एमए प्रथम श्रेणीमा पास हुँदा …

आफ्नो शिक्षण पेशा होस् वा विभिन्न संघसंस्थामा आवद्ध र जिम्मेवारीबोधका साथ काम गर्ने हँसिला, मिजासिला स्वभावका छन्, तुलसीपुर–६ निवासी भुपबहादुर बुढाथोकी । सधैँ मुस्कुराइरहने खुशीका साथ कर्ममा तल्लिन बुढाथोकीका खुशीका क्षणहरु धेरै छन् । उनको मुहारमा सधैँ खुशीका भावहरु झल्केका हुन्छन् ।

उनको खुशी लेख्न म उनीकहाँ पुग्दा पनि उनी शिक्षाको ज्ञान बाँडिरहेका थिए । उनका खुशीहरु खोज्दै जाँदा बुढाथोकीले आफू सधैँ खुशी हुने बताए । ‘म सधैँ खुशी हुन्छु, जीवनमा दुःखसँगै खुशीका क्षणहरु पनि हुन्छन्’ उनले भने । राप्ती बबई क्याम्पसमा बिहानी सत्रको सहायक क्याम्पस प्रमुखको रुपमा रहेका बुढाथोकीले आफ्नो पहिलो खुशी एमए प्रथम श्रेणीमा पास गरी आफ्नो व्याचमा दोस्रो स्थान हासिल गरेको दिनलाई सम्झिए ।

तुलसीपुरको सेण्टर स्कूलबाट शिक्षा प्रारम्भ गरी महेन्द्र माविबाट २०५० सालमा एसएलसी. पास गरेका बुढाथोकीले कक्षा १ देखि डिग्रीसम्म शैक्षिक असफलता भोग्नु नपरेको सुनाए । विसं २०५८ सालमा राजनीति शास्त्रमा र २०७९ सालमा पाठ्यक्रम तथा मूल्याङ्कनमा गरी दुई विषयमा डिग्री प्राप्त गरेका बुढाथोकीले आफ्नो पहिलो खुशी एमए प्रथम श्रेणीमा पास हुँदालाई सम्झिए । ‘अन्य खुशीहरु पनि धेरै छन् तर पहिलो खुशी एमए प्रथम श्रेणीमा पास हुँदाको नै लेखिदिनु होला’–बुढाथोकीले भने ।

उनले त्यतिबेला आफू जीवनको लक्ष्य र शैक्षिक लक्ष्य प्राप्त गरेको भन्दै निकै खुशी भएको सुनाए । उनले त्यो खुशी काठमाडौंमा साथीभाइसँग साटेको सुनाए । त्यस्तै बुढाथोकीले अर्को खुशी विसं २०५७ सालमा स्पेश टाइम दैनिकमा लेख प्रकाशित भएपछि कर कट्टी गरी प्राप्त भएको पैसाले घडी किनेको भन्दै त्यतिबेला पनि निकै खुशी भएको सुनाए । उनले करिब ४ सय रुपैयाँ सो समयमा पाएको र काठमाडौंको रत्नपार्कमा घडी किनेर लगाउँदा निकै खुशी महशुस भएको सुनाए ।

‘त्यतिबेला चिमचिमे घडी लगाउँदा पनि ठूलो मान्छे हुन्छ भन्ने हुन्थ्यो, घडीको महत्व धेरै थियो’ उनले भने । उनले आफूले घडी किनेर लगाएपछि सबैले आफूले लगाएको घडीमा हेर्ने गरेको भन्दै निकै खुशीको अनुभूति भएको सुनाए । ‘आफैले कमाएको पैसाले त्यो बेला घडी किनेर लगाउँदा कस्तो महशुस भयो होला तपाई आफै अनुमान लगाउनुस्’–उनले भने । त्यस्तै बुढाथोकीले अर्को खुशी २०५९ सालमा आफूले पढेकै क्याम्पसमा प्राध्यापन गर्ने अवसर पाएको दिन अर्को खुशी मिलेको सुनाए ।

आफैलाई पढाएका गुरु शालिकराम रेग्मी क्याम्पस प्रमुख भएको बेला विसं २०५९ सालमा राप्ती बबई क्याम्पसमा सेवा प्रवेश गरँे, त्यो दिन पनि अर्को खुशी थपिएको थियो’–उनले भने । यस क्रममा दुई कार्यकाल प्राध्यापक संघ एकाईको उपसभापति भएको र हाल बिहानी सत्रको सहायक क्याम्पस प्रमुखको रुपमा रहेको भन्दै बुढाथोकीले क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाई र सार्वजनिक सूचना व्यवस्थापन एकाईको संयोजकको रुपमा काम गरिरहेको बताए । उनले सबैले आफूलाई विश्वास गरी जिम्मेवारी दिएको र जिम्मेवारी पूरा गर्न पाउँदा खुशी प्राप्त हुने बताए ।

