राजनीतिले खोजेको उत्तराधिकारी र इमानदारी

नारायणप्रसाद श्रेष्ठ

मनुष्यमा अन्तरनिहित दिव्यताको बोध गरी सामाजिक, आर्थिक र सांस्कृतिक एवं राजनीतिक परिवर्तनलाई आत्मसात गर्दै यथार्थपरका राजनीतिक संस्कार यो युगको माग हो । राष्ट्रिय विकासको पूर्वाधारदेखि समृद्ध नेपालको सपना साकार गर्न दया र मायामा होइन, तथा आफ्नो र विरानो पक्षमा होइन व्यवहारबाट प्रमाणित हुनुपर्छ भन्ने मूल्य र मान्यतालाई शिरोधार्य गरी आदर्श समाज समुन्नत राष्ट्र राजनीतिक धर्म हो ।

यसै मान्यताभित्र राजनीतिक इमानदारी पटाक्ष हुनु वर्तमानको आवश्यकता हो । राजनीतिक नेतृत्वकर्ताले वातावरणमा शुद्धता ल्याई समाज र राष्ट्रिय राजनीतिमा देखिएको विकृति र विसंगतिलाई चिर्दै असल संस्कार, परम्परा र रीति कायम गर्नु गराउनु मुख्य दायित्व हो । राजनीतिक चरित्रले देखाउनुपर्ने असल आचरण र संस्कार पनि हो ।

यसैलाई राजनीतिक इमानदारी र नैतिकता पनि भनिन्छ । यही तथ्यपरक राजनीतिक संस्कार राष्ट्रिय विकासको मूलमन्त्र पनि हो । यति मात्र होइन राष्ट्रलाई कुन दिशातर्फ उन्मुख गराउने ? प्रत्येक नागरिकको अभिमतलाई राष्ट्रिय चिन्तनको विषय कसरी बनाउने यो राजनीतिक व्यक्तित्वको सोचाईमा हुनुपर्ने जिम्मेवारी पनि हो । राष्ट्र र राष्ट्रियतालाई अछुन्न राख्दै प्रजातान्त्रिक संस्कारको साथै नेपालको ऐतिहासिक अभिलेखन, बहादुरीपन तथा स्वाभिमानी नेपालीको दृढता र सहनशीलता विश्व सामू चिनारी गराउनु नेतृत्वको अर्को जिम्मेवारी हो ।

नेपालीको शान्तिको चाहनाप्रतिको दृढता र गौरवमय इतिहास कायम गराउनु राजनीतिज्ञको शुद्ध आचरण पनि हो । साथै अन्योलग्रस्त राजनीतिक चिन्तनलाई हटाई स्वच्छ र पवित्र विचार प्रवाह गराउने (२१औँ शताब्दीको अपेक्षा) पनि राजनीतिक इमानदारी हो । तर यस कुरालाई चटक्कै बिर्सि अहिले नेपाली राजनीतिक आवरण निकै अन्योलग्रस्त र भ्रमपूर्ण अवस्थाबाट गुज्रिएको छ । स्वार्थभित्र लुकेको महत्वाकांक्षी सोच र पद, प्रतिष्ठाबिना बाँच्न नसक्ने चिन्तनले राजनीतिक परिदृश्य निकै तरल ढङ्गले अगाडि बढेको छ । भन्ने एउटा गर्ने अर्को भई राजनीतिक परिदृश्य धमिलो देखिनु जनतामा राजनीतिक वितृष्णा बढाउने महत्वपूर्ण कारण हो ।

राजनीतिमा जनताको विश्वास कमजोर हुँदै छ । सामन्ती र एकाधिकारवादी तथा नातागोतावाद चिन्तनले जकडिएको राजनीतिक दृश्य, अहम्वादी सोच, मैले जे गरे त्यो मात्र उचित छ, यही नै हुनुपर्छ भन्ने व्यक्तिको अभिष्ट पूरा गर्ने लक्ष्यतर्फ अहिलेको राजनीतिक केन्द्रित हुँदै गइरहेको देखिन्छ । यदि यस्तै अवस्था विकसित हुँदै जाने हो भने भावी उत्तराधिकारी कस्तो हुने हो ? गम्भीर चिन्ताको विषय बनेको छ । सञ्चार क्षेत्रको विकासले साँघुरिएको विश्वमानचित्रले क्षण–क्षणको घटना सार्वजनिक भई विचारमा भिन्नता देखापर्नु कुनै नौलो विषय नहुन सक्छ ।

