के.पी.सुवेदी
सन् २०१९ डिसेम्बरमा चीनको वुहान प्रान्तबाट उत्पन्न भएको भनिएको करोना भाइरसबाट लाग्ने कोविड–१९ नामको रोग अझै पनि विश्वका विभिन्न मुलुकलाई अस्तव्यस्त बनाइरहेको छ । केही वर्ष अगाडि सार्स–कोभिड महामारीको रुपमा देखापरेको भाइरसको विकसित रुप कोरोना भाइरसले विश्वव्यापी रुप लिइरहँदा यसको बारेमा वैज्ञानिक अध्ययन एवं अनुसन्धान जारी नै छ ।
चिनियाहरुले चमेराको मासु खाएपछि त्यसबाट मानिसहरु बिरामी परेका र बिरामीमा महामारीजस्तै छोटो समयमै धेरै मानिस एउटै लक्षणका बिरामी परेको पाइएपछि त्यसको अध्ययनको परिणामले यो रोगको नामाकरण कोरोना भाइरस संक्रमण रोग छोटकरीमा कोभिड–१९ रहेको हो । चीनका स्वास्थ्य विज्ञ एक प्रशिद्ध चिकित्सकले चमेराबाट मानिसमा सरेको र यसको विषाणु कोरोना भाइरस भएको निष्कर्ष आफ्नो प्रतिवेदन सहित सरकारलाई सुझाउँदा उनलाई अफवाह फैलाउन खोजेको आरोपमा पक्राउ गरी जेल हालेको थियो । पछि उनी जेलमै बिरामी परेर मृत्यु भएको भनिएको छ ।
त्यहाँको महामारी सकभर लुकाउने मनस्थिति रहेकोले महामारीको रुप लिँदासम्म पनि चिनिया सरकारले विश्व स्वास्थ्य संगठनलाई समयमा जानकारी गराएन । यसरी विश्व स्वास्थ्य संगठन समयमा सूचना पाउन नसक्दा यो महामारी चीनमै सीमित गर्न असफल भयो ।
चीनले समयमै विश्व स्वास्थ्य संगठनलाई जानकारी गराएर त्यहाँबाट बाहिर आवतजावत बन्द गर्न सकेको भए आज विश्वभरिका मानिस यति त्रसित, भयभित र आर्थिक रुपले तहसनहस हुने अवस्था आउँदैनथ्यो । चिनिया सरकारको त्यस्तो व्यवहारलाई विश्वका अन्य मुलुकहरुले अत्यन्त गैह्रजिम्मेवार भन्दै कटु आलोचना गरे र केही मुलुकहरुले उसको गैह्रजिम्वेवार कार्यले आफ्नो मुलुकलाई धेरै ठूलो क्षति भएको भन्दै चीनले क्षतिपूर्ति दिनुपर्ने माग समेत गरेका थिए ।
चीनले आणविक भट्टीमा उत्पादन गरेको भाइरस भएकोले यसबारे सत्य–तथ्य छानविन तथा अनुसन्धान गर्नुपर्ने माग अमेरिकका र उसका समर्थकहरुले गरिरहँदा विश्वव्यापी महामारी रुप कोरोनाले लिइसकेको थियो । विश्व स्वास्थ्य संगठनलाई चीनको वुहानमै गएर स्थलगत अध्ययनको नतिजा सार्वजनिक गर्न र कोरोनाबारे विश्वस्त जानकारी जनता समक्ष ल्याएर रोगको रोकथाम, नियन्त्रण र पूरै निको पार्ने उपचार विधिको प्रशिक्षण विश्वव्यापी बनाउन अमेरिकालगायत अतिप्रभावित मुलुकले गरेको आग्रहप्रति चीनले अस्वीकार गर्दा सम्भव भएन ।
यसैबीचमा अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक अनुदान दिन बन्द गर्ने निर्णय ग¥यो । कोरोनाको अध्ययन र अनुसन्धान यस अघिका महामारीको भन्दा जटिल र रहस्यमयी बनिरहेको छ । तर अहिले भने विश्व स्वास्थ्य संगठनले गरेको कोरोना उद्गमस्थल भनिने वुहानको स्थलगत अध्ययन गरिसकेको छ ।
उसले गरेको स्थलगत अनुसन्धान र विश्लेषणात्मक अध्ययन सार्वजनिक भइसकेको छ । उसले अध्ययन गरेर कोरोना भाइरस मानिसले बनाएको आणविक भट्टीको उत्पादन होइन भन्ने प्रष्ट पारिसकेको छ । तर यसपटकको विश्व स्वास्थ्य संगठनको नेतृत्व पूर्ण रुपले सफल छैन भन्ने अहिलेसम्मका नतिजाले दिएका छन् ।
