दाङ, १७ जेठ । लुम्विनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि जारी मतदानमा अब २४ मत खस्न बांकी रहेको छ । विहान ९ बजेदेखि सुरु भएको मतदानमा दिउँसो १२ बजेसम्म २ सय ७६ मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
कुल ३ सय मतदाता मध्य प्रदेश र स्थानीय तर्फ गरी अहिलेसम्म २ सय ७६ मत खसेको हो । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि अहिले मतदान जारी रहेको छ ।
स्थानीय तर्फको मतदानमा केन्द्रमा महिला ७३ र पुरुष १०१ जनाले मतदान गरेका छन् भने प्रदेशसभातर्फको मतदान केन्द्रमा म २९ र पु ४९ पुरुषले मतदान गरेका छन् । यस्तै कोभिडतर्फको मतदानमा प्रदेशका ३ र स्थानीय तहतर्फका २१ जनाले मतदान गरेका छन् ।
घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भैरहेको छ । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको र निर्वाचनको नतिजा आज नै घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । निर्वाचनमा नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् ।
प्रदेशसभाका ८३ सदस्य र स्थानीय तहका २१७ जनप्रतिनिधि अहिले उपनिर्वाचनमा मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ रहेको छ ।