मेरो खुशी : स्कुलमा चुनाव जितेर ‘मनिटर’ बन्दा…

दाड जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हुन्, नरेश कार्की । मध्यम घरपरिवारमा जन्मिएका कार्कीको ‘फ्याम्ली व्याकग्राउण्ड व्यावसायिक नभए पनि उनी भने एक कुशल व्यवसायी हुन् । उनको परिवारमा उनीबाटै व्यवसाय सुरुवात भएको हो ।

२०५९ सालमा पहिलो पटक किराना पसलबाट आफ्नो व्यवसाय सुरु गरेका कार्की अहिले ग्यास व्यवसायीसँगै कृषि तथा अटो व्यवसायीको रुपमा परिचित छन् । उनले जुन–जुन व्यवसायमा हात हाले ती व्यवसायबाट भने निराशा कहिल्यै भोग्नु परेन, सधैँ सफलता ।

किराना व्यवसाय सुरु गरेको एक वर्षमै किराना व्यवसाय छोडेर ग्यास व्यवसायमा हात हालेका कार्की घोराहीमा ग्यास व्यवसाय सुरु गर्ने चौथो व्यवसायीका रुपमा चिनिन्छन् । जुन व्यवसायले उनलाई आर्थिक रुपमा सक्षम मात्र बनाएन जिल्लामा व्यावसायिक नेताका रुपमा समेत स्थापित गर्ने महत्वपूर्ण भूमिका खेल्यो । जसका कारण आज उनी जिल्लामा समग्र व्यवसायीहरुको प्रतिनिधित्व गर्ने साझा संस्था उद्योग वाणिज्य संघको नेताका रुपमा चिनिन्छन् ।

गोरक्षको साप्ताहिक स्तम्भ ‘मेरो खुशी’मा उनै व्यवसायी नेता कार्कीका खुशीका क्षणहरुमध्ये पहिलो खुशी हो कक्षा २ मा पढ्दा चुनावका माध्यमबाट ‘मनिटर’ बन्दाको क्षण । ‘झट्ट सम्झँदा सानो भए पनि त्यो क्षण मेरो जीवनको महत्वपूर्ण क्षण थियो, त्यो समय अहिलेजस्तो चुनाव हुने अवस्था थिएन तर कक्षामा दुई जनाकाबीचमा को मनिटर बन्ने भन्ने टुङ्गो नलागेपछि हात उठाएर मनिटर चुनिएको थियो’–उनले भने–‘त्यसमा पनि त्यही स्कूलमा पढाउने शिक्षकको छोरालाई पन्छाएर ‘मनिटर’ बन्दाको क्षण मेरो जीवनको पहिलो खुशीको क्षण हो, जुन क्षण अहिले पनि सम्झँदा मन खुशी भएर आउँछ ।’

व्यावसायिक क्षेत्रमा राजनीति हाबी हुनु हुँदैन भन्ने मान्यता राख्ने कार्कीलाई घोराहीमा व्यावसायिक नेता बनुँला भन्ने लागेकै थिएन । तर परिस्थितिले उनलाई निरन्तर व्यावसायिक नेताका रुपमा ल्याइरह्यो । उनी सम्झन्छन् ‘२०६९ सालको कुरा हुनुपर्छ– दाङ जिल्ला उवासंघको साधारण सदस्य बन्नका लागि व्यवसाय अनिवार्य आन्तरिक राजश्व कार्यालयमा दर्ता गर्नुपर्ने विचार मैले रखेकै कारण मलाई संघको सभाहलबाट जिम्मेवार व्यक्तिले निकालिदिएका थिए ।’

त्यही घटना आफ्नो लागि व्यावसायिक नेतृत्वमा पुग्ने उर्जा भएको उनी बताउँछन् । ‘मलाई त्यसरी धक्का दिएर सभाहलबाट ननिकालेको भए आज म व्यावसायिक नेतृत्वका रुपमा अघि बढ्ने थिइन होला, त्यही घट्नाले मलाई निरन्तर संघमा अघि बढ्ने प्रेरणा दिइरह्यो, जसले गर्दा म २०७१ सालमा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा, त्यसपछि २०७४ मा महासचिव र अहिले वरिष्ठ उपाध्यक्षका रुपमा कार्यरत छु ।’

