खेमराज रिजाल
गोग्ली (दाङ), ३ वैशाख । खयरको वन नजिकै एउटा करिब ५ विगाहा क्षेत्रफलको प्लटमा तीनवटा लेयर्सका आधुनिक खोरहरु छन् । ती तीन खोर छन् । एउटा खोरमा उत्तर फर्किएका एक दर्जन बढी भैसी छन् भने त्यही खोरमा दर्जन गाई । केही भैसी र गाई दुहुना, आधाभन्दा बढी व्याउने छन् ।
उत्तरपट्टिको सबैभन्दा माथिल्लो खोरमा चार वटा बोयरबोकासहित ३० वटा बाख्रा छन् । पशुपालन व्यवसायमा पृथकता ल्याउँदै एकै कम्पाउण्डमा बहुव्यवसाय सुरु गरिएको छ, गोग्लीको एउटा कृषि फार्ममा । खोरभरी चल्ला चरिरहेका छन्, गोठभरी गाइभैसी र नजिकैको चौरभरी खसी बोका चरिरहेका छन् ।
सुरुआतमा धेरै शेयर सदस्यहरु थिए, जनयुद्धसँग लिगेसी भएका व्यक्तिहरुको सामूहिक कृषि फर्म थियो त्यो । तात्कालीन सञ्चालकहरु थिए, लुमाकान्त न्यौपाने (सागर), भागीदास चौधरी (साकार), शेषमणि शर्मा, बसन्त राज शर्मा (विक्रान्त) र विष्णु रिजाल । फर्मको नाम राखेका छन्, उज्यालो सहकार्य कृषि फर्म प्रालि ।
‘खासमा मुलुक शान्ति प्रक्रियामा आइसकेपछि होलटाइम राजनीति आवश्यक देखिएन र आत्मनिर्भरमुखी राजनीति गरौँ भन्ने उद्देश्यले यो सामूहिक व्यवसाय सुरु भएको हो’, सो संस्थाका शेयर सदस्य बसन्तराज शर्मा (विक्रान्त) भन्छन्, तर केही समयपछि उहाँहरुले पार्टनर छाडेपछि हाल हामीहरु मात्रैले व्यवसाय चलाउँदै आएका छौं’, विक्रान्तले भने ।
अहिले फर्ममा विक्रान्त, विष्णु रिजाल तथा यादव रिजाल सञ्चालकका रुपमा रहेका छन् । राजनीतिलाई पनि निरन्तरता दिँदै आत्मनिर्भर पनि अपरिहार्य भएकाले व्यवसायलाई पनि सँगसँगै लगिएको विक्रान्तले बताए । यो व्यवसायसँगै विक्रान्त पार्टी एकीकरण पछि नेकपाका लमही नगर सचिव बनेका थिए । यो व्यवसायलाई अझै व्यापक बनाउने तयारी भएको पनि विक्रान्तले बताएका छन् । कृषि विकास बैंकबाट केही ऋण लिए पनि राज्यका कुनै निकायबाट अनुदान भने नलिएको सञ्चालकहरुले बताएका छन् ।
खोर बृद्धि गरी चल्लाको संख्यासँगै पशुपालनलाई पनि बढाउने तयारीमा छौं’, विक्रान्तले भने । फर्मले हाल स्थानीय करिब एक दर्जन स्थानीयबासीलाई रोजगारी समेत दिएको छ । गाउँघरमै उपलव्ध भएसम्म पराल खरिद गर्ने गरेको फर्मले नपुग पराल भने देउखुरीबाट खरिद गर्ने गरेको छ ।
फर्मका अर्का सञ्चालक यादव रिजालका अनुसार फर्ममा अहिले अण्डा दिने उमेरका ८ हजार लेयर्स छन् । ती चल्लाले दैनिक ७ हजार ५ सय अण्डा दिन्छन् । अण्डाको खपत धेरै दाङ जिल्लामै हुने भए पनि अर्डर आए राप्ती लगायत कन्चनपुरसम्म समेत पठाउने गरिएको रिजाले बताए । हालसम्म साढे २ करोड रुपैयाँ लगानी भइसकेको छ । प्रति बिगाहा २२ हजार रुपैयाँका दरले ५ बिगाहा जग्गा लिजमा लिएर कृषि फर्म सञ्चालन गरिएको हो ।
रिजाल बैदेशिक रोजगारीबाट फर्केपछि आफ्नै क्षेत्रमा काम गर्ने अभिप्रायले यो व्यवसायमा जोडिएको बताए । ‘भर्खरै यो व्यवसायमा जोडिएको छु, घरछेउमा काम गरेरै पनि वैदेशिक रोजगारीको जस्तो आम्दानी गर्न सकिन्छ भन्नेमा म ढुक्क भैसकेको छु’, रिजालले भने । सो फर्ममा चल्लाका लागि दाना उपलव्ध गराउने फर्मले नै अण्डा खरिद गरिदिने भए पनि कहिलेकाहिँ आफै फर्मले पनि अण्डाको बजार खोज्ने गरेको छ ।
‘दूधका लागि बजारको समस्या छैन, दुहुना साथ फर्ममै किन्न आउँछन् उपभोक्ता’, अर्का सञ्चालक विष्णु रिजालले बताए । भैसीको शुद्ध दूध पाइने भएकाले उपभोक्ताहरु फर्ममै आउने गरेको उनको भनाइ थियो । हाल दैनिक ८० लिटर दूध बिक्री भइरहेको छ । बोयर बोका बीउका लागि पालिएको बताए । एउटा बाख्रालाई क्रस गराएको ५ सय रुपैयाँ शुल्क फर्मले लिने गरेको छ । यसबाट पनि केही कमाइ हुने गरेको छ ।