यस अवस्थामा राम्रा, नराम्रा दुवै विचार नआउनु कुनै गलत कार्य पनि होइन । तर विडम्बना मान्नु पर्छ यति हुँदाहुँदै पनि अहंकार र स्वार्थले परिपोषित चिन्तनभित्र नेतृत्व लागिपर्नु राम्रो पक्ष मान्न सकिँदैन । अहिले आफूलाई उच्च कहलाउनेले धर्तीको एक मुठी माटो समाई राष्ट्रियताप्रति चिन्तन गर्नु आवश्यकता रहेको छ । बूढी मरी काल पल्कियोलाई बेवास्ता गरी अघि बढ्न खोजे यसले परिणाम कस्तो देला ? हिजोको अवस्था र इतिहासलाई हेरी वर्तमान र भविष्यको चिन्तन गर्नु यो बुद्धिमानी होइन ? त्यसैले समय र परिस्थितिको मूल्यांकन गरी राष्ट्रिय स्वाधीनताको लागि देशले सक्षम राजनीतिक गोरेटो समाउन जरुरी छ ।

नेपाल र नेपालीको सकारात्मक भावनाको प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा समर्पित नेताले प्रजातान्त्रिक सोच र चिन्तन गर्नु तथा परेको अप्ठेरो–सप्ठेरो समस्याको मूल्यांकन गरी नैतिकतामा आधारित राजनीतिक चिन्तन गर्नु नेताको परम कर्तव्य हो । यही कर्तव्य पूरा गर्नाले राष्ट्रको समृद्धि सम्भव रहेको हुन्छ । यसैबाट राजनीतिमा सकारात्मकता आई राजनैतिक दिशा सही र स्पष्ट हुन सक्छ । यही उद्देश्य राखी आफूलाई समर्पित गर्नु नेतृत्वको उद्देश्य पनि हो ।

तसर्थ, आफूले आफैलाई र आफ्नो मर्यादात, दयित्व तथा कर्मलाई स्वीकार गरी राजनीतिक महानता प्रदर्शन गर्नु परेको छ । वीपीले त्यसबेलाको अवस्थालाई मूल्यांकन गरी राजा र मेरो घाँटी जोडिएको छ भनेर त्यसै भनेका थिएनन् । त्यसभित्र गहिरो राजनीतिक उद्देश्य लुकेको थियो । मदन भण्डारीको दूरदर्शी चिन्तन, गणेशमानको त्याग, जुन सत्य वर्तमान समयसम्म त्यत्तिकै आवश्यक रहेको अवस्था छ । त्यसैले राष्ट्रिय राजनीतिमा मेरो भूमिका के हो ? देशले कुन किसिमको राजनीतिक संस्कार खोजेको छ ? यो विषयप्रति नेताको ध्यान केन्द्रित हुन जरुरी छ ।

तसर्थ, मानवीय मूल्य, मान्यताले शिरोधार्य गरेको इमानदारीभित्र लुकेको राजनीतिक चरित्र, त्याग र समर्पणमा आधारित विचारको शुद्धता वर्तमानको आवश्यकता हुनुपरेको छ । सगुनसाकार आचरण र नैतिकतामा आधारित प्रजातान्त्रिक संस्कार राजनीतिक मूल्य र मान्यता भएकोले यसलाई दिगो राखी आफूलाई प्रदर्शन गर्नु परेको छ । समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्न नैतिकतामा आधारित कर्मबाट नेताहरु प्रष्टिनु जरुरी छ ।

नेपालको राजनीतिक पृठभूमिलाई हेर्ने हो भने यहाँ राम्रा नराम्रा दुवै भएर गणतान्त्रिक प्रजातान्त्रिक अभ्यास यो अवस्थासम्म आइपुगेको छ । रिस र आवेश तथा स्वार्थपरक चिन्तनको आरोह अवरोह यसले मजासँग अनुभूति गरेको छ । तसर्थ, कुनै पनि कुराको निक्र्यौल गर्नुपूर्व राजनीतिक अराजकता नबढोस् यो चरित्र प्रदर्शन हुनु निकै जरुरी मानिएको छ । स्वार्थपरक चिन्तनले ल्याउने भीडतन्त्र राजनीतिक विषय नहोस्, त्यसतर्फ सावधानी अपनाउनु पर्छ ।

