उपाधिका लागि डल्फिन र रुकुम पश्चिम भिड्दै

लक्ष्मण बस्नेत

दाङ, १९ फागुन । डल्फिन फिड कैलाली र रुकुम पश्चिम जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशिको खुला भलिबल प्रतियोगिता–२०७७ को फाइनलमा भिड्ने भएका छन् । नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा मंगलवार भएको पहिलो खेलमा सेमिफाइनल खेलमा पि.वाई.सी. रुकुमलाई हराउँदै डल्फिन फिड कैलालीले फाइनल यात्रा तय गरेको हो ।

त्यस्तै दोस्रो सेमिफाइनल खेलमा हिरा डाँगी फाउन्डेसन तुलसीपुरलाई हराउँदै पश्चिम रुकुमले फाइनलमा डल्फिन फिड कैलालीसँग उपाधिका लागि भिडन्त पक्का गरेको हो । उपाधि होडमा रहेका दुबै टिममा राष्ट्रिय खेलाडीको वर्चस्व रहेकाले फाइनल खेल कडा प्रतिस्पर्धा र रोमाञ्चक हुने अनुमान गरिएको छ । फाइनल खेल दिउँसो २ बजे हुने प्रतियोगिता मूल समितिका संयोजक एवं नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्रबहादुर चन्दले जानकारी दिएका छन् ।

त्यस्तै तृतीय स्थानका लागि बुधबार बिहान ८ बजे हिरा डाँगी फाउन्डेसन तुलसीपुर र पिवाईसी रुकुम भिड्नेछन् । स्थानीयस्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता, उपविजेता, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टिमले क्रमशः नगद १ लाख, ५० हजार, २५ हजार र १५ हजारसहित कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् ।