बुढाथोकीले विसं २०६९ सालमा सेवा स्थायी भएपछि अर्को खुशी थपिएको सुनाए । त्यस्तै पाठ्यक्रम तथा मूल्याङ्कन विषयमा दोस्रो मास्टर्स डिग्री प्राप्त गरेको दिन पनि खुशी भएको सुनाए । माओवादी जनयुद्धले बन्द भएको रजौरा स्थित स्टार बोर्डिङ स्कूल पुनः सञ्चालनमा ल्याई प्रधानाध्यापकको रुपमा पनि कार्य गर्ने अवसर प्राप्त भएको उनले बताए । आफूले शिक्षा दिएका विद्यार्थीहरुले विभिन्न स्थानमा पुगेको भन्दै उनीहरुले विभिन्न समयमा सम्झँदा अर्को खुशी मिल्ने बताए ।

शिक्षासँगै विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील बुढाथोकी तुलसीपुर स्थित राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्थाका बोर्ड सदस्यमा ३ वर्ष र कोषाध्यक्षमा ६ वर्ष गरी ९ वर्ष सेवा गरेको भन्दै त्यतिबेला पनि सहकारीको अभियानमा धेरै काम गरेको सुनाए । आफूले सहकारीको सदस्य बनाएको व्यक्तिले तपाईंको कारण सहकारीबाट कारोबार गरी घरघडेरी जोडे भन्दा ज्यादै खुशी लाग्ने गरेको बताए । ‘मैले विभिन्न व्यक्तिहरुलाई सहकारीमा जोडेको थिएँ, उहाँहरुले हाल धेरै प्रगति गर्नुभएको छ, बेलाबेलामा सम्झनुहुन्छ खुशी लाग्छ’–बुढाथोकीले भने ।

तुलसीपुर–६ डुम्रीगाउँ स्थित नयाँ घर बनाएको र राप्ती विश्वासी सहकारीको कोषाध्यक्ष भएको वर्ष सबैभन्दा खुशीको वर्ष रहेको उनले सुनाए । सानोमा अञ्चल अस्पताल परिसर पश्चिमका आँप खोलाबाट ढंङ्गाले हानेर÷खसालेर खाएको, रजौरा स्थित कमलपोखरीमा राता कमलका फूलहरु टिपेको, हाल अटो भिलेज भएको पातुखोलामा माछा मारेको विगत सम्झँदा अहिले पनि खुशी लाग्ने र मन रोमाञ्चित हुने गरेको बताए । बुबाआमालगायत आफन्तको प्रेरणाले आफू यो स्थानमा आएको भन्दै सबैको साथ सहयोग पाएकोमा खुशी व्यक्त गरे । नयाँ–नयाँ पुस्तक पढ्ने, लेखन कार्य, कृषि कर्म, कामलाई सानो ठूलो नदेख्ने र श्रमको सम्मान गर्ने

बुढाथोकीले सामाजिक सेवामा लाग्न पाउँदा अर्को खुशी प्राप्त हुने बताउँछन् ।
तुलसीपुर–६ निवासी भूपबहादुर बुढाथोकी २०५२ सालमा तुलसीपुर ६ स्थित युवा मिलन क्लवबाट सामाजिक अभियान वा सेवाको सुरुवात गरी तुलसीपुर ६ स्थित सरस्वती सामुदायिक वनमा २०६२ देखि २०६६ सम्म कोषाध्यक्ष, राप्ती बबई क्याम्पस पूर्व विद्यार्थी समाजको संस्थापक अध्यक्ष, प्रजातन्त्रवादी प्राध्यापक संघको वरिष्ठ उपाध्यक्ष, प्रजातान्त्रिक लेखक संघको आजीवन सदस्य, स्थानीय जागरणलाई प्रबद्र्धन गर्नुपर्छ भन्ने मान्यताले नवजागरण टोल विकास संस्थाको सचिव र राप्ती बबई क्याम्पसमा बिहानी सत्रको सहायक क्याम्पस प्रमुखको रुपमा कार्यरत छन् ।