कोरोना भाइरसको अर्को पुस्ता अस्तित्वमा आइसक्यो । यसको पूर्वानुमान नहुँदै मानिसहरुमा जटिल संक्रमण भेटिने गरेकोप्रति सबै ससंकित हुनुपर्ने भयो । किनभने स्वास्थ्य विज्ञानलाई छक्याउने भाइरस मानव स्वास्थ्यको सबैभन्दा ठूलो र खतरा चुनौती हो ।
एकातिर अनुसन्धान कार्यले विश्वासयोग्य नतिजा दिन नसक्ने र अर्कोतर्फ भाइरस झन शक्तिशाली रुपमा प्रकट हुँदै गर्दा मानिसका सबै गतिविधिलाई यसले नियन्त्रण गर्न सक्छ । यसले केही मानिसलाई सजिलै अनियमित अर्थोपार्जन गरिदिएको सक्रिय संक्रमित नभएर पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएकाहरु पनि आर्थिक सहायता पाउने समूहमा देखिएपछि अरुलाई त्यसरी नै बिरामी नभइकनै पैसा पाउन फर्जी कागज बनाउने धुनमा लागेको सुनिन्छ । हुन त यो हल्ला मात्र हो तर कुरा के सही हो भने लक्षणरहित संक्रमितलाई पैसा दिनुभन्दा सक्रिय र जटिल संक्रमणले ज्यान जोखिम व्यहोरिरहेका गरिब, सर्वसाधारणको उपचारमा बढी ध्यान दिने वातावरण मिलाउँदा न्यायोचित हुन सक्छ ।
केही कोभिड अस्पताल उपचाररत बिरामीहरुको अनुभव, उनीहरुको आफ्नै वा आफन्तबाट सुनिन्छ कि त्यो बिरामीलाई उपचार होइन यातना मात्र मिल्छ । मानौ ऊ त्यहाँ जघन्य अपराध गरेर लगिएको हो र तड्पाएर मर्न विवश गराइन्छ । केही उपचारगृहहरुको लापरवाहीबाट भएको घटनाले ती संस्थाहरु भय सिर्जना गर्ने थलोको नामले परिचित हुनु दुर्भाग्यपूर्ण हो । किनभने त्यहाँ जाने भनेकै बाँच्नका लागि हुनुपर्छ र बिरामीले त्यहाँ पुग्न पाए बाँच्छु भन्ने आत्मविश्वास लिन सकोस् ।
यसको बारेमा के सही हो, के गलत ? छुट्याउन धौ–धौ परसक्यो । किनभने घरभन्दा बाहिर कतै ननिस्केको, कसैलाई नभेटेको व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको छ । त्यसैले कोरोना हाम्रो दैनिकीमा कहाँ कतिखेर भेटिने हो अनुमान गर्न गाह्रो भइसक्यो । यसरी नै कोरोना विरुद्ध स्वास्थ्य विज्ञान अल्मलिइरहनु पर्ने भएको खण्डमा नयाँ कुरा कोरोना भाइरस बाहेक केही नहुने भयो । जहाँसम्म खोपको कुरा छ, त्यो पनि सबैलाई सजिलै उपलब्ध हुन गाह्रै पर्ने देखिन्छ र खास गरेर दीर्घरोगीहरुले लगाउन नमिल्ने भएकोले खोपले सबैलाई सुरक्षित गर्न नसक्ने निश्चितप्रायः छ ।
किनभने अहिलेसम्म आविष्कार भएका खोपहरु १२ वर्ष मुनिकालाई नलगाउन सुझाव दिइएको यदि साच्चै हो भने अझै दुर्भाग्यपूर्ण अवस्था हामीले व्यहोर्न वाध्यता आइपर्ने छ । एकातिर बच्चाहरुमा संक्रमण बढ्दै जाने र खोप उनीहरुका लागि दिन नसकिने हो भने भविष्य अन्धकारमय बनिरहेको जस्तो देखिन्छ । उनीहरुलाई संक्रमणबाट जोगाएर पठन–पाठनमा सरिक गराउने कुरा असँभव जस्तै हो । स्वास्थ्यका मापदण्ड अपनाउन हेल्चत्र्mयाई नगरौँ, आफ्ना नानीहरुलाई लापरवाही गर्न नदिऔँ ।