अमरराज आचार्य
दाङ, ४ चैत । करको दायरामा ल्याउन निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य गरेर अगाडि बढ्नु पर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा भएको व्यवसाय दर्ता, राजश्व संकलन तथा सचेतनासम्बन्धी छलफल कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । सहभागीहरुले अहिले पनि विना दर्ता व्यवसाय सञ्चालन भइरहेको भन्दै दर्ता प्रक्रियामा ल्याउनुपर्ने बताए । कार्यक्रममा वडा नं. १४ का वडाअध्यक्ष शक्तिराम डाँगीले आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा व्यवसायीहरु रहेको बताए । सबै व्यवासायीहरुलाई दर्ता गरेर सञ्चालन गर्नुपर्ने बताए । सबैलाई करको दायरामा ल्याउन सकेमा उपमहानगरपालिकाले लिएको लक्ष्य पूरा हुने र विकासमा समेत सहयोग पुग्ने उनले बताए । ‘स्थानीय सरकार सेवालाई छिटो–छरितो प्रदान गर्न लागि परेको छ’, उनले भने– ‘सबैले आ–आफ्नो स्थानबाट सुधार गरेर अगाडि बढ्न आवश्यक छ ।’
घरेलु तथा साना उद्योग कार्यालय दाङका निमित प्रमुख उमबहादुर वलीले ५ लाख सम्मको लगानीमा स्थापना हुने उद्योग तथा व्यवसायीहरु स्थानीय तहमा दर्ता गर्न सकिने बताए । प्रदेश सरकारले उद्योगी तथा व्यवसायीहरु सहजताका लागि यस प्रकारको नियम ल्याएको बताए । स्थानीय सरकारले नियमअनुसार रकम लिनुपर्ने उनले बताए । दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हेमराज बञ्जाडेले व्यवसायीहरुलाई सचेतना दिएर क्षमताको विकास गर्दै अगाडि बढ्नुपर्ने बताए । त्यसका लागि स्थानीय सरकार तथा उद्योग वाणिज्य संघबीच सहकार्य गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले व्यवसाय दर्ता प्रक्रिया सहज बनाउनुपर्ने बताए । उद्योग स्थापना गरी उत्पादन बृद्धिमा लाग्नुपर्ने भन्दै उनले त्यसका लागि राज्यले वातावरण सिर्जना गर्नुपर्ने बताए । घोराही उपमहानगरपालिका राजश्व व्यवस्थापन शाखाका प्रमुख कृष्ण केसीले घोराही उपमहानगरपालिका ऐनले गरेको व्यवस्था अनुसार अगाडि बढ्ने बताए । ऐन–नियमभन्दा बाहिर गएर काम गर्ने अधिकार कसैलाई नहुने उनको भनाइ छ । वडालाई धेरै अधिकार दिएको भन्दै नागरिकहरुले सेवा लिनुपर्ने बताए । घोराही उपमहानगरपालिका वडा नं. १६ का वडा सचिव प्रेम केसीले बजार व्यवस्थापन गर्ने उद्योग वाणिज्य संघ र उपमहानगरपालिका सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । ‘सहज सेवा प्रदान गर्नका लागि प्रविधिसँग जोड्न आवश्यक छ’, उनले भने । वडा नं ५ का वडासचिव लक्ष्मण अधिकारीले स्थानीयस्तरसम्म उत्प्रेरणा जगाउने कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए । वडा नं. १४ का वडासचिव ईश्वर पाण्डेले आफूहरु नागरिकलाई सहज सेवा प्रदान गर्न लागि परेको भन्दै त्यसमा सबैको सहयोग रहन आवश्यक भएको बताए । कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षतामा भएको थियो । संघका उद्योग उपाध्यक्ष अनिल आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।