तुलसीपुरमा अटो एम्बुलेन्स सञ्चालनमा

तुलसीपुर, २४ बैशाख । विरामीलाई आवश्यक पर्दा एम्बुलेन्स नपाइने समस्या भईरहेको समयमा तुलसीपुरमा अटो एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

कोरोनाको दोस्रो संक्रमण बढी रहेको बेला त्यसलाई न्युनिकरणका लागि गरिएको लकडाउनका कारण केहि विरामीहरुले समयमै सहजरुपमा एम्बुलेन्स सेवा पाउन नसकि रहेको समयमा सहजताका लागि अटो एम्वुलेन्स सञ्चालनमा ल्याएकोहो ।

सुलभ भाडादरमा बिरामीलाई अस्पताल सम्म लैजान÷ल्याउन सहजताका लागि अटो एम्बुलेन्स सञ्चालनमा ल्याएको अटो एम्बुलेन्स सञ्चालन अभियानका संयोजक मोहन सुनारले जानकारी दिएका छन् ।

उनीसहित तुलसीपुरका चार जना युवा दिपक कुमाल, सुनिलबावु डाँगी र अजय दुलालले संयुक्तरुपमा अटो एम्बुलेन्स सञ्चालनको अभियान शुभारम्भ गरेका हुन । अटो एम्बुलेन्सले तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा सेवा दिने र साविकमै लाग्दै आएको भाडा लिने अभियानका संरक्षक दिपक कुमालले जानकारी दिए ।

उनले कहाँ सम्म कति भाडा भन्ने नतोकिएको र साविककै भाडा कामय रहेको बताए । ‘पहिलेकै भाडाका सेवा दिने सहमति भएको छ, नयाँ भाडादर तोकीएको छैन् –कुमालले भने । ’

तुलसीपुरमा अहिले तत्कालका लागि ९ वटा एम्बुलेन्सले बिरामीलाई यातायात सेवा प्रदान गर्ने उनले जानकारी दिए । दिउँसोको समयमा पाँच वटा र साँझको समयमा ४ वटा अटोले सेवा प्रदान गर्ने छन् ।

आवश्यकताको आधारमा अटोहरु थप गर्दै लगिने संरक्षक कुमालले बताए । अटोमा स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्ड पूर्णरुपमा पालना हुने बताएको छ । तुलसीपुर उपमहानगरपालिका लगायत विभिन्न सरोकारवालाहरुको समन्वयमा अटो एम्बुलेन्स संचालनमा आएको हो ।