहिलो महिलाका रुपमा स्थापित र समुदायले पनि पशुको डाक्टर भनेर चिनेकी छिन् ।

महिला भएकै कारण शुरुका दिनमा समुदायमा गएर काम गर्न केही गाह्रो थियो तर सहकारीको सहयोग र कामप्रतिको सन्तुष्टिले गर्दा अहिले घरमै पशु ल्याएर उपचार गर्न आउने बातावरण बनेको छ’, उनले भनिन्– ‘फोन गरेरै धेरैले उपचार गर्न पनि बोलाउने गर्छन् ।’ घरको सम्पूर्ण जिम्मेवारी बहनसँगै अहिले नोखी बुढाथोकीले मासिकरुपमा २० देखि २५ हजारसम्म कमाउन थालेकी छिन् । श्रीमान्ले कृषि बिषय पढेकाले ब्यावसायिक तरकारी खेती पनि गर्दै आएका छन् ।

नोखीले तरकारी खेती गर्नका लागि ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर ईन्टरनेशनल नेपालले परियोजना मार्फत माछापुच्छ«े बैंकसँग गरेको सम्झौताअनुरुप ५ लाख कर्जा ल्याएर गर्दै आएको तरकारी खेतीलाई ब्यावसायिक तरकारी खेतीको रुपमा परिणत गरेको समेत बताइन् । गत वर्ष ३ कठ्ठा क्षेत्रफलमा मात्रै लगाएको तरकारी खेतीबाट १० लाखको तरकारी बिक्री भएको थियो भने अहिले ५ कठ्ठा क्षेत्रफलमा तरकारी खेती छ । उनको खोरमा अहिले ३० वटा बाख्राहरु छन् । गतवर्ष बाख्रा बेचेर मात्रै डेढ लाख रुपैयाँ आम्दानी भएको थियो ।

सहकारीबाट नै उत्पादित सामग्रीहरुको बजारीकरण हुँदै आएको छ । यसले गर्दा बिदेश गएर फर्किनेहरु पनि कृषि पेशा (बाख्रापालन र तरकारी खेती) आकर्षित हुन थालेको उनले बताइन् । कुनै समय घरपरिवार सँगै आफ्नै जिन्दगीलाई बोझ मान्न थालेकी नोखीलाई अहिले समुदायले नै एउटी असल, प्रेरक र दिदीबहिनीहरुको माझमा प्रिय पात्रसँगै बिश्वासिलो पात्रको रुपमा हेर्न थालेको छ ।