त्यही प्रेरणाले नेतृत्वमा पुग्ने मात्र काम गरेन पछि संघको महासचिवको रुपमा निर्वाचित भएपछि विधान संशोधनलगायतका काम गरेको उनी बताउँछन् । ‘त्यो संशोधनबाट संघको साधारण सदस्य बन्नका लागि व्यवसाय आन्तरिक राजश्वमा अनिवार्य दर्ता गर्नुपर्ने नीति पनि बन्यो’ कार्की भन्छन् ‘संघको विधान संशोधन मेरो जित थियो, त्यही जित मेरो अर्को खुशीको क्षण पनि ।’ जुन क्षण सम्झँदा आफू सधैँ खुशी हुने गरेको बताउँछन् ।

‘उद्योग वाणिज्य संघ व्यावसायिक व्यक्तिहरुको हुनुपर्छ भन्ने मेरो मान्यता हो, त्यसका लागि संघको सदस्य बन्न अनिवार्य रुपमा प्यान नम्बर हुनुपर्छ भन्ने मेरो अडान थियो । तर त्यो कतिपयलाई मन परेको थिएन’–उनले भने–‘जसका कारण लामो समयसम्म पनि त्यो विषय विधानमा राख्न सकिएको थिएन, तर संघको महासचिवको रुपमा निर्वाचित भएपछि त्यो विषयलाई पास गर्नुपर्छ भनेर अडान लिएपछि पास पनि भयो, त्यसैले पनि त्यो क्षण मेरो लागि खुशीको क्षण हो ।’

कार्कीको अर्काे खुशीको क्षण हो, एसएलसीमा पास गर्दाको । मध्यम विद्यार्थी रहेका कार्कीले पढाइभन्दा खेलकुदमा बढी ध्यान दिने गरेका थिए । तर धर्नामा रहेको माध्यमिक विद्यालयमा अध्ययन गर्ने भएकाले त्यहाँ खेलकुदका सामग्री पाइँदैनथियो । खेलकुदका सागम्री नपाइने भएपछि खेलकुदका बारेमा जान्ने झन कुरै भएन । तर स्कूलमा पढेको र शिक्षकहरुले कहिलेकाहीँ भए पनि खेल खेलाउँदा उनलाई रहर बढ्दै गएको थियो ।

तर स्कूलमा भलिबल खेल भने हुने गर्दथ्यो तर उनी भने पूmटबलप्रेमी थिए र खेल्थे पनि । त्यही कारणले उनी कतिपटक फुटबल खेल हेर्नकै लागि धर्ना स्कूलको पढाई छोडेर घोराहीको भरतपुर मैदानमा आउने गरेका थिए । जहाँ फुटबल खेल हुने गर्दथ्यो । फुटबल कसरी खेल्छन्, के गर्दा ‘फाउल’ हुन्छ भनेर खुब ध्यान दिएर हेर्ने गर्थे । त्यही कुराहरु उनले अध्ययनरत विद्यालयमा गएर अन्य सहपाठीहरुलाई सिकाउँथे ।

तर विभिन्न कारणले उनले खेललाई अघि बढाउन भने पाएनन् । कारण थियो एसएलसी नजिकिनु । २०५२ सालमा एसएलसी दिनुपर्ने भयो । कक्षामा ५६÷५७ जना विद्यार्थीहरु थिए । ती विद्यार्थीहरुमध्य कार्की कमजोर विद्यार्थीका रुपमा चिनिन्थे । त्यही कारणले गर्दा पनि होला उनलाई एलएलसी पास गर्ला भनेर कसैले पत्याउँदैनथे । हुन पनि एलएलसी पास गर्ने चानचुने कुरा थिएन ।

