Goraksha

National Daily

रेडियोसँगै मोडलिङमा बढ्दै सागर

गोरक्ष समाचारदाता
दाङ, ५ चैत । ८ वर्ष पहिले घोराहीमा रहेको रेडियो मध्यपश्चिममा कार्यक्रम सञ्चालकका रुपमा प्रवेश गरेका दाङका सागर भण्डारीको क्रेज मोडलिङमा बढ्दै गएको छ । दाङबाटै मोडलिङको यात्रामा निरन्तरता दिइरहेका भण्डारीले छोटो समयमै सांगीतिक क्षेत्रमा सफलताको सौभाग्य प्राप्त गरेका छन् ।

लकडाउनका क्रममा टिकटकमा गरेको अभिनयहरुबाट प्रभावित भएर पहिलो पटक ‘तिम्रो घरको आँगनीमा…’ बोलको गीतबाट मोडलिङमा डेब्यु गरेका भण्डारीले अहिले मोडलिङमै व्यस्त छन् । पहिलो गीतको सफलताले उनलाई पछिल्लो समय मोडलिङका अफरहरु आउने गरेको बताए ।

‘रेडियोप्रतिको रहरले गर्दा ८ वर्ष पहिले दाङको एक रेडियोमा कार्यक्रम सञ्चालकका रुपमा प्रवेश गरेको थिएँ, अहिले पनि कार्यक्रम चलाउँदै आएको छु’– भण्डारीले भने–‘त्यसले पनि मलाई सांगीतिक क्षेत्रमा अघि बढ्न सपोर्ट गरिरहेको छ ।’ गीतसंगीतका क्षेत्रमा दिन प्रतिदन बढ्दै गएको क्रेजका कारण भण्डारी पछिल्लो समय व्यस्त बन्दै गएका छन् ।

‘राप्तीझैँ बग्यो माया’ बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेका भण्डारीले आधा दर्जन बढी गीतहरुमा स्वर दिनुका साथै अभिनय पनि गरेका छन् । गायनसँगै उनले आपूmलाई मोडलिङको क्षेत्रमा समेत उभ्याएका छन् । गायनबाटै संगीत क्षेत्रमा प्रवेश गरेका उनले ‘मोज गरौँ जवानीमा’लगायतका गीतहरुमा स्वर दिएका छन् । गीतबाट साथीभाइलगायतका विभिन्न क्षेत्रबाट राम्रै प्रतिक्रिया आएपछि संगीतिक क्षेत्रमा अघि बढ्न आफूलाई सहज भएको उनको भनाइ छ ।

‘गीत–संगीत रुचिको क्षेत्र भए पनि सुरुमा गाउँदा कस्तो होला भन्ने लागेको थियो’– उनले भने– ‘गीत गाएपछि राम्रै प्रतिक्रिया पाएँ, जसले मलाई सांगीतिक क्षेत्रमा अघि बढ्न हौसला मिलिरहेको छ ।’ लकडाउनका क्रममा ‘तिम्रो घरको आँगनीमा’ बोलको गीतबाट मोडलिङमा डेब्यु गरेका भण्डारीले पछिल्लो समय ‘गोरी–गोरी’, ‘शितको पानी’, ‘मलाई माया गर न’लगायतका लोक तथा आधुनिक गीतहरुमा मोडलिङ गरेका छन् । पछिल्लो पटक सार्वजनिक भएको भण्डारीको ‘मलाई माया गर न’ बोलको गीत चर्चामा रहेको छ ।

पपगायक कमल खत्री र मेलिना राईको स्वर रहेको उक्त गीतमा सागरलाई मोडलिङमा नायिका चुल्ठिम डोल्मा गुरुङले साथ दिएकी छिन् । सागर र चुल्ठिम यो गीतमा ‘फिट’ जोडीका रुपमा देखिएका छन् । अनिल सिमलीको शब्द र संगीत रहेको यो गीतको म्युजिक भिडियोको निर्देशन विशाल नेपालीले गरेका छन् । गायक समेत रहेका दाङ घोराहीका उनले गायनसँगै मोडलिङमा सक्रिय छन् । उनको चैत दोस्रो साता ‘मोयालु’ बोलको अर्को गीत सार्वजनिक हुँदैछ ।

देबेन्द्र बब्लु र सज्जा चौलागाईँको आवाजमा रहेको यो गीतमा सागर र गरिमा शर्माले अभिनय गरेका छन् । गीतको सुटिङ सकिइसकेको र चैत दोस्रो सातासम्म गीतको म्यूजिक भिडियो सार्वजनिक हुने गायक तथा मोडल सागरले जानकारी दिएका छन्