वडा अध्यक्षमाथि प्रहरीले दुर्व्यवहार गरेको विरोधमा घोराहीका सबै वडा कार्यालय बन्द

दाङ, १९ जेठ । घोराही उपमहानगरपालिका–१५ का वडा अध्यक्ष रमेश पाण्डेयमाथि प्रहरीले गरेको दुर्व्यवहारका विरुद्ध घोराहीका सबै वडा कार्यालय एक दिनको लागि बन्द गरिएका छन्।

बिरामीको लागि अक्सिजन सिलिण्डरको जोहो गर्न स्कुटर चलाएर एक्लै गइरहेका वडा अध्यक्ष पाण्डेयलाई मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय अगाडि प्रहरीले दुर्व्यवहार गरेको भन्दै घोराहीका सबै वडा कार्यालय बुधबार बन्द गरिएका छन्।

घोराही उपमहानगरका प्रवक्ता तथा घोराही १८ का वडाध्यक्ष भरत अर्यालले प्रहरी दुव्र्यवहारको बिरोधमा उपमहानगरका सबै वडा कार्यालय बन्द गरिएको जानकारी दिएका छन्।

‘अगाडि कार्ड झुण्ड्याएर महामारीको समयमा खटिएका वडाध्यक्षलाई एउटा प्रहरी निरीक्षकले जसरी दुर्व्यवहार गरे त्यो राम्रो भएन’– अर्यालले भने ‘ नयाँ आएका प्रहरी निरीक्षकसँग वडाध्यक्षको चिनजान थिएन भन्दैमा परिचय पत्र हेरेपछि त्यही अनुरुप ब्यबहार हुनुपर्दैनरु त्यस्तो अभद्र प्रहरीको व्यबहार सच्चिनुपर्छ भन्ने हाम्रो माग हो।’

प्रहरीलाई लाइसेन्स, स्कुटरको आवश्यक कागजात र वडाध्यक्षको परिचय पत्र देखाउँदा देखाउँदै पनि स्कुटर नियन्त्रणमा लिएर राखेको पाण्डेयले बताएका छन्।

‘मैले आफ्नो परिचय पत्र दिँदा पनि प्रहरीले पास माग्यो’–पाण्डेले भने ‘ मलाई एक जना बिरामीको लागि अक्सिजन खोज्नु निकै हतार थियो, मेरो स्कुटर लगेपछि मैले अर्को मोटरसाइकल मागेर अक्सिजनको खोजीमा गएको हुँ।’

वडाध्यक्ष पाण्डे कोरोनाबाट मृत्यु भएकाहरुको शव ब्यबस्थापन समितिका संयोजक पनि हुन्। कोरोना महामारीको समयमा बिरामीको सेवामा रातदिन सक्रिय रुपमा खटिएका पाण्डेयमाथि भएको ब्यबहारको चौतर्फी आलोचना भएको छ।