अहिले नेपालको राजनीतिक अवस्था निकै तरंगिएको स्थितिमा छ । संविधानको निर्माणपछि स्वतन्त्र निर्वाचन प्रक्रियाबाट एकमना सरकार पनि बन्यो । अब त देशमा शान्ति, अमन, चयन भई राष्ट्रमा नयाँ जागरण आउने सबैमा विश्वास र भरोषा थियो तर त्यसो हुन सकिरहेको छैन । झन राजनीतिक नेतृत्व शक्तिबीच तनाव र फाटोको अवस्था बढ्न गई एकले अर्कालाई शक्तिहीन बनाउने कार्यमा दुवै पक्ष लागिपरेको अवस्था छ ।

कुन कुरालाई लिएर विरोध र समर्थन गराउन सकिन्छ त्यतातिर नेतृत्वको ध्यान केन्द्रित भइरहेको छ । निर्वाचन अगाडि जनतालाई सर्वोच्च ठान्ने नेताहरु अब जनता केही होइनन्, यी त हाम्रा सिपाही हुन् भन्ने जस्तो गरी आफूलाई प्रदर्शन गरिरहेको अवस्था छ । स्वार्थ पूरा गर्ने नाममा पदप्रतिष्ठा प्राप्त मात्र सबैको उद्देश्य हो भन्ने गरी व्यक्ति, पार्टी लागिपरेको अवस्था देखिन्छ । कतिपयले आफ्नो आङमा भैँसी नदेख्नेले अरुको आङ जुम्रा देख्ने प्रवृत्ति पनि देखापरेको छ ।

आफूले हिजो के के गरे त्यो कुराको ख्याल नगरी उसले यस्तो गर्न पाउने होइन, यो जनपेक्षाविपरित कार्य हो भनी कुर्लने राजनीतिक संस्कार पनि निकै सल्बलाएको छ । आफूले गरेको सबै ठिक अरुले गरेको सबै बेठीक भनी नानाथरिका चरित्र अहिले देखापरेको छ । म जस्तो कोही छैन, म नभए त देशै वर्वाद हुन्छ भनी दम्भ गरेको छ भने अर्को पक्ष उसले मात्र होइन मैले पनि पाउनुपर्छ भनी राजनीतिक छिड्की हान्ने कार्य भइरहेको अवस्था छ । आफूलाई पर्दा जनता गुहार्ने संस्कृति पनि अहिले मौलाउँदै छ ।

देश र जनताको लागि भन्दा व्यक्तिवादी चरित्रभित्र राजनीति दौडिरहेको छ । राजनीति केवल सत्ता र भत्ता प्राप्तितिर लक्षित भई अगाडि बढिरहेको छ । राजनीतिक हस्तीहरुको घमण्ड र अहंकारले राजनीतिक धरातल पराईको गोटी चाल बन्दै गरेको अवस्था छ । धर्म र संस्कृति मेटाई राज्यलाई अरुको कठपुतली बनाउनेतर्फ पनि नेता लालायित भइरहको अवस्था देखिँदै छ । यति मात्र होइन कहिल्यै पनि अरुको दास नबनेको नेपालको गौरवमय इतिहासमा दाग लगाउने कार्य पनि अहिले हुने सम्भावना देखिएको छ ।

तसर्थ, नीतिबिनाको गति र नैतिकताबिनाको राजनीति प्रजातन्त्रलाई सुहाउने विषय नभएकोले हिजो के भयो ? त्यो कुरालाई बिर्सि वर्तमानले के खोजेको छ ? नयाँ पुस्तामा कस्तो आचरण आवश्यक छ ? हाम्रो राजनीतिक उत्तराधिकारी कति सक्षम र उच्च मनोबलको आदर्श चिन्तक बन्न सक्छ ? त्यस कुराको ख्याल गरी वर्तमानलाई सोचौँ । राष्ट्र रहे हामी रहन्छौँ, हाम्रो इमान्दारी नै हाम्रो पहिचान हो । यो कुरालाई मनन् गरौँ । यो वर्तमानको आवश्यकता हो, चेतना भयो ।