दाङ, १३ चैत । घोराही उपमहानगरपालिकाले झण्डै चार वर्षको अवधिमा ५६.३९ किलोमिटर सडक कालोपत्र गरेको छ । जनप्रतिनिधि आएयता उपमहानगरपालिको उपहानगर क्षेत्रमा त्यो संख्यामा सडक कालोपत्रे गरेको जनाएको छ । २०७४ साल असारमा जनप्रतिनिधि निर्वाचित भएर आएका थिए ।
त्यसैगरेर उपमहानगरले ६७.३१ किलोमिटर ग्राभेलको काम गरेको छ । त्यसैगरेर ५६.९१ किलोमिटर नयाँ (ट्रयाक) खोलेको उपमहानगरले जनाएको छ । सडक नियमित मर्मतमा २६.३५ र सडक स्तरोन्नति ३०.८५ किलोमिटरको काम भएको छ । नगर प्रमुख नरुलाल चौधरीले नगरवासीकै आवश्यकता र मागका आधारमा विकास निर्माणको काम भइराखेको बताए । प्रत्येक वडाका सडकलाई व्यवस्थित र कालोपत्रे गर्ने काम भइराखेको छ’, नगर प्रमुख चौधरीले भने ।
उपमहानगरका अुनसार प्रत्येक वडामा कालोपत्रेले छोएको छ । वडाभित्रका सडकमा केही भागमा कालोपत्रे भइसकेको छ । आगामी दिनलाई थप गरेर उपमहानगर अघि बढ्ने योजना बनाएको छ’, नगर प्रमुख चौधरीले भने । घोराही उपमहानगरपालकाले बिहीवार सम्पन्न चालु आवको दोस्रो चौमासिक सुनुवाई कार्यक्रममा नगर प्रमुख चौधरीले यस्तो बताएका हुन् ।
जनताको चाहना र आवश्यकताअनुसार नै उपमहानगर विकास निर्माणमा अघि बढेको उनले बताए । जनताकै मागका आधारमा तय भएका कार्यक्रमहरु सरकारको नभई जनताकै भएको भन्दै अपनत्व ग्रहण गर्न आग्रहसमेत गरे । ‘सरकारले तय गर्ने कार्यक्रम र बजेटलाई आफ्नो सम्पत्ति ठानेर उपभोक्ताहरुले ग्रहण गर्नुपर्छ’, नगर प्रमुख चौधरीले भने– ‘त्यो भएमा विकास निर्माण गुणस्तरीय र प्रभावकारी हुन्छ ।’
घोराही उपमहानगरपालिकाको आयोजना तथा ग्रामीण महिला उत्थान केन्द्रको सहजीकरण गरेको कार्यक्रमका सहभागीले वडास्तरमा सम्पन्न गरिने कामको भुक्तानी वडास्तरबाटै लिने व्यवस्था मिलाउनुपर्ने, स्थानीयहरुको मागको आधारमा योजना विनियोजन गरिनुपर्ने, विकासको लागि बजेट वडालाई प्राथमिकता दिनुपर्ने, प्राविधिक विषय पढाई अध्ययनपछि स्वरोजगार बनाउने योजना ल्याउनुपर्ने, नगरभित्र निर्माण गरिएका पुल क्षेत्रमा सडक कच्ची भएकाले धुलो नियन्त्रण गर्ने नगरपालिकाले पहल थाल्नुपर्ने, सिमेन्ट उद्योगको प्रदूषण रोक्न लाग्नुपर्ने, फोहर व्यवस्थापनका लागि फोहर उठाउने गाडीको टोलसम्म पु¥याउनुपर्ने, विद्युत समस्या समाधान गर्नतर्फ ध्यान दिनुपर्ने, कृषि क्षेत्रको विकासका लागि प्रभावकारी योजना ल्याउनुपर्नेलगायतका विषयमा विशेष ध्यान दिन आग्रह गरेका थिए ।
कार्यक्रममा चालु आर्थिक वर्षको अहिलेसम्म चालुतर्फ ५६ करोड ९१ लाख ९४ हजार ८ सय ३ र पँुजीगततर्फ २२ करोड ६३ लाख ८ हजार ८ सय ५ गरी जम्मा ७९ करोड ५५ लाख ३ हजार ७ सय ४० हजार रुपैयाँमा खर्च भएको नगरले जनाएको छ । कार्यक्रममा सहभागीले उठाएका विषयका प्रश्नको जवाफ सम्बन्धित शाखाका प्रमुखहरुले दिएका थिए । कार्यक्रममा नागरिक प्रतिवेदन–पत्र ग्रामीण महिला उत्थान केन्द्रका रजनी श्रेष्ठले गरेकी थिइन् । कार्यक्रमको सहजीकरण नवीन चौधरीले गरेका थिए ।