घरपरिवारसँगै विद्यालयमा गुरुहरुले पनि राम्रोसँग तयारी गर्नुपर्छ भनिरहेकाले आफूलाई जसरी भए पनि एलएलसी कटाउनुपर्छ है भन्ने मनमा लागेको बताउँछन् । त्यसपछि शिक्षककै घरमा गएर अध्ययन गर्न थाले । अन्य दिनभन्दा बढी ध्यान दिएर कक्षामा पढ्न थाले भने शिक्षक कैलाश थापाको सहयोगले उनीमा एसएलसी कटाउँछु भन्ने आँट आयो । घरमा पनि खाली समयमा पहिलेभन्दा बढी समय दिएर अध्ययन गर्न लागेको कुरा सुनाउँछन्, उनी ।

एलएलसीलाई आइरनगेटका रुपमा लिने भएकाले पनि कडा हुने गरेको थियो । त्यसमा पनि परिक्षाका लागि धर्नावाट हामी घोराही आउने पथ्र्यो । म पनि साथीहरुसँगै घोराही आएर सरस्वती माध्यमिक विद्यालय काठेकोहलबाट एलएलसी परीक्षा दिएको थिएँ । परीक्षा राम्रै भएको थियो । तर पनि एलएलसीमा पास हुन्छु भन्ने कमैलाई विश्वास थियो । रिजल्ट आयो तर त्यो बेला अहिले जस्तो हातमै रिजल्ट हेर्ने अवस्था थिएन ।

‘रिजल्ट आएको थाहा पाएपछि साइकल चढेर धर्नाबाट घोराही आएर पहिले राप्ती फिल्म हल रहेको स्थानमा भएको एउटा पुस्तक पसलमा गएर दश रुपैयाँ तिरेर गोरखापत्रमा रिजल्ट हेरेको थिएँ । जसमा म सेकेण्ड डिभिजनमा पास भएको रहेछु । त्यो क्षण मेरो जीवनको अर्काे खुशीको क्षण हो’–उनले भने–‘जुन क्षण मेराका लागि निकै महत्वपूर्ण थियो, त्यो व्याचमा कक्षाका करिब ५७ जना विद्यार्थीमध्ये तीन जनाले मात्र विद्यालयबाट एलएलसी पास गरेका थियौँ ।’

एसएलसी पास गरेपछि उच्च शिक्षा अध्ययनका लागि घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसम भर्ना भएका कार्कीले महेन्द्रमै व्यवस्थापन संकायमा स्नातकसम्म अध्ययन गरे । त्यही समयमा फुटबल समेत खेल्ने इच्छा पूरा गरे ।

फुटबलसँग जोडिएको अर्को खुशी पनि छ उनीसँग । महेन्द्र क्याम्समा अध्ययन गर्दा तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा अध्ययनरत विद्यार्थीको टिमसँग उनको टिम फुटबल खेलेको थियो । ‘गोल अन्तर संख्या त भुलेँ तर त्यो गेम महेन्द्र बहुमुखी क्याम्पसको टिमले जितेको थियो’ उनी भन्छन् – ‘त्यो जित मेरो फुटबलसँग जोडिएको महत्वपूर्ण खुशीको क्षण हो ।’

घोराही उपमहानगरपालिका–५ धर्नामा बुबा कमलसिंह कार्की र आमा निर्मला कार्कीको कान्छो छोराका रुपपमा जन्मिएका नरेश अहिले घोराही उपमहानगरपालिका–१४ जलजला टोल बस्दै आएका छन् । २०६२ सालमा पुष्पा बस्नेतसँग वैवाहिक जीवनमा बाधिएका कार्कीका नेमिसस र गुञ्जन दुई छोरीहरु छन् । दाङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष रहेका उनी उवासंघमा कार्यसमिति सदस्य र महासचिव पदमा रहेर काम गरिरहेका छन् ।

उनी दाङ देउखुरी ग्यास विक्रेता संघका संस्थापक अध्यक्ष, ग्यास विक्रेता महासंघ नेपालका पूर्व केन्द्रीय सदस्य, सुरक्षा पशुपंक्षी प्रबद्र्धन सहकारी संस्थाका पूर्व अध्यक्ष, नेपाली कांगे्रसका क्रियाशील सदस्यलगायत विभिन्न संघसंस्थामा आबद्ध छन् ।

                                                                                                  प्रस्तुती : लिलाधर वली