कोरोना जोखिम बढ्दै सतकर्ता घट्दै

बालाराम खड्का

तुलससीपुर, १२ चैत । गत बर्षझै यस बर्ष पनि कोरोना संक्रमणको जोखिम बढदै गए पनि स्वाथ्य सतकर्ता भने कम देखिएको छ । कोरोना महामारीका कारण नेपालले गत वर्षको चैत ११ गतेदेखि कोरोना भाइरस नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन गराएको थियो ।

लकडाउनसँगै सामाजिक दूरी कायम संक्रमणबाट बच्न विभिन्न स्वास्थ्य सुरक्षा अपनाए पनि हाल भने सो देखिएको छैन । हाल भीडभाडमा बढ्दै गएको छ भने विभिन्न नाममा सभा सम्मेलन र गोष्ठीहरु पनि भइरहेका छन् । तर त्यसमा सहभागीहरु केहिले स्वास्थ्य सजता अपनाए पनि धेरै जसोले त्यसलाई अटेरी गर्ने गरेका छन् । यसअघि माक्स सेनिटाइजर, सावुन पानीले हात धुने गरे पनि हाल सार्वजनिक निकायहरु तथा अन्य क्षेत्रमा त्यसलाई अनिवार्य गराउने काम भने भएको छैन ।

यसअघि माक्स लगाउने सर्वसाधारणहरु पनि कोरोनाको खोप आइसकेको भन्दै अटेरी गरिरहेका छन् । यसले गर्दा थप जोखिम निम्तन सक्ने देखिएको छ । ‘अहिले सार्वजनिक स्थानमा भीडभाड बढदो छ, स्वास्थ्य सुरक्षा अपनाइएको छैन’, स्थानीय किरण वलीले भने । स्वास्थ्यकर्मीहरुले भने कोरोनाको संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गदै आएका छन् ।

आजकल धेरैजसोले सार्वजनिक यातायातमा वा सडकमा हिँड्दा मास्कको प्रयोग गर्न छाडिसकेका छन् । कोरोनालाई बेवास्ता गरे यसको दोस्रो लहर पहिलेको भन्दा बढी खतरनाक हुनसक्ने विज्ञहरुले चेतावनी दिँदै आएका छन् । लकडाउनको वर्ष दिन बित्न नपाउँदै नेपालमा कोरोनाको दोस्रो लहर सुरु हुने सम्भावना उच्च बनेको छ ।

दैनिक ५०÷५५ जनामा सीमित संक्रमित संक्रमण दर ह्वात्तै बढेर १ सय ८८ जनासम्म पुगेको छ । केही दिनअघिसम्म यो संख्या सयभन्दा कम थियो । केही दिनयता भारतका केही स्थानमा हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमित बढ्न थालेपछि नेपालमा पनि सतर्कता अपनाइएको छ । खासगरी भारतसँगको खुला सीमाना भएका कारण नेपालमा कोरोना संक्रमणको जोखिम उच्च बनेको हो ।

भारतसँगका केही सीमानाकाहरुमा कडाइँ गर्ने क्रम सुरु भएको छ भने केहीमा बेपरवाह आवागमन जारी छ । सीमानाकामा कडाइँ गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनिसकेको छ । सम्बन्धित क्षेत्रका स्थानीय प्रशासनहरुले पनि कडाइँ गर्ने बताइरहेका छन । स्वास्थ्य मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै सभा, सम्मेलन, धर्ना, जुलुस, जमघटजस्ता कार्य गर्न बन्द गर्नुपर्ने जनाएको छ ।

नागरिकहरु आफै सचेत बन्नुपर्ने मन्त्रालयले जनाएको छ । सबैले आ–आफ्नो ठाउँबाट सचेत र सर्तकता अपनाएर कोरोनालाई परास्त गर्न मन्त्रालयले आग्रह गरेको छ । यसैबीच कोरोना भाइरसको संक्रमण अझै बढ्न सक्ने भन्दै गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टाइन र आइसोलेसनहरू तयारी अवस्थामा राख्न परिपत्र गरेको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले सबै प्रशासन कार्यालयमा पत्र पठाएको जानकारी दिए । उनका अनुसार स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको भन्ने सूचना जारी गरेसँगै गृहले गत सोमबार परिपत्र गरेको हो । ‘स्वास्थ्य मन्त्रालयको विज्ञप्तिको आधारमा हामीले परिपत्र गरेका छौ । भारतमा कोरोना बढेपछि नेपालमा पनि बढ्न सक्ने सम्भावना छ ध्यान दिनू भन्ने कुरा आएपछि हामीले भीडभाड हुन नदिनु परिपत्र गरेका छौं,’ बुढाले सेतोपाटीसँग भने’, सञ्चार तथा विद्युतीय माध्यमबाट चेतनामूलक सन्देशहरू प्रशारण गर्नू भनेका छौं ।’

नाकाबाट प्रवेश गर्नेहरूको पनि विवरण संकलन गर्न भनिएको उनले बताए । त्यसैगरी, नेपाल प्रवेश गर्नुअघि स्वास्थ्य परीक्षण गराउन पनि भनिएको छ । नाकाबाट प्रवेश गर्नेहरुको पनि विवरण संकलन गर्न र नेपाल प्रवेश गर्नुअघि स्वास्थ्य परीक्षण गराउन पनि भनिएको उनले बताए ।